सरकारले कैलाली धनगढीको ड्रिम प्रोजेक्टका रूपमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई साढे ३८ बिघा जग्गा उपलब्ध गराउने भएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जग्गा दिने निर्णय गरेको हो । यद्यपि १० माघमै मन्त्रिपरिषद्को बैठकले निर्णय गरे पनि सोमबार मात्र पारित भएको धनगढी क्रिकेट एकेडेमी तथा फाप्ला क्रिकेट मैदानका अभियन्ता सुवास शाहीले नयाँ पत्रिकालाई जानकारी दिएका छन् ।
‘मन्त्रिपरिषद्को बैठकले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्रामलाई राष्ट्रिय प्राथमिकता राखी साढे ३८ बिघा जग्गा उपलब्ध गराएकोमा अत्यन्त खुसी छु,’ शाहीले भने, ‘हाम्रो सात वर्षदेखिको संघर्ष पूरा भएको छ, हामीले लगातार सरकारलाई ध्यानाकर्षण गराइरहेका थियौँ ।’ फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माणका लागि विकास समिति बन्ने भएको छ । यसै समितिबाट नै योजना क्रमबद्ध रूपमा अगाडि बढ्ने शाहीले बताए ।
‘अब सबै काम विकास समितिअन्तर्गत नै रहन्छ,’ उनले भने, ‘हामी फेज बाई फेजअनुसार काम गर्छौँ, यो एकैपटक निर्माण हुँदैन पनि । ’ सरकारको योजनाभित्र रहेका कारण फाप्ला क्रिकेट मैदान निर्धारित समयमै सकाउने लक्ष्य उनले राखेका छन् । ‘फास्ट ट्र्याक रूपमा अगाडि बढ्यौँ भने यो रंगशाला तीन वर्षभित्र पूरा हुनेछ,’ उनले भने, ‘हाम्रो अर्को प्रयास भनेको धनगढीलाई क्रिकेट सहरका रूपमा पनि परिचय गराउने हो ।’
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन शाहीकै अग्रसरतामा धनगढी प्रिमियर लिग सुरु भएको थियो । नेपालको पहिलो फ्रेन्चाइज टी–२० लिगका रूपमा डिपिएल रहेको छ । सन् २०१९ मा यसको तेस्रो संस्करण भएको थियो ।कोरोनाका कारण अहिले डिपिएल रोकिएको छ । ‘डिपिएललाई क्रिकेट प्रतियोगिता मात्र नभएर एउटा अभियानका रूपमा अघि लगेर गएका थियौँ,’ शाहीले भने, ‘क्रिकेट मैदान मात्र नभएर अब खेलग्रामका रूपमा चाहिँ अघि बढ्छ ।’
सन् २०१५ को फेब्रुअरीमा शाहीले ड्रिम फाप्ला (फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण अभियान) अभियानले समृद्ध सुदूरपश्चिमको परिकल्पनासहित ७० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट मैदान धनगढीमा बनाउने उद्देश्यका साथ थालनी गरेका थिए । ‘डिपिएल हुँदा पनि कम्तीमा १५–२० हजार दर्शक आउँथे, अब रंगशाला नै निर्माण भएपछि यहाँ ७० हजार दर्शकले घरेलुदेखि अन्तर्राष्ट्रिय क्रिकेटका खेल हेर्न सक्छन्,’ उनले भने । यस खेलग्राममा क्रिकेट रंगशालासहित जिमखाना, पौडीपोखरी, क्रिकेट म्युजियम, अभ्यास खेलमैदान, अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो तथा इन्डोर हल, फुटबल मैदान, पार्किङदेखि तालिम सञ्चालन गर्ने भवन रहेका छन् ।