१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २१ शुक्रबार
  • Friday, 05 July, 2024
२o७८ माघ २१ शुक्रबार o९:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विदेशी बोर्डमा ११ र १२ कक्षा पढेका नेपाली विद्यार्थीले पाएनन् समकक्षता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २१ शुक्रबार o९:५६:oo

एसइईपछि नेपालमा विज्ञान समूहमा मापदण्डअनुसार भर्ना नपाउने अवस्थाका विद्यार्थी विदेश अध्ययन गरी समकक्षता लिन दिनहुँ धाउँदै

एसइई दिएपछि विदेशी बोर्डबाट ११ र १२ कक्षा विज्ञान समूहका विषय उत्तीर्ण गरी नेपालकै विभिन्न विश्वविद्यालयमा स्नातक तह पढ्दै गरेका विद्यार्थीहरू समकक्षता नपाएपछि सास्ती खेप्न विवश छन् ।

नेपालमा विज्ञान समूहका विषय पढ्न तय गरेको भर्नाको आधारअनुसार कम ग्रेड भएका कारण भर्ना पाउन नसक्ने अवस्था भएका, तर एसइईपछि विदेशी बोर्डका कार्यक्रम सिबिएसई, ए लेभल तथा अन्यत्र पढेका विद्यार्थीले समकक्षता नपाएका हुन् । स्नातक तहमा भर्ना भए पनि १२ कक्षासरहको मान्यता नपाउँदा उनीहरू समस्यामा परेका हुन् । 

विदेशी बोर्डबाट कक्षा १२ उत्तीर्ण गरेर नेपाल फर्केकाहरू शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रमा समकक्षता लिन दिनहुँजसो आउने गरेका छन् । केन्द्रका अधिकारीका अनुसार केही समययता झन्डै ५० जना विद्यार्थी समकक्षता नपाएर फर्किएका छन् । ‘एसइईपछि मापदण्डअनुसार नेपालमा ११ कक्षामा भर्ना हुन नपाउने, तर विदेश पढेर समकक्षता लिन दिनहुँजसो आउँछन्, अब यो संख्या झनै बढ्दै जाने देखिन्छ,’ एक कर्मचारीले भने । ०७२ देखि लेटर ग्रेडिङ प्रणाली सुरु भएपछि ०७४ सालसम्मका विद्यार्थीको समस्या केन्द्रमा आएको छ । 

नेपालमा विज्ञान समूहका विषय पढ्न तय गरेको भर्नाको आधारअनुसार कम ग्रेड भएका कारण भर्ना पाउन नसक्ने अवस्था भएका, तर एसइईपछि विदेशी बोर्डका कार्यक्रम सिबिएसई, ए लेभल तथा अन्यत्र पढेका विद्यार्थीले समकक्षता नपाएका हुन् । 

विदेश पढ्न जाने वेलामा नेपालमा ११ कक्षामा भर्नाका लागि अंग्रेजी, गणित र विज्ञान विषयमा न्यूनतम सी प्लस ल्याएको हुनुपर्ने आधार तय गरेको थियो । तर, विदेशी बोर्डले सी र डी प्लस ल्याएका विद्यार्थीलाई समेत भर्ना गरेको थियो । ती बोर्डबाट १२ कक्षासरहको अध्ययन सकेर नेपालमै आएर इन्जिनियरिङलगायत विषयमा अध्ययन गरेका विद्यार्थीले समकक्षता नपाएर सास्ती भोगेका छन् । अहिले नेपालमै भर्ना हुनसमेत त्यो व्यवस्था परिवर्तन भइसकेको छ । 

कतिपय विद्यार्थीले नेपालमै सञ्चालन भएका सिबिएसई बोर्डका कार्यक्रम चलाएका विद्यालयमा समेत पढेका थिए । अहिले समकक्षता नपाएमा माथिल्लो तहमा समेत समकक्षता नपाउने भएकाले उनीहरूले शैक्षिक डिग्री लिए पनि समस्या रहने भएको छ । 

पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले विदेशी बोर्डबाट अध्ययन गरेर आएका विद्यार्थी समस्यामा परेको बताए । त्यतिवेला नेपालमा वा विदेशीमा पढे पनि त्यही मापदण्ड कार्यान्वयन हुने भएकाले एसइईमा अंग्रेजी, गणित र विज्ञानमा सी प्लस नआएको, तर बाहिर ११ र १२ कक्षामा फिजिक्स, केमेस्ट्री, बायोलोजी पढेकालाई समस्या भएको उनले बताए । ‘त्यो वेला थाहा पाएर वा नपाएर ग्रेडवृद्धि नगरी विदेश गए, अहिले समकक्षता दिँदा त्यही वेलाको निर्णयअनुसार हेरिन्छ,’ प्रवक्ता भट्टराईले भने, ‘मन्त्रीस्तरीय निर्णयअनुसार भर्नाका आधार तय भएकाले अहिले पनि मन्त्रीस्तरीय निर्णयअनुसार मात्रै बाटो खुल्न सक्छ ।’

समकक्षता दिन नमिल्ने निर्णय
समकक्षता समितिको मंगलबार बसेको बैठकमा एसइईपछि विदेशी बोर्डबाट अध्ययन गरेर आएका, तर मापदण्डअनुसार नेपालमा भर्ना हुन नमिल्ने विद्यार्थीको विषयमा छलफल भएको थियो । छलफलमा त्यतिवेला शिक्षा मन्त्रालयबाट निर्धारण गरेको भर्नाको आधारअनुसार समकक्षता दिन नमिल्ने समितिका सदस्यहरूले धारणा राखेका थिए । 

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक तथा समकक्षता समितिका सदस्य–सचिव अणप्रसाद न्यौपानेले अहिलेसम्मको व्यवस्थाअनुसार समकक्षता दिन नमिल्ने बताए । ‘तीन वर्ष नकटेका विद्यार्थीको हकमा ग्रेडवृद्धिको परीक्षा दिन सक्ने बाटो छ, केहीको यो बाटो बन्द भयो, अरूका लागि के गर्ने भनेर भन्ने अवस्था रहेन,’ उनले भने । भर्नाको आधार मन्त्रीस्तरीय निर्णयबाट तय भएकाले पाठ्यक्रम विकास केन्द्रबाट समाधान हुन नसक्ने न्यौपानेले बताए । समितिमा त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका प्रमुख, शिक्षा मन्त्रालयका सहसचिवलगायत अधिकारी छन् । 

 

ad
ad
ad
ad