मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ माघ २१ शुक्रबार १०:३६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बेइजिङ विन्टर ओलम्पिक आजदेखि

Read Time : > 1 मिनेट
२०७८ माघ २१ शुक्रबार १०:३६:००

चीनको राजधानी बेइजिङमा विन्टर ओलम्पिक शुक्रबारदेखि सुरु हुँदै छ । अमेरिकालगायत पश्चिमेली राष्ट्रहरूले बेइजिङमा सकारी स्तरबाट पदाधिकारी नपठाउने घोषणा गरे पनि चीनले विन्टर ओलम्पिक भव्यताका साथ गर्ने लक्ष्य राखेको छ । यो विन्टर ओलम्पिक २० फेब्रुअरीमा सकिनेछ । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)ले प्रतियोगितामा ९१ देशले भाग लिने जनाएको छ । 

प्रतियोगितामा दुई हजार आठ सय ७१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये एक हजार पाँच सय ८१ पुरुष र एक हजार दुई सय ९० महिला खेलाडीले विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन् । विन्टर ओलम्पिकको उद्घाटन चीनका राष्ट्रपति सी जिनपिङले गर्नेछन् । प्रतियोगितामा एक सय नौ इभेन्ट्स हुनेछन् । यसमध्ये सात खेल इभेन्ट्स आयोजक चीनले थप गरेको छ । पुरुष तथा महिला विग एयर फ्री स्टाइल खेल समावेश भएको हो । यसैगरी, चीनले मिक्स फ्री स्टाइल, स्की जम्प, स्नोबोर्ड क्रस तथा सर्ट ट्याक स्पिड स्केटिङ खेल पनि राखेको छ । 

पश्चिमेली देशहरूले कूटनीतिक विरोध जनाए पनि राष्ट्रपति सीले विन्टर ओलम्पिक भव्यताका साथ हुने केही समयअघि स्थानीय मिडियासमक्ष भनेका थिए । प्रतियोगिताको तयारी सम्बन्धमा राष्ट्रपति सीले नै विशेष चासोका साथ निरीक्षण गरेका थिए । यता अन्तर्राष्ट्रिय मानवअधिकारवादीहरूले चीनमा मानवअधिकार हनन भएकाले प्रतियोगिता नै विवादास्पद भएको जनाएका छन् । चीनले प्रतियोगिताका लागि कोरोना भाइरसलाई मध्यनजर राखी विशेष प्रोटोकल बनाएको छ । 

विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लागू गरेको नियम विन्टर ओलम्पिक शतप्रतिशत अपनाउने आयोजकले जनाएको छ । खेलाडी, पदाधिकारी तथा अफिसियललाई विमानस्थलदेखि एथलेटिक्स भिलेजसम्म विशेष सुरक्षाका साथ पुर्‍याइनेछ । खेलाडीदेखि अफिसियलहरूलाई दर्शकबाट टाढा नै राखिने आयोजकले जनाएको छ । प्रत्येक दिन खेलाडी, अफिसियल, पदाधिकारी तथा दर्शकको कोभिड १९ परीक्षण हुनेछ । 

‘विश्वभरि फैलिरहेको कोरोना संक्रमणबाट सबैलाई रक्षा गर्न हामीले विशेष रणनीति नै अपनाएका छौँ,’ आयोजक कमिटीले अन्तर्राष्ट्रिय मिडियालाई भनेको छ, ‘सर्वसाधारणदेखि समर्थकसम्मलाई टाढा नै राख्ने प्रयासमा छौँ ।’ बेइजिङले विन्टर ओलम्पिक प्रतियोगिता प्राप्त गर्न अन्तिम समयमा काजखस्तानलाई निराश पारेको थियो । भोटिङका आधारमा चीनले सर्वाधिक ४४ मत पाएको थियो । काजखस्तानले ४० मत प्राप्त गरेको थियो । 

चार भोटले पछि पार्दा काजखस्तान विन्टर ओलम्पिक गर्न वञ्चित भएको हो । प्राकृतिक तथा अप्राकृतिक हिउँमा प्रतिस्पर्धा हुने विन्टर ओलम्पिक मुख्य गरी आठ रंगशालामा हुने आयोजकको भनाइ छ । जसमध्ये क्यापिटल इन्डोर रंगशालामा पाँच आइस इभेन्ट्स हुनेछन् । बेइजिङमा रहेको वसकेसोङ स्पोर्टस् सेन्टर प्रतियोगिताकै मुख्य रंगशालाका रूपमा रहनेछ । यस रंगशालामै सन् २००८ मा गृष्मकालीन ओलम्पिक भएको थियो । 

प्रतियोगिताको उद्घाटन बेइजिङ राष्ट्रिय रंगशालाामा हुनेछ । यसै रंगशालामा समापन पनि हुने आयोजकले जनाएको छ । यस रंगशालाको क्षमता ८० हजार दर्शक रहेको छ । राष्ट्रिय अक्वाटिस सेन्टरमा क्युरलिङ खेल हुनेछ । यसैगरी, बेइजिङ राष्ट्रिय रंगशालामा आइस हक्की खेल हुँदा १९ हजार नौ सय ५० दर्शकले मजा लिने विश्वास छ । राष्ट्रिय स्पिड स्केटिङ ओभलमा ११ हजार नौ सय ५० दर्शकको क्षमता रहेको छ । आयोजक चीनले प्रतियोगिताका लागि स्केटिङ ओभल नयाँ रंगशालाका रूपमा प्रयोग गर्नेछ । क्यापिटल इन्डोर रंगशालामा फिगर स्केटिङ, सर्ट ट्याक स्पिड स्केटिङ खेल हुने आयोजकले जनाएको छ ।

यस रंगशालाको क्षमता १३ हजार दुई सय ८९ दर्शक रहेको छ । बेइजिङमा विग एयर सोगान नयाँ रंगशाला बनेको छ । जसमा विग एयर र फ्री स्टाइल खेल हुनेछन् । गत १८ अक्टोबरमा विन्टर ओलम्पिकको टर्च सुरु भएको थियो । ग्रिसबाट सुरु भएको ओलम्पिक टर्च यात्रा ४ फेब्रुअरीमा बेइजिङमा पुर्‍याइने कार्यक्रम रहेको छ ।