मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २६ बुधबार
  • Thursday, 19 December, 2024
२o७८ माघ २६ बुधबार o९:११:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मनाङमा बाढीले भत्काएका घर पुनर्निर्माण सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २६ बुधबार o९:११:oo

गत १ असारमा मर्स्याङ्दीमा आएको बाढीले मनाङको नासों गाउँपालिका–१ तालगाउँमा भत्काएका घरहरू पुनर्निर्माण सुरु भएको छ । प्रदेश सरकारबाट प्राप्त राहत रकमबाट लाभग्राहीले आवास निर्माण सुरु गरेका हुन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार घर पुनर्निर्माणका लागि राहतस्वरूप नासों गाउँपालिकाले प्रतिपरिवार एक लाख र गण्डकी प्रदेश सरकारबाट दुई लाख उपलब्ध गराएको छ ।

सम्बन्धित वडा कार्यालयबाट सम्झौता गरी घर बनाउन नेपाल सरकारबाट किस्ताबन्दीमा पाँच लाख र जग्गा नहुनेलाई गाउँपालिकाको सिफारिसमा थप तीन लाख उपलब्ध गराइने प्रजिअ आचार्यको भनाइ छ । उनका अनुसार सम्बन्धित घरमूलीसँग यथाशीघ्र घर बनाउने सम्झौता गरी सोको जानकारी जिल्ला प्रशासन कार्यालयमा पठाउन नार्पाभूमि, ङिस्याङ, चामे र नासों गाउँपालिकालाई पत्रसमेत पठाइएको छ ।

मनाङमा क्षति पुगेका ६१ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरिसकेकोे छ । प्रमुख जिल्ला अधिकारी आचार्यले नासों गाउँपालिकाको ३९ घरपरिवार, चामे गाउँपालिकाको नौ घरपरिवार, नार्पाभूमि गाउँपालिकाको ७ घरपरिवार र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरिएको थियो । उनीहरूले पुनर्निर्माणको काम सुरु गरेका हुन् । 

मनाङमा पुनर्निर्माणका लागि केन्द्र सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउने प्रजिअ आचार्यले बताए । प्रदेश सरकारबाट जिल्लाभरका ७४ लाभग्राहीका लागि एक करोड ४८ लाख रुपैयाँ बजेट आएको छ ।

प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार एक लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप एक लाख गरी दुई लाख रुपैयाँ आएको हो । नासों गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङले सिरानतालको सात घरसहित तालको ६० वटा घर डुबानमा परेको बताए । गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिरोले क्षति पुर्‍याएको छ । यसमा पूर्ण क्षतिभएका ४४ घर छन् । आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन् ।