
'मिडिया मुगल’ रुपर्ट मर्डोकले आफ्नो विश्वव्यापी मिडिया साम्राज्य ‘न्युज कर्पोरेसन’ को आफ्ना उत्तराधिकारी चयन गरेका छन् । उनको निर्णय आफ्ना मिडिया आउटलेटहरू (विशेषत: ‘फक्स न्युज’) उग्र दक्षिणपन्थी विचारप्रति प्रतिबद्ध रहिरहोस् भन्ने चाहनाबाट प्रेरित देखिन्छ । ‘न्युज कर्प’का प्रमुख ९४ वर्षीय मर्डोकले आफ्नो अवसानपछि पनि कम्पनी आफूले विकास गरेको छविमा कायम रहोस् भन्ने सुनिश्चित गर्न खोजेका हुन् । तर, यसले सार्वजनिक हितको पत्रकारिताप्रति चासो राख्ने हरेकलाई निराश बनाएको छ ।
मर्डोकले आफ्ना उदार ठानिएका तीन सन्तान प्रुडेन्स, एलिजाबेथ र जेम्सलाई पन्छाएर आफूजस्तै रुढिवादी विचारका जेठा छोरा लकलनलाई कम्पनी सञ्चालनको सर्वाधिकार दिएका छन् । सन् २०२३ मा रुपर्टको राजीनामापछि लकलनले ‘न्युज कर्पोरेसन’ र ‘फक्स कर्पोरेसन’को नेतृत्व गरिरहेका छन् । ‘द न्युयोर्क टाइम्स’का अनुसार बाँकी तीन भाइबहिनीले कम्पनीका सबै सेयरका लागि प्रत्येकलाई १.१ बिलियन अमेरिकी डलर दिएर बिदाइ गरिनेछ । पछिल्लो व्यवस्थाले तीन भाइबहिनीले आफ्ना पिता र दाइसँग चलाइरहेको लामो संघर्ष अन्त्य गरेको छ । रुपर्टकी पूर्वश्रीमती अन्ना (जोसँग उनी सबैभन्दा लामो समय ३२ वर्ष रहेका थिए)ले सम्बन्धको अन्त्यतिर एक सम्झौता गराएकी थिइन् । आफ्ना पतिले कम्पनीको उत्तराधिकारी छनोटका लागि आफ्नै छोराछोरीलाई एक–अर्काविरुद्ध खडा गरेकोबाट वाक्क बनेकी अन्नाले सम्झौता गराएकी थिइन् । जसअनुसार रुपर्टका पहिला दुई श्रीमतीबाट जन्मिएका चार सन्तानलाई पारिवारिक ट्रस्टमा भोट अधिकार दिइएको थियो । ट्रस्टमा रुपर्टलाई चार सन्तानको कुल भोटभन्दा बढी भोट अधिकार दिइएको थियो । सबै छोराछोरी मिलेर उनलाई पन्छाउन नसकून् भन्ने सुनिश्चितता गर्न यस्तो प्रावधान गरिएको थियो ।
तर, दुई वर्षअघि रुपर्टले लकलनलाई आफ्नो उत्तराधिकारी बनाउँदा बाँकी सबैलाई पाखा लगाउन सुरु गरे । रुपर्टको मृत्यु हुँदा उनीसँग रहेको मताधिकार उनीसँगै निस्तेज हुने अवस्थामा बाँकी तीन भाइबहिनीले मिलेर लकलनलाई प्रमुख कार्यकारी पदबाट हटाउन सक्ने अनुमान भइरहेको थियो । त्यसपछि कम्पनीमाथि लकलनको सट्टा तीन सन्तानको नियन्त्रण हुन सक्थ्यो । यसले कम्पनीको सम्पादकीय रंग आफूले नचाहेको दिशाभन्दा बदलिन सक्ने रुपर्टको डर थियो, विशेषगरी फक्स न्युजमा । त्यसैलाई रोक्न पछिल्लो परिवर्तन गरिएको हो । अहिले पारिवारिक ट्रस्टको आयु सन् २०३० देखि २०५० सम्म बढाइएको छ । त्यसमा मर्डोककी तेस्री श्रीमती वेन्डी डेङबाट जन्मिएका छोरीहरू ग्रेस र क्लोइमा समावेश गरिएका छन् । यसले ट्रस्ट विस्तार हुनुका साथै लकलनको सेयरलाई कमजोर बनाउने गरी तिनले गुट बनाउन नपाउने गरिएको छ । सम्झौतामा लकलन, ग्रेस र क्लोईको स्वामित्वमा रहेको ‘होल्ड–को’ नामक नयाँ कम्पनीले पहिले मर्डोक परिवार ट्रस्टअन्तर्गतका न्युज कर्प र फक्स कर्पोरेसनका बाँकी सेयरको स्वामित्व लिनेछ । कोही लाभार्थी बाहिरिन चाह्यो भने उसले न्युज कर्प र फक्समा रहेको आफ्नो व्यक्तिगत होल्डिङ बेच्नुपर्ने हुन्छ । एकपटक बेचिएको हेयरहोल्डिङ आफू वा नजिकका साझेदारबाट पुन: खरिद गर्न नपाउने पनि सम्झौतामा उल्लेख छ । सन् २०१९ मा मात्रै ‘न्युज कर्पोरेसन’ले डिज्नीलाई आफ्नो मनोरञ्जन शाखा बिक्री गरेर ७१ अर्ब अमेरिकी डलर कमाएको थियो । त्यसपछि, रुपर्टले आफ्ना प्रत्येक सन्तानलाई दुई अर्ब अमेरिकी डलर बाँडेका थिए । पछिल्लो सम्झौताअनुरूप बाहिरिने तीन सन्तान थप धनी बन्नेछन् ।
न्युज कर्पले ८ सेप्टेम्बरमा एक प्रेस विज्ञप्ति जारी गर्दै ‘मर्डोक परिवार ट्रस्ट मुद्दाको समाधान भएको’ बताएको थियो । पछिल्लो सम्झौताको निर्णयलाई आंशिक रूपमा रेनो (नेभाडा राज्य)मा रहेको ‘प्रोबेट कोर्ट’को विकासक्रमले प्रेरित गरेको हुन सक्छ । यसले गत वर्ष प्रुडेन्स, एलिजाबेथ र जेम्सका पक्षमा फैसला सुनाएको थियो । तर, पछि पुनरावेदनका न्यायाधीशले लाइन जोन्सले रुपर्ट र नकलनको पक्ष लिँदै ‘आफ्नो परिवार र सन्तानको सबलता र कमजोरी रुपर्ट मर्डोकलाई भन्दा बढी अरू कसलाई थाहा हुन्छ ?’ भनेका थिए ।
पुनरावेदन न्यायाधीशको निर्णयले तीन सन्तानको बार्गेनिङ क्षमता कमजोर बनाएको हुन सक्छ । त्यसपछि नै उनीहरू कुनै प्रकारको सम्झौता स्विकार्न बाध्य भएको अनुमान छ । जेम्सले फेब्रुअरीमा ‘द एट्लान्टिक’लाई दिएको अन्तर्वार्ता उनी र बाँकी भाइबहिनीलाई प्रत्युत्पादक साबित भयो । अन्तर्वार्तामा उनले आफ्ना पिताको उग्र आलोचना गर्दै ‘प्रोबेट’ सुनुवाइका भित्री सूचना खुलाइदिए । त्यसलाई रुपर्ट र लकलनले आफ्नो पक्षलाई सबल बनाउन प्रयोग गरे । तिनका वकिलले जेम्सलाई सजाय दिनुपर्ने बताए । र, रेनो अदालतले सोही मागअनुरूप निर्णय गरिदियो । जेम्सले अन्तर्वार्तामा भनेका कुराले अन्तत: रुपर्ट र लकलनलाई आफ्नो मिडिया साम्राज्य सञ्चालन आफूले चाहेअनुरूप अघि बढाउन सक्ने सुनिश्चित गर्यो ।
अब मर्डोक परिवारको मातहतमा रहेका मिडिया अहिले जसरी चलिरहेका छन्, त्यसरी नै अघि बढ्नेछन् । यसले आमसरोकारका मुद्दा तोडमोड गर्न सक्छ । अर्थात्, अहिले जसरी फक्स न्युज र न्युज कोर्पका अन्य प्रकाशनले जलवायु परिवर्तनविरुद्ध तत्काल कदम उठाउनुपर्ने मुद्दा नभएको भनिरहेको छ । भविष्यमा त्यसै गर्नेछ । त्यस्तै समाजलाई महत्व राख्ने मुद्दा अहिलेजस्तै थप विकृत बनाउने प्रवृत्ति जारी रहनेछ । ट्रम्प प्रशासनबाट लोकतन्त्रमाथि भइरहेको आक्रमणको समर्थन भइरहनेछ । तर, कम्तीमा अहिले एउटा कुरा भने प्रस्ट भएको छ, पहिले नै अर्बपति रहेका मर्डोकका तीन सन्तानलाई थप अर्ब डलर र एक वैश्विक मिडियालाई बदल्ने विकल्प दिँदा तिनले पहिलो चुन्ने रहेछन् ।
(डोड युनिभर्सिटी अफ मेलबर्नका पत्रकारिताका प्राध्यापक हुन् भने रिकेट्सन डिकिन युनिभर्सिटीका सञ्चार प्रध्यापक हुन्)
द कन्भर्सेसनबाट