मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २१ शुक्रबार
  • Wednesday, 18 December, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७८ माघ २१ शुक्रबार १४:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित, एमालेको माघ अन्तिममा

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७८ माघ २१ शुक्रबार १४:२३:oo

नेपाली कांग्रेस सिन्धुपाल्चोकले जिल्ला अधिवेशन गर्न पाँचपटक प्रयत्न गर्‍याे। पार्टीको १४औँ महाधिवेशनअघि नै तीनपटक प्रयास भयो। २८ पुसमा सम्पन्न महाधिवेशनपछि दुईपटक अधिवेशन गर्ने भनेर तयारी गरियो। तर, अझै जिल्ला अधिवेशन अनिश्चित छ।

जिल्ला सभापति विकास लामाले अधिवेशन नहुनुमा पार्टी केन्द्र जिम्मेवार रहेको बताए। क्षेत्र र स्थानीय तहको समायोजन प्रक्रियालाई केन्द्रले बेवास्ता गरेकाले अधिवेशन रोकिएको उनको भनाइ छ। त्यसो त कांग्रेस सिन्धुपाल्चोकमा क्रियाशील सदस्यको विवादले पार्टी केन्द्रलाई अप्ठ्यारो परेको थियो। महाधिवेशन सम्पन्न भएपछि क्रियाशील विवाद हट्यो। ‘समायोजन र क्रियाशील विवादले अधिवेशन समयमा हुन सकेन,’ लामाले भने, ‘कोभिडका कारण अब कहिले गर्ने भन्ने पनि टुंगो छैन।’ कोभिड महामारीको अवस्था हेरेर नयाँ मिति तय गरिने उनले प्रष्ट्याएका छन्।

सभापतिमा ६ जनाको दाबी
जिल्ला अधिवेशन अनिश्चित बने पनि नेताहरूले सभापतिमा आफ्नो दाबी भने प्रस्तुत गरेका छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ र जिल्ला पार्टी सचिव बिलबहादुर तामाङले सभापतिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। उनीहरू दुवैजना शेखर कोइराला पक्षका हुन्। देउवा पक्षबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका भाइ बालकृष्ण बस्नेत, डा. प्रेमध्वज लामा, व्यापारीद्वय राजेन्द्र श्रेष्ठ र विष्णु खत्रीले पनि सभापतिमा दाबी प्रस्तुत गरेका छन्।

२३ माघसम्म एमालेमा सहमति प्रयास
यता, नेकपा (एमाले)को जिल्ला अधिवेशन पनि दुई महिनादेखि रोकिएको छ। पार्टी फुटको असरले अधिवेशन सर्ने र रोकिने क्रम चलेको हो। १२ मंसिरमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि पटकपटक जिल्ला नेतृत्व छनोट गर्ने भनेर बैठक भए। तर, टुंगोमा पुग्न नसक्दा अधिवेशन उद्घाटन गरेर स्थगित भएको छ। २ माघका लागि निर्वाचन प्रक्रिया तोकिएको थियो। कोभिड महामारीले गर्दा पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्नुपरेको जिल्ला अध्यक्ष झम्क नेपालको भनाइ छ। ‘एकातिर सरकारले कोभिड नियन्त्रणका लागि नयाँ नियम घोषणा गर्‍याे, अर्कोतिर हाम्रा २७ जना साथीलाई कोरोना संक्रमण पजिटिभ देखियो,’ उनले भने, ‘त्यसपछि बाध्य भएर अधिवेशन रोक्नुपर्‍याे।’

कोभिड महामारी कम हुँदै गएकाले २९ माघमा निर्वाचन प्रक्रियामा सामेल हुने एमालेको तयारी छ। २३ माघसम्म सहमतिको प्रयास गर्ने त्यसपछि लोकतान्त्रिक विधि अपनाएर नेतृत्व टुंग्याउने तयारी गरिएको छ। 

पाँच नेता मैदानमा
जिल्ला अध्यक्षका लागि एमालेका पाँच नेताले आफ्नो दाबी प्रस्तुत गरेका छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्षसमेत रहेका जुगल गाउँपालिका प्रमुख होमनारायण श्रेष्ठ, बालकृष्ण देउजा र डोल्मा तामाङ अध्यक्ष केपी ओली पक्षधर हुन्। १०बुँदे पक्षधर नेता कमल नेपाल र बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले पनि कडा रूपमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। नेपाल पार्टी सचिव हुन् भने देउजा अधिवेशन आयोजक कमिटीका सहसंयोजक हुन्। पाँच नेतामध्ये देउजा, नेपाल र क्षेत्रीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। सुरुमा पार्टी फुटको असर नगन्य थियो। तर, अहिले नेताहरू धमाधम एकीकृत समाजवादीतिर प्रवेश गर्न थालेपछि एमाले जिल्ला नेतृत्व दबाबमा रहेका छन्। पूर्वसांसदसमेत रहेका नेता सुभास कर्माचार्यसहित सयौँ नेता तथा कार्यकर्ता एकीकृत समाजवादाीमा प्रवेश गरेकाले एमाले नेता दबाबमा परेका हुन्।