
जेन–जीका अगुवा एवं ‘हामी नेपाल’का अभियन्ता सुदन गुरुङ सेना र राष्ट्रपतिसँग भएका वार्तामा सुरुदेखि नै अप्रत्यक्ष र प्रत्यक्ष संलग्न थिए । शुक्रबार (२७ भदौ) दिनभर राष्ट्रपति कार्यालयमा बिताएका उनले त्यहाँ संसद् विघटनका लागि लड्नुपरेको बताएका छन् ।
‘हामीले संसद् विघटनका लागि एकदमै फाइट गरेको हो । हाम्रो प्रधानमन्त्री, ओमप्रकाश अर्याल र आर्मी चिफसाबले पनि एकदम साथ दिनुभयो । अन्तत: गरेरै छोड्यौँ,’ उनले भने । गुरुङले संसद् विघटन गराउन आफू राष्ट्रपति कार्यालयमा पानीसमेत नखाएर अनशनमै बसेको बताए । ‘संसद् विघटन नभएसम्म केही खान्न भनेर बसेँ,’ उनले सुनाए ।
राष्ट्रपतिले दलहरूसँग बसेर छलफल गर भनेर सुशीला कार्की र आफूहरूलाई पटक–पटक भनेको गुरुङले बताए । ‘उहाँले दलहरूसँग बसेर वार्ता गर, संसद्बाटै ल्याउनुपर्छ भन्नुभयो,’ उनले भने, ‘हामी लडेर आएको हो । तपाईं को हो र हामीलाई अर्डर दिने ? हामीले धरातल टेक्नुपर्छ, तपाईंले कुन तरिकाले देश चलाउन खोजेको हो भनेर प्रश्न गर्यौँ ।’
राष्ट्रपतिले दलहरूसँग कुरा गर्न र संसद्बाट प्रधानमन्त्री ल्याउनुपर्छ भनेपछि युवाहरू थप आक्रोशित भएको उनले सुनाए । ‘संसद् विघटन भएन भने नयाँ रिभोलुसन हुन्छ, भ्रष्ट नेताभन्दा आर्मीबाट गोली खान तयार छौँ, त्यसपछि कसरी हुँदैन रिभोलुसन भन्यौँ,’ उनले भने ।
संसद् विघटनका लागि राष्ट्रपतिलाई राजी गराउन प्रधानसेनापतिको पनि ठुलो भूमिका रहेको गुरुङले बताए । ‘आर्मीको चिफसाबको रोल ठुलो थियो । उहाँहरूले गरेर खाउ भनेर युवाहरूलाई देश सुम्पेको छ । आर्मीको सपोर्टविना केही पनि हुने थिएन । युवाहरूलाई सपोर्ट गरेको छ,’ उनले भने ।
राष्ट्रपतिलाई केपी ओली, शेरबहादुर देउवा, प्रचण्डदेखि अन्तर्राष्ट्रियस्तरबाट समेत दबाब आएको सुनेको भन्दै नेताहरूको दबाबमा आफूहरूको माग सम्बोधन नगरिए ठिक नहुने भनेको गुरुङको भनाइ छ । ‘ओली, देउवा र प्रचण्डको दबाबमा तपाईं टेक्नुभयो भने राम्रो हुँदैन, उनीहरूको कुशासनको घर ध्वस्त भयो, पत्तासाफ भयो, उनीहरू अब आमनागरिक हो, उनीहरूको कुरा सुन्ने होइन भनेर राष्ट्रपतिलाई दबाब दिएको हो,’ उनले भने ।
गुरुङले अझै पनि प्रतिनिधिसभा विघटन लागू हुन नदिन षड्यन्त्र भइरहेको भन्दै फेरि युवाहरूलाई सडकमा आउन बाध्य नपार्न चेतावनी दिए । ‘नेताहरूको ज्यान जोगाएर छाडेका छौँ, संसद् विघटन उल्ट्याउन कोही लाग्यो भने, कसैले बाधा गर्यो भने धुलोपिठो बनाउन तयार छौँ,’ उनले चेतावनी दिए, ‘तिनीहरूसँग हतियार होला, हामीसँग बन्दुक नभए पनि खुकुरी छ । मेरो देशप्रति कसैले नराम्रो गर्छ भने जेन–जीले सिध्याउँछ ।’
नेताहरूले लुकाएर राखेको करोडौँ पैसा जनताले निकालेको भन्दै गुरुङले स्विस बैंकमा राखेको पैसा नेपाल ल्याएर सिंहदरबार पुनर्निर्माण गर्ने दाबी गरे । ‘नेताहरूले फाइल मेटाउन सर्वोच्च जलाए, सिंहदरबार जलाए,’ उनले भने, ‘भ्रष्टाचारविरुद्धको लडाइँ बाँकी नै छ ।’