१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
यम बम काठमाडौं
२o८१ बैशाख २४ सोमबार o९:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जाडोमा ज्यान लिँदै हिटर, गिजर र कोइला : काठमाडौंमा तीन महिनामा आठजनाले गुमाए ज्यान

Read Time : > 1 मिनेट
यम बम, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:o८:oo

जाडोबाट जोगिन प्रयोग हुने हिटर, गिजर तथा कोइला मृत्युको कारण बन्न थालेका छन् । प्रयोग गर्ने क्रममा सावधानी नअपनाउँदा त्यसबाट मृत्यु बढेपछि काठमाडौँमा प्रहरीले यससम्बन्धी सचेतनामूलक अभियान नै सुरु गरेको छ । 

पछिल्लो तीन महिनामा काठमाडौंमा मात्र यस्ता घटनामा आठजनाले ज्यान गुमाएको काठमाडौँ प्रहरीको तथ्यांक छ । ‘जाडोमा कोठा तातो बनाउने क्रममा निसास्सिएर मृत्यु हुने घटना बढेका छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले भने, ‘यस्ता घटना रोक्न यससम्बन्धी सचेतनात्मक कार्यक्रम थालेका हौँ ।’ 

प्रहरीले सोमबार अपिल जारी गरी सचेतना अपनाउन भनेको छ । जाडोमा हिटर, गिजर, कोइला प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे सचेतना थालेको हो । झ्यालढोका बन्द गरी गिजरको प्रयोग नगर्न, बन्द कोठाभित्र मकल तथा चुलोमा आगो नबाल्न, झ्यालढोका बन्द गरेर हिटरलगायत विद्युतीय साधन प्रयोग नगर्न प्रहरीले आग्रह गरेको छ । 

‘कोठामा हिटर खुला गरेर निस्किँदा पनि आगलागीका घटना भएका छन्,’ एसपी मैनालीले भने, ‘धेरैजसो मृत्युका घटना झ्यालढोका बालेर कोठाभित्र हिटर र कोइला बाल्दा भएका छन् । ग्यास सिलिन्डर कोठाबाहिर राख्न, कोठाभित्र चुलोनजिक जल्ने कुराहरू नराख्न प्रहरीको आग्रह छ । शनिबारसम्म उपत्यकामा चिसो बढ्ने भएकाले मौसम पूर्वानुमान भएकाले थप सजगता अपनाउन प्रहरीले भनेको छ । 

सात घटनामा आठजनाको मृत्यु 
गत कात्तिकयता काठमाडौंमा मात्र यस्ता घटनामा आठजनाले ज्यान गुमाएका छन् । गत १८ कात्तिकमा बुढानिलकण्ठ–१० कपनमा लक्ष्मीदेवी पौडेलले ज्यान गुमाएकी थिइन् । पूजा गर्ने क्रममा धूप बाल्दा कोठाभित्र धुवाँले निसास्सिएर उनको मृत्यु भएको थियो । कोठामा झ्यालढोका बन्द गरेर धूप बाल्दा सो घटना भएको थियो । ३ पुसमा शंखरापुर–४ बस्ने उर्मिला मगरको पनि निसास्सिएर मृत्यु भएको थियो । घरभित्र आगो ताप्ने क्रममा उनको मृत्यु भएको थियो । 

पुसमा चारवटा घटना भएका छन् । ५ पुसमा बागबजारस्थित केएमसी कलेजको होस्टेलमा नुहाउने क्रममा सुशील सहनीको मृत्यु भएको थियो । बाथरुममा भेन्टिलेटर नहुँदा निसास्सिएका उनको उपचारको क्रममा मृत्यु भएको थियो । होस्टेलले सावधानी नअपनाउँदा उनको मृत्यु भएको भन्दै विद्यार्थीले आन्दोलन नै गरेका थिए । १० पुसमा बाँसबारीमा २१ वर्षीय निमा चौधरीले ज्यान गुमाइन् । सानो कोठाभित्र कोइला बालेर सुतेकी उनी मृत अवस्थामा भेटिएकी थिइन् । १४ पुसमा हिटरबाट आगो लागेर नागार्जुृन नगरपालिका–७ मा एक वृद्धाको मृत्यु भयो । हिटरबाट कोठामा आगलागी हुँदा जलेर नानीमाया गौतमको मृत्यु भएको थियो । 

१३ माघमा शंकरापुर–३ बोजेनीमा जाडोबाट जोगिन कोइला बालेर सुत्दा एक दम्पतीले ज्यान गुमाए । ५२ को पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया श्रीमती फूलकुमारी थिङको मृत्यु भएको थियो । बेलुका खाना खाई मकलमा कोइला बाली सुतेकोमा भोलिपल्ट उनीहरू मृत अवस्थामा भेटिएका थिए । कोठामा हावा प्रवेश गर्ने ठाउँ नहुँदा त्यसरी उनीहरूले ज्यान गुमाएका थिए । 

भक्तपुरमा निसास्सिएर तीनमहिने शिशुको मृत्यु 
भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चामा तीनमहिने शिशुको निसास्सिएर मृत्यु भएको छ । मृत्यु हुने रामेछाप मन्थलीका अभिषेक रम्तेलका छोरा हुन् । प्रहरीका अनुसार गत ९ माघमा जाडो बढेपछि कराईमा आगो बालेर रम्तेलको परिवार नै सुतेका थिए । बिहान अवेलासम्म ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

ढोका फोरी कोठाभित्र छिर्दा अभिषेक र उनकी श्रीमती २८ वर्षीय पसुना तामाङ र तीन महिनाको शिशु अचेत अवस्थामा फेला परेका थिए । प्रहरीले उनीहरूलाई तुरुन्तै उपचारका लागि अस्पताल लगेको थियो । उपचारका क्रममा शिशुको मृत्यु भएको छ । भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी शिवकुमार श्रेष्ठले जाडो बढेका कारण कराईमा आगो बालेर सुतेकैले निसास्सिएर बालकको मृत्यु भएको बताए । 

ad
ad