१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २७ बिहीबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २७ बिहीबार o७:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

देउवा, प्रचण्ड र नेपालबीच छुट्टाछुट्टै छलफल, एमसिसीमा आ–आफ्ना अडान कायमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २७ बिहीबार o७:५६:oo

संसद् बैठक २ फागुनसम्म स्थगित भएसँगै सत्तागठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले एमसिसी अगाडि बढाउन साझा उपायबारे छलफल गरेका छन् । तर, बुधबार साँझसम्म गठबन्धनमा रहेका दलहरूबीच एमसिसी अगाडि बढाउने विषयमा साझा धारणा बनिसकेको छैन, बरु दबाबमूलक राजनीति अगाडि बढाउन थालेका छन् । बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच खुमलटारमा भेटवार्ता भएको थियो । अपराह्न प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । माओवादी नेता नारायणकाजी श्रेष्ठले पछिल्ला भेटहरू एमसिसी र स्थानीय तहको निर्वाचनलगायतको विषयमा केन्द्रित रहेको र एमसिसीमा ठोस प्रगति केही नभएको बताए । 

प्रचण्डनिवास खुमलटारमै पुगेर भेट गरेका नेपालले उनीसँग एमसिसी पारित गराउन प्रधानमन्त्री देउवाले गरिरहेको पछिल्लो प्रयास, स्थानीय तहको निर्वाचनलगायतका विषयमा केन्द्रित रहेर छलफल गरेको उनीनिकट स्रोतले जनाएको छ । प्रचण्डसँगको भेटपछि एकीकृत समाजवादीले भ्रातृ संगठनहरूलाई एमसिसीको विरोधमा सडक प्रदर्शन गराउने निर्णय गरेको थियो । अमेरिकालाई एमसिसी पारित गर्ने प्रचण्डले प्रधानमन्त्री देउवासँग मिलेर प्रतिबद्धतापत्र पठाए पनि उनले परिमार्जनविना पारित नगर्ने नीति कायमै राखेका छन् । एमसिसी जतिसक्दो चाँडो संसद्मा पेस गर्न प्रधानमन्त्रीले गठबन्धनमा रहेका अन्य दलहरूमाथि लगातार दबाब बनाएका छन् । 

परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने पार्टीको नीति हो, तर अहिले यथास्थितिमै पनि पास गर्ने प्रयास भइरहेकाले पनि जनसंगठनहरूले ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गर्नेछन् ।

 बेदुराम भुसाल महासचिव, एकीकृत समाजवादी

 एकीकृत समाजवादी एमसिसीविरुद्ध सडकमा 
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकन सहयोग परियोजना (एमसिसी)लाई संसद्बाट पारित गर्न चौतर्फी पहल अगाडि बढाइरहेका वेला सरकारमै रहेको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादी भने विरोधमा सडकमा ओर्लिने भएको छ । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा सुरुदेखि नै एमसिसीको विरोधमा सडक–संघर्षमा छ । एकीकृत समाजवादीले बुधबार जनवर्गीय संगठनहरूको बैठक राखेर एमसिसी नेपालको हितविरुद्ध रहेको ब्रिफिङ गर्दै देशैभर विरोध प्रदर्शन गर्न निर्देशन दिएको छ । उपमहासचिव तथा मोर्चा संगठन प्रमुख डा. विजय पौडेलको निर्देशनअनुसार एसआबद्ध जनसंगठनहरूले १ फागुनमा ७७ वटै जिल्ला सदरमुकाममा सडकमा विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् । 

महासचिव बेदुराम भुसालले एमसिसी सम्झौता परिमार्जनसहित पारित गर्नुपर्ने नीति रहेकाले यथास्थितिमा पास गर्ने प्रयासको विरोधमा जनसंगठनहरूले प्रदर्शन गर्न लागेको बताए । ‘परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने पार्टीको नीति हो, तर अहिले यथास्थितिमै पनि पास गर्ने प्रयास भइरहेकाले पनि जनसंगठनहरूले ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गर्नेछन्,’ भुसालले भने । 

चुनाव घोषणालगत्तै एकीकृत समाजवादीले संगठन विस्तार अभियानलाई चुनावी प्रचारसँग जोड्ने गरी अगाडि बढ्ने गरी गृहकार्य सुरु गरेको छ । चुनावलाई प्राथमिकतामा राखेर पार्टीको सांगठनिक अवस्था र सबै राजनीतिक दलहरूको शक्ति सन्तुलनको अवस्थाको तथ्यांक संकलन गर्ने निर्णय भएको महासचिव भुसालले बताए ।  ‘पार्टीको संगठनको अवस्था कस्तो छ, कुन जिल्लाका कुन स्थानीय तहमा कुनकुन पार्टीको शक्ति सन्तुलनको अवस्था के–कस्तो छ ? पार्टी कमिटीहरूलाई तथ्यांक संकलन गरेर प्रतिवेदन बुझाउन निर्देशन गर्ने निर्णय भएको छ,’ भुसालले भने । एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक मंगलबार सम्पन्न भएको थियो । बुधबार पनि बैठकलाई निरन्तरता दिने तय भए पनि नेताहरूको व्यस्तताका कारण बैठक स्थगित भएको थियो । 

ad
ad
ad
ad