संसद् अधिवेशन बोलाउन छाडेर सरकार अध्यादेशको बाटोमा

शनिबार, २७ पुष, २०८१
डिजिटल संस्करण

शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकबाट तीन अध्यादेश ल्याउने निर्णय, सरकारी कार्यालयमा सेवा–प्रवाह सुधारदेखि गैरआवासीय नेपालीलाई सुविधा दिनेलगायत कानुनसँग जोडिएका अध्यादेश 

संसद्को अधिवेशन आह्वानको गृहकार्य छाडेर सरकारले पुनः अध्यादेशको बाटो रोजेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक कानुन संशोधन गर्न तीन अध्यादेश ल्याउने निर्णय गरेको छ ।

एक मन्त्रीका अनुसार केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय भएको छ । अध्यादेश सरकारी कार्यालयमा सेवा–प्रवाह सुधारदेखि गैरआवासीय नेपालीलाई सुविधा दिनेलगायत कानुनसँग जोडिएका छन् । 

अध्यादेशमा कुनै पनि सरकारी कार्यालयमा सेवाग्राहीका फाइल सात दिनभित्र अनिवार्य निर्णय गर्नैपर्ने व्यवस्था गरिएको छ । सेवा–प्रवाहमा विनाकारण विलम्ब गरेको पाइएमा सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने गरी केही नेपाल कानुन संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय भएको ती मन्त्रीले बताए । 

त्यस्तै, गैरआवासीय नेपाली (एनआरएन)का सम्बन्धमा महत्वपूर्ण निर्णय भएका छन् । एनआरएनलाई नेपालमा बस्न १० वर्ष भिसा निःशुल्क गर्ने, साथै एनआरएनलाई नेपालमा कम्पनी खोलेर लगानी गर्न दिने कानुन बनाउने गरी निर्णय गरिएको ती मन्त्रीले बताए । यसमा गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न विदेशी लगानीका रूपमा अनुमति लिनु नपर्ने व्यवस्था छ ।

यस्तै, सरकारवादी मुद्दामा पीडितसँग मिलापत्र भए मात्र दण्ड–जरिवाना माफी गर्ने, कसुरजन्य सम्पत्ति र कसुरमा संलग्न साधन जफत गर्ने व्यवस्था अध्यादेशमा समेटिनेछ । फैसला कार्यान्वयनको तहमा केही सरकारवादी मुद्दामा मिलापत्र गरी पीडितलाई रकम भराउने मौका दिने र पीडितसँग मिलापत्र गरेमा दण्ड–जरिवाना माफी हुने व्यवस्था राखिएको छ । मुद्दाको पुनरावेदन गर्दा बिगो, जरिवाना पूरै धरौटी राख्न नसके थुनामा बस्नुपर्ने व्यवस्था परिवर्तन गरी सुरु धरौटीको १५ प्रतिशत मात्र धरौटी राखे पुग्ने व्यवस्था गरिएको छ । 

यसबाहेक सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै जाने, निवृत्तिभरण कोषमा शिक्षकहरूलाई समावेश गर्नेलगायत विषय अध्यादेशमार्फत आउने भएका छन् । त्यस्तै, यसअघि ५८ वर्ष रहेकोमा अवकाशको उमेर ६० वर्ष पुर्याउने अध्यादेशमा उल्लेख छ । 

नेपाली सूचना प्रविधि कम्पनी (आइटी)ले विदेशमा लगानी गर्न र विदेशी बजारसँग प्रतिस्पर्धा गरी नेपालमा आम्दानी भित्र्याउन पाउने, साथै विदेशमा शाखा कार्यालय खोल्न पाउने व्यवस्था समावेश गरिएको छ । 

त्यस्तै, तीन करोडसम्मको राजस्व विवाद राजस्व अनुसन्धान विभागले नै निर्णय गर्न सक्नेछ । राजस्व चुहावट मुद्दामा बिगो भराउन फैसला कुर्न नपर्ने तथा जरिवाना र बिगो तिरेमा मिलापत्र गर्न सकिने व्यवस्था राखिएको छ । अध्यादेशमा कम्पनी दर्ता र बन्द गर्न झन्झट अन्त्य गर्न आवश्यक विषय समावेश गरिएको ती मन्त्रीले बताए । 

प्रधानमन्त्री केपी ओलीले शुक्रबार दिँउसो राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर सरकारले अध्यादेश ल्याउन थालेको विषयमा जानकारी गराएका थिए । अध्यादेशलाई राष्ट्रपतिले प्रमाणित गर्नुपर्ने भएकाले प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग परामर्श गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीसँगै कानुनमन्त्री अजय चौरसिया र मुख्यसचिव एकनारायण अर्यालसमेत राष्ट्रपति भवन शीतलनिवासमा पुगेका थिए । राष्ट्रपति कार्यालयले भने भेटका क्रममा समसामयिक विषयमा छलफल भएको जनाएको छ ।
 

सुझावित समाचार