भूकम्पपछि धेरैजसो सम्पदा पुनर्निर्माण कार्य अलमलियो। सरकारले बनाउन खोज्दा स्थानीयले नमान्ने र स्थानीयले बनाउन खोज्दा सरकारले नमान्ने। ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणमा पनि यस्तै समस्या देखियो। सरकारले पुनर्निर्माण गर्दा मौलिकता मेटिने डरमा स्थानीयले सरकारको भरोसामा भीनसेनकाे मन्दिरलाई छाडेनन्। करोडौँ खर्च लागे पनि आफैँ बनाउँछौँ भनेर उनीहरूले अग्रसरता देखाए। भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जन त्यसको नेतृत्व लिन तम्तयार भए। स्थानीयवासी, व्यापारी र सरोकारवाला निकायको साथ पाएपछि भीमसेन मन्दिर पुनर्निर्माण कार्य त्यति कठिन बनेन।
महर्जनले वरिपरिका समुदायसँग मन्दिर पुनर्निर्माणको लागि आर्थिक सहयोग गर्न आग्रह गरे। स्थानीय समुदायले अपनत्व जनाउँदै सहयोग गर्न थाले। ‘सरकारकै मात्रै आशा गरेर बसेको भए मन्दिर अहिलेसम्म पनि बन्ने थिएन, हामी सक्छौँ भनेर अग्रसर भएकोले मन्दिर पुनर्निर्माण कार्य सकियो,’ समितिका अध्यक्ष महर्जनले भने, ‘केही रकम स्थानीय, व्यवसायी र केही रकम सरकारले सहयोग गरेपछि भीमसेन मन्दिर उभ्याउन सक्यौँ।’
उनका अनुसार पाटन क्षेत्रमा स्थानीय व्यापारीहरूले मन्दिर पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेका छन्। त्यस्तै, आसपासका प्रत्येक घरबाट थोरैथोरै भए पनि रकम संकलन भयो। स्थानीयको अग्रसरतासँगै भीमसेन मन्दिर पुनर्निर्माण कार्य सुरु भयो। करिब दुई वर्षको अवधिमा पुनर्निर्माणले पूर्णता पाएको हो।
विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेको यो मन्दिरलाई पाटन क्षेत्रका व्यापारीले पुज्ने गर्दछन्। मन्दिर पुनर्निर्माण गर्दा लागेको कुल लागतमध्ये बढी रकम समुदायबाट संकलन भएको थियो। भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिमार्फत करिब दुई वर्षमा उक्त मन्दिर पुनर्निर्माण सकिएको छ।
मन्दिर पुनर्निर्माणमा चार करोड ९३ लाख रकम खर्च भएको छ। त्यसमध्ये एभरेस्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले एक करोड सहयोग गरेका थिए। त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंक र ललितपुर महानगरपालिकाले एक/एक करोड रुपैयाँ सहयोग गरे। ललितपुर क्षेत्र नं ३ का सांसद पम्फा भुसाल र क्षेत्र नं २ का सांसद कृष्णलाल महर्जनले पनि मन्दिर पुनर्निर्माणको लागि आर्थिक सहयोग गरेका थिए। यसबाहेक बागमती प्रदेश सभा सदस्य ज्ञानेन्द्र शाक्य, विभिन्न संघ–संस्था, स्थानीय नागरिकबाट उठेको रकमबाट मन्दिर पुनर्निर्माण कार्य सम्पन्न भएको छ। मन्दिर पुनर्निर्माणको लागि काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी)ले प्राविधिक सहयोग गरेको थियो।
भूकम्पले क्षतिग्रस्त पाटनका अन्य पाँच सम्पदा–कृष्णमन्दिर, विश्वनाथ मन्दिर, चारनारायण मन्दिर मणिमण्डपका दुई पार्टीको पुनर्निर्माण कार्य पनि केभिपिटीले गरेको थियो। विभिन्न दातृ निकाय, राजदूतावासको आर्थिक सहयोगमा केभिपिटीले सम्पदा पुनर्निर्माण गरेको हो।
हालै पुनर्निर्माण कार्य सकिएको भीमसेन मन्दिरको दर्शन र पूजाआजा गर्नाले व्यापारमा लाभ हुने मान्यता छ। २०७२ सालको भूकम्पले क्षति पारेको यो मन्दिर पुनर्निर्माण कार्य लामो समय अलमलिएको थियो। भूकम्प गएको करिब डेढ वर्षपछि पुरात्तत्व विभागले मन्दिर पुनर्निर्माणको लागि आर्थिक प्रक्रिया अघि बढाए पनि समयमै पुनर्निर्माण हुन सकेन।
विभागले आर्थिक रकम नभएको भन्दै पुनर्निर्माण गर्न नसक्ने बताएको थियो। त्यसपछि भारतीय राजदूतावाससमक्ष आर्थिक सहयोग माग्यो। भारतीय राजदूतावासले प्रस्तावनाबारे अध्ययन गरिरहेकै वेला स्थानीयले मन्दिर पुनर्निर्माणमा आफैँ अग्रसरता लिन थाले। समितिका सल्लाहकार दिलेन्द्रराज श्रेष्ठले पुरात्व विभागलाई निकै घचघच्याउँदा पनि मन्दिर पुनर्निर्माणमा चासो नदेखाएको बताए।
‘तत्कालीन संस्कृतिमन्त्री प्रधानमन्त्रीसमक्ष पनि मन्दिर बनाउन हामीले पहल गरेका थियौँ,’ उनले भने, ‘भारतीय दूतावासका अधिकारीहरूले पनि मन्दिर पुनर्निर्माणमा इच्छा देखाए तापनि स्थानीयले नै बनाउने निर्णय भयो।’