१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ४ बुधबार
  • Saturday, 29 June, 2024
भवानीश्वर गौतम काठमाडाैं
२o७८ फाल्गुण ४ बुधबार o६:२o:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

त्रिविका ३६ क्याम्पसमा  १३ वर्षदेखि भएन स्ववियु चुनाव

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ४ बुधबार o६:२o:oo

आधिकारिक स्ववियुका प्रतिनिधि नहुँदा क्याम्पसहरू विद्यार्थी संगठन र तिनका गुट झेल्दै

हरेक दुई वर्षमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्ने व्यवस्था भए पनि त्रिभुवन विश्वविद्यालयका ३६ आंगिक क्याम्पसमा १३ वर्षदेखि हुन सकेको छैन । उपत्यकाका १३ र उपत्यकाबाहिरका २३ क्याम्पसमा ०६५ यता स्ववियु चुनाव नभएको हो । 

०६५ मा त्रिविका देशभरका सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा चुनाव भएको थियो । त्यसको आठ वर्षपछि ०७३ मा उपत्यकाका नौसहित देशभरका २६ क्याम्पसमा मात्रै चुनाव भयो, तर ठूला क्याम्पसहरूमा चुनाव भएन । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार त्यतिवेला उपत्यकाका १३ र उपत्यकाबाहिरका २३ क्याम्पसमा स्ववियु चुनाव हुन नसकेको हो । 

आधिकारिक स्ववियुका प्रतिनिधि नहुँदा शैक्षिक मुद्दामा क्याम्पसहरू दलनिकट संगठन र तिनका गुट झेल्न बाध्य छन् । त्यस्तै, विद्यार्थीका कतिपय गम्भीर मुद्दा पनि ओझेलमा परेका छन् । त्रिविको नियमअनुसार क्याम्पस व्यवस्थापन समितिलगायतमा स्ववियुको प्रतिनिधित्व रहने व्यवस्था छ । विद्यार्थीको गुनासो सुन्ने, समस्या समाधानका लागि पहल गर्ने आधिकारिक संगठन स्ववियु नभएपछि राजनीतिक दलनिकटका संगठन हाबी भएका हुन् । क्याम्पसहरूले विद्यार्थीको प्रतिनिधित्व हुने एउटा आधिकारिक संस्थासँग समन्वय गरे हुनेमा अहिले दलनिकटका संगठन र तिनका गुटसम्मको प्रभावले असर गरिरहेको विभिन्न क्याम्पसका प्रमुख तथा विभागीय प्रमुखहरूको गुनासो छ । 

पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापा स्ववियु चुनाव नहुँदा विद्यार्थीको आवाज संकुचन भएको र क्याम्पस प्रशासनलाई काम गर्नसमेत कठिनाइ भएको बताउँछन् । ‘विद्यार्थीको आधिकारिक प्रतिनिधित्व स्ववियुमार्फत नहुँदा दलनिकटका थरीथरी विचार आउँछन्, विचार नमिल्दा दीर्घकालीन महŒवका कार्यक्रममा असर पर्छ,’ थापाले भने, ‘विद्यार्थीको आवाज संकुचन मात्र भएको छैन, क्याम्पसको गतिशीलतामा असर परेको छ ।’ 

देशभरका क्याम्पसहरूको अवस्था यस्तै छ । तर, यो वर्ष पनि चुनाव नहुने निश्चितप्रायः छ । उपत्यकाभित्र शैक्षिक क्यालेन्डरलाई असर नपर्ने गरी स्ववियु चुनावका लागि फागुन–चैत उपयुक्त हुने भए पनि तयारी छैन । त्यसमाथि ३० वैशाखमा स्थानीय तहको चुनाव घोषणा भइसकेको छ । 

विद्यार्थी संगठनका नेताहरू भने त्रिविका पदाधिकारीको क्षमता नभएका कारण स्ववियु चुनाव हुन नसकेको आरोप लगाउँछन् । अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने त्रिवि र विद्यार्थी संगठनले कुनै पनि बहाना नगरी स्ववियु चुनाव गर्नुपर्ने बताउँछन् । ‘परिणाम कस्तो आउँछ भन्ने नहेरी चैत मसान्तभित्र चुनाव गर्ने गरी सबै लाग्नुपर्छ, अहिले विद्यार्थी राजनीति धरापमा छ,’ उनले भने, ‘अहिले राजनीतिमा भएको दलाल, तस्कर, माफिया, व्यापारीको हालीमुहाली अन्त्य गर्न पनि स्ववियु चुनाव चाहिन्छ, त्यहाँबाट नेता जन्मन्छन् ।’ 

नेविसंघ महामन्त्री बलदेव तिमल्सिना पनि त्रिविका पदाधिकारीलाई नै दोष दिन्छन् । ‘त्रिविका पदाधिकारीले अरूले के भन्छन् त्यो गर्ने होइन, प्रतिबद्ध भएर चुनाव गर्नुपर्छ,’ उनले भने । 

०७३ को चुनावदेखि लागेको २८ वर्षे उमेरहदका कारण कतिपय विद्यार्थी नेता नै चुनावको पक्षमा देखिँदैनन् । स्ववियुमै उम्मेदवार बन्न लामो समयदेखि विद्यार्थी राजनीतिमा लागेकाहरू अवसरबाट वञ्चित हुने भएपछि विपक्षमा देखिन्छन् । संगठनका केन्द्रीय नेताले सहमति गरे पनि क्याम्पसमा राजनीति गरेको त्यस्ता विद्यार्थी चुनावको विपक्षमा उभिने गरेका छन् । त्रिविका आंगिक, सामुदायिक र केही निजीमा समेत गरी करिब पाँच सय क्याम्पसमा स्ववियु चुनाव हुने गरेको छ । 

०६५ यता स्ववियु चुनाव नभएका त्रिविका आंगिक क्याम्पस

उपत्यकाभित्र

  • त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुर
  • नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग
  • पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार
  • शंकरदेव क्याम्पस, पुतलीसडक
  • त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघर
  • विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग
  • पाटन संयुक्त क्याम्पस, पाटनढोका
  • ललितकला क्याम्पस, कीर्तिपुर
  • महेन्द्ररत्न क्याम्पस, ताहाचल
  • सरस्वती बहुमुखी क्याम्पस, लेखनाथमार्ग
  • अमृत साइन्स क्याम्पस, लैनचौर
  • नेपाल कमर्स क्याम्पस, नयाँ बानेश्वर
  • पब्लिक युथ क्याम्पस, धोबीचौर

उपत्यकाबाहिर

  • रारा बहुमुखी क्याम्पस, जनकपुरधाम
  • ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्ज
  • कृषि क्याम्पस, खैरेनी
  • चितवन इन्जिनियरिङ क्याम्पस, भरतपुर
  • वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर
  • महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम
  • महेन्द्र–मोरङ बहुमुखी क्याम्पस, विराटनगर
  • नर्सिङ क्याम्पस, विराटनगर
  • धनकुटा बहुमुखी क्याम्पस, धनकुटा
  • तेह्रथुम क्याम्पस, आठराई
  • महेन्द्र–विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज
  • सु.स.मौ.या. बहुमुखी क्याम्पस, सिराहा
  • स्नातकोत्तर क्याम्पस, विराटनगर
  • महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज
  • शिक्षाशास्त्र क्याम्पस, सुर्खेत
  • महेन्द्र बहुमुखी क्याम्पस, दाङ
  • जुम्ला शिक्षा क्याम्पस, जुम्ला
  • गोरखा क्याम्पस, गोरखा
  • पृथ्वीनारायण बहुमुखी क्याम्पस, पोखरा
  • बुटवल बहुमुखी क्याम्पस, बुटवल
  • भैरहवा बहुमुखी क्याम्पस, भैरहवा
  • त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा
  • सिद्धनाथ बहुमुखी क्याम्पस, महेन्द्रनगर

ग्रिन सिग्नल पाए स्ववियु चुनाव गर्छौँ : पशुपति अधिकारी प्रमुख, विद्यार्थी कल्याण निर्देशनालय
त्रिभुवन विश्वविद्यालय स्ववियु चुनाव गर्ने पक्षमा छ । तर, त्रिविका पदाधिकारीको प्रयासले मात्र चुनाव हुँदैन । सबै पक्षको सहयोग चाहिन्छ । विश्वविद्यालयका कुलपति प्रधानमन्त्री, सहकुलपति तथा गृहमन्त्रीको ग्रिन सिग्नल आएमा चुनाव गर्छौँ । हामी सम्बन्धित पक्षहरूसँग छलफलमा छौँ । विद्यार्थीसँग पनि छलफलमा छौँ । चुनावको पक्षमा सबै सहमत छन् । फागुनमा परीक्षा तालिका सार्वजनिक भएका छन् । त्यसैले अब चुनावका लागि २० देखि २५ चैतसम्मको समय उपयुक्त देखिन्छ । 

०७६ मा मा घोषणा भयो, चुनाव भएन
त्रिभुवन विश्वविद्यालयले १४ फागुन ०७६ का लागि स्ववियु चुनाव घोषणा गरेको थियो । तर, विद्यार्थीकै आग्रहमा चुनाव गर्न त्रिवि सहमत भए पनि ठूला विद्यार्थी संगठन एकमत नहुँदा असम्भव भएको थियो । त्यतिवेला त्रिविका आंगिक तथा सामुदायिक क्याम्पसमा चुनाव गराउन क्याम्पस प्रमुखहरू पनि तयार भएका थिए । त्यसअघि ०७५ मा पनि स्ववियु चुनावको प्रयास भएकोमा सफल हुन सकेको थिएन । 

आरसी लामिछाने : वरिष्ठ उपाध्यक्ष, अनेरास्ववियु
परिणाम कस्तो आउँछ भन्ने नहेरी चैत मसान्तभित्र चुनाव गर्ने गरी सबै लाग्नुपर्छ, अहिले विद्यार्थी राजनीति धरापमा छ ।

अहिले राजनीतिमा भएको दलाल, तस्कर, माफिया, व्यापारीको हालीमुहाली अन्त्य गर्न पनि स्ववियु चुनाव चाहिन्छ, त्यहाँबाट नेता जन्मन्छन् ।

बलदेव तिमल्सिना, महामन्त्री, नेवीसंघ

त्रिविका पदाधिकारीले अरूले के भन्छन् त्यो गर्ने होइन, प्रतिबद्ध भएर चुनाव गर्नुपर्छ ।

ad
ad
ad
ad