१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
बिहीबार मेचीनगर–६ स्थित काँकडभिट्टाको जुत्ता उद्योग एसएस फुटवेयरमा लागेको आगो । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मेचीनगर नगरपालिका संवेदनशील नहुँदा आगलागीबाट ठूलो क्षति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:३९:oo

- आगो निभाउन भारतको बंगालबाट दुईवटा दमकल आइपुग्यो, तर नगरपालिकाकै दुईवटा दमकल बिग्रेर थन्किए 

- श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा आगो लाग्दा साढे नौ करोडबराबरको क्षति भएको प्रारम्भिक अनुमान

झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा बिहीबार आगलागी हुँदा साढे नौ करोडबराबरको क्षति भयो । श्याम खेतानले सञ्चालन गरेको जुत्ता उद्योग एसएस फुटवेयरमा बिहान करिब ११:४० बजे आगलागी भएको थियो । तर, दमकल झन्डै ४० मिनेटपछि मात्र आइपुगेकाले आगो नियन्त्रणबाहिर गयो । 

मेचीनगर नगरपालिकाको दमकल बिग्रिएर १८ दिनदेखि थन्किएको थियो । छिमेकी स्थानीय तह भद्रपुर र बिर्तामोडलाई खबर गर्दा दमकल पुग्न केही समय ढिला भयो । ‘मेचीनगरले दमकल देखाउन राखेकोजस्तो भयो, समयमा दमकल आएको भए यति ठूलो क्षति हुने थिएन,’ स्थानीय रुद्र अधिकारीले भने, ‘यो नगरपालिकाको गम्भीर लापरबाही हो । बंगालबाट समेत दमकल आइपुग्दा यहीँको दमकल किन आएन ?’ 

मेचीनगर नगरपालिकामा दुईवटा दमकल छन् । एउटा धेरैअघिदेखि बिग्रिएर थन्किएको छ । ‘एउटा दमकल हामी निर्वाचित भएर आउनुअघिदेखि नै चलेको थिएन,’ नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले भनिन्, ‘त्यो अहिले थन्किएको छ । बिक्री गर्न पनि प्रक्रिया लामो हुने रहेछ ।’ चलिरहेको दमकल पनि अहिले बिग्रिएको उनले बताइन् ।

१८ दिनअघि इलामको सूर्योदय नगरपालिकाको एक चिया उद्योगमा लागेको आगो निभाउने क्रममा जाँदा दमकल दुर्घटनामा परेर क्षति भएका कारण समस्या भएको उप्रेतीको भनाइ छ । दमकलमा ठूलो क्षति भएको र बनाउन ग्यारेज लगिएको उनले बताइन् । ‘दमकलमा ठूलो क्षति भएकै कारण ढिला भएको हो । बनेर सकिने चरणमा थियो, दुर्भाग्य भनौँ, बिहीबार नै यस्तो घटना भयो,’ उनले भनिन्, ‘इमर्जेन्सी वस्तु हो, छिट्टै बनाउनुपर्छ भनेर लागेका थियौँ । आगलागी हुँदा आफ्नै नगरपालिकाको दमकल तयारी हालतमा नहुँदा जनआक्रोश आउनु स्वाभाविक हो ।’ 

उप्रेतीले झापा, मोरङ, इलामका स्थानीय तहका दमकल पनि नगरपालिकाले नै समन्वय गरेर बोलाएको बताइन् । ‘अन्य स्थानीय तहबाट आएका दमकल पनि हामीले नै समन्वय गरेर बोलाएका हौँ । आगो लागेको करिब आधा घन्टामा भद्रपुर र बिर्तामोडको दमकल आएको थियो । हाम्रो नै भएको भए अलिक छिटो हुन्थ्यो,’ उनले भनिन्, ‘सिडिओ साबलाई भारतको पनि दमकल मगाइदिन हामीले नै अनुरोध गरेका हौँ ।’

कर्मचारीले समयमा दमकल मर्मतमा ध्यान नदिँदा जनप्रतिनिधिले जनताको गाली खानुपरेको मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टीकाराम मंग्राती बताउँछन् । ‘सवारीसाधन बिग्रिनु स्वाभाविक हो । समयमा बनाउनुपर्छ । तर, कर्मचारीले कमिसन नपाएर मेरो अधिकारको कुरा भनेर काम नगर्दा दमकल समयमा बनाएर राख्न सकिएन,’ उनले भने । 

उपप्रमुख उप्रेतीले दमकल बनिसक्ने चरणमा रहेको बताए पनि दमकल बनाउन सुरु नभएको नगरपालिकाका एक कर्मचारी बताउँछन् । दमकल मर्मतका लागि दुई लाख रुपैयाँ लाग्ने लागत ‘स्टिमेट’को फाइलमा लेखा शाखाले हस्ताक्षर नगर्दा मर्मत कार्य रोकिएको ती कर्मचारी बताउँछन् ।

विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान
विद्युतीय सामग्री सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट करिब साढे नौ करोड क्षतिको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । ‘उद्योग सञ्चालकका अनुसार तयारी जुत्ता, कच्चा पदार्थ, नयाँ मेसिन र घरसहित जलेकाले साढे नौ करोड क्षति भएको प्रारम्भिक अनुमान छ,’ उनले भने । 

आगो नियन्त्रणमा लिन १२ वटा दमकललाई पाँच घन्टा
आगो नियन्त्रणबाहिर गएपछि नेपालको झापा, मोरङ, इलाम र भारतको पश्चिम बंगालका गरी १२ वटा दमकल लगाएर करिब पाँच घन्टामा मात्र आगो नियन्त्रणमा आएको थियो । आगो निभाउन भारतको पश्चिम बंगालबाट दुईवटा दमकल आएका थिए । ‘नेपालको सशस्त्र प्रहरीले उताका प्रहरीसँग सम्पर्क गरेपछि दमकल आएको हो,’ झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने । घना सहरबीचमा रहेको उद्योगमा लागेको आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना खटिएकाले आगो उद्योगभन्दा बाहिरका घरमा सल्किन पाएन ।

एक महिनाअघि भएको एक आगलागीको घटनामा नगरपालिका संवेदनशील नबन्दा मानवीय क्षति भएको थियो । नगरपालिकादेखि एक किलोमिटरको दूरीमा रहेको मेचीनगर–७ मा २१ पुसमा आगलागी हुँदा आगो निभाउने क्रममा एकजनाले ज्यान गुमाए । दर्जनबढी घाइते भए । नगरपालिकाबाट नजिकै रहेको ठाउँमा समेत एक घन्टा बित्दा मात्र दमकल आइपुगेको स्थानीयको आरोप छ । तर, नगरपालिकाले भने केही समय मात्र ढिला भएको दाबी गरेको छ । ‘त्यो वेला हामीले छानबिन पनि गर्‍यौँ । तर, स्थानीयले भनेजस्तो एक घन्टा ढिलोचाहिँ होइन । मोबाइलमा कनेक्सन गर्दा समस्या आएको रहेछ । त्यसले गर्दा केही समय ढिला भएको रहेछ,’ उपप्रमुख उपे्रतीले भनिन्, ‘यसलाई पनि हामीले अहिले सुधार गरेका छौँ ।’

ad
ad