![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/deuba-modi2022-02-03-07-32-37.jpeg)
कोरोना महामारीका कारण रोकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका लागि पुनः नेपाल र भारतका कूटनीतिक च्यानलबीच गृहकार्य सुरु भएको छ । भारतको राजधानी नयाँदिल्लीमा कोरोनाको अवस्था सामान्य भएपछि प्रधानमन्त्री देउवाले औपचारिक भ्रमण गर्ने गरी गृहकार्य थालिएको हो । यसअघि देउवाको औपचारिक भ्रमण २५ देखि २७ पुससम्म गुजरातमा हुने तय थियो, तर कोरोनाका कारण अन्तिम समयमा स्थगित भएको थियो ।
एक महिनापछि ओमिक्रोन तथा कोरोनाको अवस्था सामान्य भएमा प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनेछ । ‘नेपाल र भारतका कूटनीतिक अधिकारीहरूबीच प्रधानमन्त्रीको आसन्न भ्रमणबारे छलफल भइरहेको छ,’ प्रधानमन्त्रीनिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘प्रधानमन्त्रीको भारत भ्रमणका लागि भारतको कूटनीतिक च्यानलसँग हाम्रो परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावास निरन्तर सम्पर्कमा छन् । दिल्लीमा कोरोनाको अवस्था अलिकति सामान्य भएपछि उहाँको भ्रमण हुन्छ ।’
प्रधानमन्त्री देउवाले भारत सरकार तथा भारतीय जनता पार्टीको नेतृत्वसँग छलफल गर्न चाहेका छन् । त्यसका लागि भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमण र कांग्रेस नेता डा. प्रकाशशरण महतको भारत भ्रमणले वातावरण निर्माण गरेको दुवै पक्षको बुझाइ छ । प्रधानमन्त्री देउवाका तर्फबाट ब्याक च्यानलमार्फत पनि भारतीय नेतृत्वसँग संवाद भइरहेको छ । जानकार कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘प्रधानमन्त्रीको पनि भारत भ्रमण गर्ने इच्छा छ, भारतको पनि उहाँलाई स्वागत गर्ने इच्छा छ । भारतसँग पञ्चेश्वर परियोजनाको डिपिआर, ऊर्जा, व्यापारलगायतका महत्वपूर्ण विषयहरू आफ्नो यही कार्यकालमा टुंग्याउन प्रधानमन्त्री इच्छुक र प्रयासरत हुनुहुन्छ ।’ स्रोतका अनुसार प्रधानमन्त्री देउवाकै मार्गदर्शनअनुसार भारत र बंगलादेशमा ऊर्जा व्यापारका विषयमा ऊर्जामन्त्री पम्फा भुसालले सरोकारवाला नेपाली र भारतीय पक्षसँग छलफल गरिरहेकी छन् ।
यसअघि के थियो, अब कस्तो तयारी ?
प्रधानमन्त्री देउवाको भारत भ्रमण नरोकिएको भए २६ पुसमा दुई देशबीच मल खरिद, महाकाली नदीमा दार्चुलामा पुल निर्माण, त्रिभुवन विश्वविद्यालयमा पुस्तकालय निर्माण, भारतले देशभरि एक सय ३७ स्वास्थ्य चौकी निर्माण गरिदिने, जनकपुर–जयनगर रेलवे सेवा सुरु गर्नेलगायतका सम्झौतापत्रमा हस्ताक्षर हुने थियो । महाकाली नदीमा भारतीय अनुदानमा पुल निर्माणसम्बन्धी सम्झौतापत्रमा भने मंगलबार नेपाल र भारतका अधिकारीबीच हस्ताक्षर भइसकेको छ । ‘प्रधानमन्त्रीको भ्रमण भइदिएको भए मल खरिद सम्झौता भइसक्थ्यो र नेपालमा मल ल्याउने प्रक्रिया अघि बढिसक्थ्यो,’ कृषि मन्त्रालयका एक अधिकारीले भने, ‘मल ल्याउन ढिला गर्नु हुँदैन भन्ने छ । साता–दश दिनभित्र भर्चुअल माध्यमबाटै भए पनि समझदारीपत्रमा हस्ताक्षर गर्ने गृहकार्य गर्दै छौँ ।’ मल खरिदलाई नेपालले उच्च प्राथमिकतामा राखेको छ । भारतले भक्तपुरमा एक मठ बनाइदिने सहमति पनि प्रधानमन्त्रीको भ्रमणको गृहकार्यका क्रममा भएको थियो ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा जहाज अवतरण गर्न भारतबाट एयर इन्ट्री रुटका लागि स्वीकृति माग्ने तयारी गरेको थियो । अब पनि एजेन्डामा यो विषय छ । ‘काठमाडौंका लागि जहाज आउन अहिले भारतले एउटा मात्रै एयर इन्ट्री रुट दिएको छ, भैरहवामा अन्तर्राष्ट्रिय उडानका लागि हामीलाई थप एयर इन्ट्री रुट चाहिन्छ । त्यसका लागि हामी भारतलाई आग्रह गर्नेवाला छौँ,’ जानकार अधिकारीले भने, ‘यो विषय उच्च राजनीतिक तहबाट उठाउनुपर्छ, अन्य तहमा विगतमा छलफल भए पनि सहमति हुन सकेको छैन ।’ कूटनीतिक अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको तहमा सहमति भएपछि मात्रै एयर इन्ट्री रुटका विषयमा थप वार्ता अघि बढ्नेछ ।
भारत सरकाले हिउँदयाम सकिएपछि नेपाललाई बढी हुने विद्युत् (सरप्लस इनर्जी) खरिद गर्ने घोषणा गरोस् भन्ने नेपालको चाहना छ । ‘गुजरातमा भ्रमण भइदिएको भए प्रधानमन्त्रीको स्तरबाट यो विषय राख्ने तयारी गरिएको थियो, अब हुने भ्रमणमा पनि यसबारे छलफल हुन्छ । भारतले नेपालको थप ऊर्जा खरिद गरिदिए नेपालको व्यापार घाटा घटाउन पनि ठूलो सहयोग हुन्छ, यसमा भारत सरकारको सकारात्मक रेस्पोन्स हुन्छ भन्ने विश्वास छ,’ कूटनीतिक स्रोतले भन्यो ।
प्रधानमन्त्री देउवाले आगामी भ्रमणमा नेपालको ल्याबबाट गुणस्तर प्रमाणित भएका नेपाली अदुवा, अलैँचीलगायतका उत्पादन भारतीय बजारमा प्रवेश सहज रूपमा दिन पनि आग्रह गर्ने गरी गृहकार्य भइरहेको छ । प्रधानमन्त्री देउवाको अबको जोड पञ्चेश्वरको डिपिआरमा सहमति जुटाउने हुनेछ । ७ देखि ११ भदौ ०७४ मा भारतको राजकीय भ्रमण गर्ने क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर टुंग्याउन प्रयास गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीसँग भएको द्विपक्षीय वार्तामा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर एक महिनाभित्र टुंग्याउन सम्बन्धित अधिकारीलाई निर्देशन दिएका थिए । तर, तल्लो शारदामा जाने पानीको मूल्यांकन गर्न भारत तयार नहुँदा डिपिआर टुंगिएको छैन ।
तत्कालीन ऊर्जासचिव दिनेश घिमिरे र परराष्ट्र मन्त्रालयको भारत हेर्ने महाशाखाका तत्कालीन प्रमुख यज्ञबहादुर हमालले भारतीय अधिकारीसँग पञ्चेश्वरबारे पछिल्लोपटक विस्तृत वार्ता गरेका थिए । ‘लोअर शारदामा जाने पानीको विषयमा भारत सरकार नेपालको सरोकार सम्बोधन गर्न तयार हुनेबित्तिकै पञ्चेश्वरको डिपिआर टुंगिन्छ, यसका लागि राजनीतिक नेतृत्वको तहबाट सहमति हुनुपर्छ,’ हमालले नयाँ पत्रिकासँग भने ।
प्रधानमन्त्री भएपछि भारतसँग संवाद शृंखला