२ कात्तिक ०६० देखि कच्ची धावनमार्ग र काठको टहरोकै टर्मिनल भवनबाटै जहाज उडान र अवतरण, अझै सुविधायुक्त टर्मिनल बन्न सकेको छैन
जिल्लाको एक मात्र रारा विमानस्थलमा रहेको टर्मिनल टावरको भवन १८ वर्षदेखि काठको टहरोमै सीमित छ । २ कात्तिक ०६० देखि कच्ची धावनमार्ग र काठको टहरोकै टर्मिनल भवनबाटै जहाज उडान र अवतरण सुरु भएको १८ वर्ष बितिसक्दा पनि अझै सुविधायुक्त टर्मिनल बन्न सकेको छैन । एकतले काठको टहरोभित्र उपकरण राखेर कर्मचारीले वर्षौँदेखि नेपालगन्जदेखि तारा, समिट, सीता र नेपाल एयरलाइन्स जहाज उडान र अवतरण गर्दै आएको छ । सामान्य हावा लाग्दासमेत हल्लिने टहरोमा बसेर जहाजको कनेक्सनमा जोडिनुपरेको विमानस्थल प्रमुख विशाल वरुणले बताए । ‘यही काठको टहरोभित्रै बसेर जहाज बसाल्दै र उडाउँदै आएको मेरो एक वर्ष बित्यो,’ उनले भने ।
रारा विमानस्थलको धावनमार्ग मात्र निर्माण सम्पन्न गर्न करिब ३३ वर्ष लागेको छ । टर्मिनल टावर निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा आठ करोड ६० लाख बजेट विनियोजन गरी ओम बुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनसित ठेक्का सम्झौता गरेको थियो । तर, एक वर्षसम्म ३० प्रतिशत पनि काम पूरा भएको छैन ।
विमानस्थल निर्माणका लागि अहिलेसम्म ३२ करोडभन्दा बढी खर्च भइसक्यो, प्राधिकरणले विमानस्थलका निम्ति बजेट विनियोजन गर्दै आएको करिब २२ वर्ष पुगेको छ
आयोजनास्थलमा ठेकेदार नियमित नबस्नु, निर्माणको काम अर्कालाई जिम्मा दिनु र प्राधिकरणले नियमित अनुगमन नगर्दा टावर निर्माणको काम कछुवा गतिले अघि बढेको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म ३२ करोडभन्दा बढी खर्च भइसकेको छ । प्राधिकरणले रारा विमानस्थलका निम्ति बजेट विनियोजन गर्दै आएको करिब २२ वर्ष पुगेको छ । रारा विमानस्थलमा टर्मिनल टावर छिटो सम्पन्न गर्न आयोजना प्रमुख र ठेकेदार कम्पनीलाई ताकेता दिइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको भनाइ छ । निर्माण कार्य पूरा नहुँदा तीनवटा जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको रारा हवाई नागरिक उड्डयन कार्यालयले जनाएको छ । ०३८ सालमा तत्कालीन सांसद तेजबहादुर भामाले स्थापना गरेको एयरपोर्ट उनका पनातिका पालासम्म पूर्ण हुन सकेको छैन । पाँच सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको विमानस्थल पिच गरिए पनि अझै धेरै काम गर्न बाँकी छ ।
विमानस्थलमा छैन घेराबार
विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा दुईवटा घेराबार हुनुपर्ने भए पनि एउटा सामान्य तारजालीसमेत लगाइएको छैन । जहाज आउँदा सुरक्षाकर्मीले घेराबारका रूपमा काम गर्दै आएका छन् । घेराबार नहुँदा स्थानीय मानिस तथा चौपाया पशु ओहोरदोहोर गर्ने चौबाटो बनेको सुरक्षाकर्मीको भनाइ छ । सम्बन्धित निकायको ध्यान पुगेन भने कुनै दिन ठूलो दुर्घटना हुन सक्ने स्थानीय अशल रावल बताउँछन् । जहाज ल्यान्डिङका समयमा सुरक्षाकर्मीले चारैतिर सिठी फुकेर प्रवेश रोक्ने गरेका छन् ।
काठको टहरोमा डिपार्चर भवन
एउटा काठको टहरोमा सुरक्षा जाँचकक्ष रहेको छ । यात्रुहरूको मालसामान चेकजाँच, यात्रुको सामान तौल गर्ने, ट्याग लगाउने काम यही टहरामा हुन्छ । यात्रुलाई काठको सामान्य बेन्चमा घन्टौँसम्म अँध्यारो साँघुरो टहरोमा राख्नुपर्ने बाध्यता रहेको सोरु गाउँपालिका वडा नं. ६ सिड्डीका हरिभक्त रोकाया बताउँछन् । विमानस्थलमा जहाज पर्खन यात्रु आरामकक्ष नहुँदा ज्येष्ठ नागरिक, बिरामी, अपांग, असहायलगायतका यात्रुहरूलाई समस्या हुने गरेको छ । बर्सातको समयमा ओत लाग्ने र घाममा छहारी बस्ने ठाउँसम्म नहुँदा साह्रै समस्या भएको यात्रुहरू बताउँछन् ।
पहिरोको ठूलो जोखिममा विमानस्थल
रारा विमानस्थलको रनवेदेखि १० मिटरनजिकै पश्चिमतिर पाटपटेनी खोलाले बर्सेनि कटान गर्दै आएको छ । कटानसँगै एयरपोर्टको तल्लो भाग डिलतिर पहिरो खस्न थालेको छ । समयमा मर्मत–सम्भार, घेराबार तथा खोला तटबन्ध हुन नसके विमानस्थल पहिरोको जोखिममा पर्ने देखिन्छ । एकातिर खोलाले कटान गर्दै लानु र अर्कातिर विमानस्थलको छेउमा बनाइएको पाँच सय मिटर नालीको पानी उक्त खोलामा मिसिँदा एक छेउबाट कटान हुँदै गएको र डिलतिर पहिरोको जोखिम बढेको छ ।
एयरपोर्टबाट निकालिएको नालीमा आएको पानी खोलामा मिसिँदा बर्सातको समयमा कटान बढ्ने तथा पहिरो आउने समस्याले सुत्न नपाइने छायानाथ रारा नगरपालिका–५, पाटपटेनी गाउँका गणेश कामी बताउँछन् । उनी भन्छन्, ‘रारा विमानस्थल तल हाम्रो बस्ती रहेको छ, विमानस्थल अग्लो स्थानमा हुँदा माथिबाट आएको पानी, पहिरो सबै हाम्रो घरभित्र पस्ने गरेको छ ।’
टीकापुर विमानस्थल साढे दुई दशकदेखि बन्द
धनगढी विमानस्थल नियमित रूपमा सञ्चालन भइरहँदा सय किलोमिटरको दूरीमा रहेको कैलालीकै टीकापुर विमानस्थल भने बन्द छ । करिब साढे दुई दशकदेखि बन्द रहेको यो विमानस्थल सञ्चालनका लागि पटक–पटक प्रयास भइरहेका छन् । २७ बिघा क्षेत्रफलमा रहेको विमानस्थलमा एक हजार दुई सय मिटर लामो कच्ची धावनमार्ग छ । २०५४ सालदेखि बन्द विमानस्थल सुचारुका लागि विगतमा स्थानीयले समिति गठन गरेका थिए । प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका शीर्ष नेतालाई बारम्बार गुहारे पनि सरकारले बजेट नदिएको स्थानीयको गुनासो छ ।
टीकापुरबाट निर्वाचित प्रदेश सभा सदस्य एवं कांगे्रस नेता रणबहादुर रावलले विमानस्थल बन्द हुँदा धनगढी र नेपालगन्ज जानुपर्ने बाध्यता रहेको बताए । हवाई सेवा नहँुदा गम्भीर बिरामीलाई अन्यत्र लैजान समस्या हुने गरेको उनले बताए ।
‘धनगढी र नेपालगन्ज पुर्याउँदा–पुर्याउँदै कतिपय बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था छ ।’ रावलले भने, ‘अब विमानस्थल सञ्चालनका लागि पूर्वाधार निर्माणका काम अगाडि बढ्छ ।’ रावलसहितको टोलीले केही दिनअघि पर्यटनमन्त्रीलाई भेटेर विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गर्न आग्रह गरेको थियो । स्थानीयका अनुसार २०४२ सालदेखि सञ्चालन भएको विमानस्थल २०५४ बाट बन्द भएको थियो ।
१० वर्ष चलेको विमानस्थल बन्यो गौचरण
नवीन लोचन मगर/ विसं. २०३६ देखि सञ्चालनमा आएको रोल्पाको वडाचौर विमानस्थल अलपत्र अवस्थामा छ । करिब १० वर्ष सञ्चालनमा आएको विमानस्थल २०४६ पछि गौचरणमा परिणत भएको छ । लुंग्री गाउँपालिकाको वडाचौरमा रहेको विमानस्थल तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री बालाराम घर्तीमगरको पहलमा निर्माण भएको थियो । विमानस्थलबाट काठमाडौं, पोखरा उडान हुन्थ्यो ।
जिल्लाको पूर्वी व्यापारिक नाका सुलिचौरबाट करिब १० किलोमिटर दूरीमा रहेको उक्त विमानस्थल सञ्चालनका लागि पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएको स्थानीय अमरबहादुर थापाले बताए । ‘हामीले सर्वदलीय र सर्वपक्षीय बैठक गरेर सिंहदरबारसम्म ज्ञापनपत्र बुझायौँ’ थापाले भने, ‘हाम्रो मागलाई कसैले वास्ता गर्दैन ।’ दबाबका कारण विमानस्थलको घेरबार गरिए पनि सञ्चालनका लागि ठोस कार्य भने हुन सकेको छैन । रोल्पाबाट दर्जनौँ नेता राज्यका ठूला पदमा पुगे पनि विमानस्थलका निम्ति कसैले चासो नगर्नु दुःखद भएको स्थानीयको भनाइ छ ।
रेसुंगा विमानस्थलको ८०% भन्दा बढी काम सम्पन्न
टोपलाल अर्याल/ गुल्मीकाे रेसुंगा विमानस्थलको ८० प्रतिशतभन्दा बढी काम सकिएको छ । अहिले धावनमार्ग कालोपत्रे र टर्मिनल भवन तथा कन्ट्रोल टावर निर्माणको काम भइरहेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर निर्माणका लागि बिकोई श्रेष्ठ जेभीले ४ चैत ०७६ मा चार करोड पाँच लाख २९ हजार ६ सय १० रुपैयाँमा सम्झौता गरेको छ ।
धावनमार्ग निर्माणको काम भने रौताहा हरिहरि जेभीले सात करोड २५ लाख रुपैयाँमा गरिरहेको छ । धावनमार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ । त्यस्तै, विमानस्थल घेराबारको काम सकिएको छ ।
मौसम हरिश निर्माण सेवा डोल्पाले १६ पुस ०७६ मा ९१ लाखमा घेराबारको काम गरेको विमानस्थल सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले जानकारी दिए । रेसुंगा नगरपालिका–१० सिमीचौरमा निर्माणाधीन विमानस्थलमा २७ जेठ ०७५ मा परीक्षण उडान गरिएको थियो ।