अर्थमन्त्री जनार्दन शर्माले एमसिसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेको बताएका छन् । बिहीबार अर्थ मन्त्रालयमा आयोजित चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एमसिसी परियोजनाको सम्बन्धमा राजनीतिक दलहरूका बीचमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताएका हुन् ।
‘एमसिसीको कुरा एउटा परियोजनाको हिसाबले ऊर्जा क्षेत्रमा, सडक क्षेत्रमा कार्यान्वयन गर्ने भन्ने यहाँहरूलाई थाहा छँदै छ । तर, यो मुद्दा अलि राजनीतिकृत भएर राजनीतिक पार्टीहरूको बीचमा छलफल भइराखेको छ,’ अर्थमन्त्री शर्माले भने, ‘एउटा निष्कर्षतिर लैजानुपर्छ भनेर राजनीतिक पार्टीहरूको बीचमा, दलहरूको बीचमा राष्ट्रिय सहमति निर्माण गर्नेतर्फ नै अगाडि बढिरहेको भएको हुनाले सरकारले गरिरहेको प्रयास, प्रधानमन्त्रीज्यूले गरिरहेको प्रयास नै त्यतातिर गइरहेको हुनाले त्यो प्रयासबाट एउटा निष्कर्ष निस्किन्छ भन्ने एउटा विश्वासमा म छु ।’