कोरोनाको पहिलो चरणमा आफ्नो बुबा गुमाएका छिरिङ शेर्पालाई वृद्ध आमा र भाइको जिम्मेवारी थपिएपछि रोजगारीका लागि काठमाडौंमा भौँतारिए । यही क्रममा उनको आफ्नै फुपाजू आयुज बम्जनसँग भेट भयो । फुपाजूले दुबईमा सुरक्षागार्डमा ५० हजारभन्दा बढी पारिश्रमिक पाइने लोभ देखाएर फिस्टेल म्यानपावरका सञ्चालक तुलसा अधिकारी र रेशम लामिछानेसँग भेट गराए ।
दुबई जान उनले म्यानपावरलाई तीन लाख ३० हजार रुपैयाँ बुझाए । दुबई पुगेपछि स्थानीय एजेन्ट नारायण घिमिरेलाई आफ्नो साथमा लगेको डलर बुझाएपछि उनलाई भाडामा लिएको फ्ल्याटमा राखे । शेर्पा दुबई पुगेको पनि चार महिना बितिसकेको छ, तर जागिर पाएका छैनन् । सो फ्ल्याटमा उनीसहित अन्य २२ जना पनि छन् । ‘कोही दुई महिनादेखि बसेका छन् । कोही चार महिनादेखि बसेका छन् । सबैको बिजोग छ’ उनले भने ।
शेर्पा नेपाल फर्कन चाहन्छन् । उनले म्यानपावर कम्पनीलाई पनि भनिसके, तर अहिलेसम्म कम्पनीले चासो नदेखाएको उनले पीडा सुनाए । पोखरा बेगनासताल स्याङखोलाका सुरेश बास्तोला र सन्देश बास्तोला पनि दुबई पुगेको चार महिना भयो । दलालले काम दिलाउन नसक्दा दाजुभाइ अलपत्र परेका छन् । अहिले उनीहरूले कास्की आदर्श सेवाको आश्रय लिइरहेका छन् ।
बास्तोला दाजुभाइलाई पनि आफ्नै गाउँका साथीहरूले फसाएका हुन् । सुरेश बास्तोलाका अनुसार आफ्नै गाउँका दुबई बस्ने दिनेश बास्तोला र सुजन कँडेलले उनीहरूलाई दुबई बोलाएका थिए । राम्रो काम र मासिक ५० हजार रुपैयाँ पारिश्रमिक पाइने लोभमा दिनेश र सुजनले भनेअनुसार उनीहरू दुबई पुगे । दुबईमा दलाल स्याङ्जाका रमेश सुनारलाई दुवैजनाले दुई लाख २० हजार रुपैयाँ बुझाए । दलालले उनीहरूलाई दुई महिनाजति फुड प्याकिङमा काम पनि लगाए । ‘तर, दुई महिनाकै पैसा पाएनाैँ’ उनीहरूले गुनासो गरे । दिनेश र सुजन पनि भिजिट भिसामार्फत नै दुबई गएका हुन् । ‘उनीहलाई लैजाने दलालले नै ३३ हजार कमिसन दिन्छु भन्दै केटाहरू खोज भनेको रहेछ,’ उनीहरूले बताए । अहिले उनीहरूको भिसाको अवधि सकिएको पनि एक महिना भएर ओभरस्टेको जरिवानामा परेका छन् । तर, तीनैजना दलालहरू सम्पर्क नआएपछि उनीहरू अहिले समस्यामा छन् ।
युएई जान दिल्लीमै अड्किएकी मोरङ कि तारा निरौलालाई भिजिट भिसामा दुबई जाँदा ठगिने थाहा नभएको होइन । तर, नेपालमा भनेजस्तो रोजगारी नपाएपछि बिदेसिनुको विकल्प नभएको उनले गुनासो सुनाइन् । आफू र आफ्नो छोरीको जीविकोपार्जनका लागि तेस्रो माध्यमबाट चिनेको गोरगेन लामालाई दुई लाख २० हजार दिएर दिल्लीबाट भिजिट भिसामा दुबई जान घरबाट हिँडेकी हुन् । हुन त उनले काठमाडौंबाट नै दुबई उडाइदिन भनेकी थिइन् । ‘लामाले काठमाडौंबाट अहिले उडान गाह्रो छ । कमिसन खुवाउँदा तीन लाख ५० हजारसम्म लाग्छ भन्यो,’ उनले भनिन् । दिल्लीबाट भने सस्तो हुने भएपछि त्यहाँ पुगेको ४८ दिन भइसकेको छ । लामाले चेन्नई हुँदै दुबई जाने भनेपछि निरौलाले आनाकानी गरिन् । त्यसपछि भने लामाले उनलाई आफ्नो दाजु पर्नेको कोठामा छोडेर भागेको निरालौले बताइन् । निरौला तीन महिनाको भिजिट भिसामा दुबई हिँडेकी हुन् । ‘३६ प्रतिशत ब्याजमा ऋण लिएकी दुई महिनामा ब्याज नै नौ हजार भइसक्यो,’ उनले पीडा सुनाइन् ।
कार्यान्वयन भएन श्रम सम्झौता
नेपाल र युएई सरकारबीच २०१९ मा भएको श्रम सम्झौताअनुसार श्रमिक माग गर्ने रोजगारदाता कम्पनीले नेपालको म्यानपावर कम्पनी वा युएईमा नै खुलेको कन्सल्टेन्सीमार्फत श्रमिक भर्ना गर्न पाउने व्यवस्था गरेको छ । युएईमा खुलेको कन्सल्टेन्सी वा म्यानपावर कम्पनीले सीधै श्रमिक भर्ना गर्न पाउँदैनन । उनीहरूले पनि नेपालको म्यानपावर कम्पनीमार्फत रोजगारदातालाई श्रमिक उपलब्ध गराउनुपर्छ ।
ऐनअनुसार नेपालबाट श्रमिक लैजाँदा युएईस्थित रोजगारदाता कम्पनीले आबुधाबीस्थित नेपाली दूतावासमार्फत मागपत्र प्रमाणीकरण गर्नुपर्छ । प्रमाणित मागपत्र हेरेर वैदेशिक रोजगार विभागले श्रमिक भर्नाका लागि अन्तर्वार्ता लिन म्यानपावरलाई पूर्वस्वीकृति जारी गर्छ । म्यानपावर कम्पनीले विज्ञापन प्रकाशन गरी श्रमिक छनोट गर्छ । छनोट भएका श्रमिकको नाममा रोजगारदाताले भिसा जारी गर्छ । त्यही आधारमा भिसा, करारपत्र र तलब, सेवा–सुविधा भएपछि मात्रै विभागले युएई उड्न अन्तिम श्रम स्वीकृति दिन्छ ।
युएई उड्नुपूर्व श्रमिकले बिमा र कल्याणकारी कोषमा रकम बुझाउनुपर्छ । श्रम सम्झौताअनुसार शून्य लागतमा श्रमिक रोजगारीका लागि दुबई जान पाउँछन् । अर्थात् रोजगारदाता कम्पनीले नै श्रमिकको सबै खर्च व्यहोर्नुपर्ने हुन्छ । तर, लगानीविना नै श्रमिक पाइने भएपछि रोजगारदाताले सम्झौताको बेवास्ता गर्दै कामदार भर्ना गरिरहेका छन् । भिजिट भिसामा युएई पुगेर अलपत्र परेकाहरूको दैनिक १० देखि १२ वटा निवेदन आउने गरेको गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष निराजन सिल्वालले बताए ।
महामारीमा सक्रिय मानव तस्कर
कोरोना महामारीकै फाइदा उठाउँदै मानव तस्करहरू सक्रिय हुन थालेको भेटिएका छन् । आकर्षक रोजगारीको प्रलोभन देखाई मानव तस्करहरूले भिजिट भिसामार्फत सयौँका संख्यामा युवाहरूलाई युएई (संयुक्त अरब इमिरेट्स) पु¥याएर अलपत्र पारेका छन् । युएई पु¥याइएका युवाहरूले महिनौँ दिनसम्म रोजगारी नपाउने, भिसाको अवधि सकिएर ओभरस्टेको जरिवाना तिनुपर्ने, दलाल फरार हुने र रोजगारदाताबाट नै अमानवीय व्यहार भोग्नुपर्ने समस्या व्यहोर्नुपरेको छ ।
नेपाल सरकार र युएई सरकारबीच भएको श्रम सम्झौताअनुसार श्रम स्वीकृति लिएर जाने कामदारलाई मात्रै रोजगारदाताले रोजगारीमा भर्ना गर्न सक्छ । तर, सम्झौताविपरीत युएईका रोजगारदाताले भिजिट भिसामा गएका कामदार भर्ना गरिरहेका छन् । यता नेपाल सरकारसँग पनि तस्करहरूकोे खोजी गरी कारबाही गर्ने रणनीति नहुँदा सयौँ युवा मानव तस्करको जालोमा परेका हुन् ।
गत वर्ष भिजिट भिसामा नेपालबाट ७९ हजार १६० नेपाली युएई पुगेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२१ (जनवरीदेखि डिसेम्बर)मा सात हजार ६६ जना आफन्त र ट्राभल एजेन्सीमार्फत (रियल टुरिस्ट) भिसामा युएई पुगे भने ७२ हजार ९४ जना काम खोज्नका लागि सेटिङमार्फत भिजिट भिसामा युएई पगेकोे विभागको तथ्यांकमा उल्लेख छ । कोभिडअगाडि सन् २०१९ मा दुई लाख नेपाली भिजिट भिसामा युएई गएको देखिन्छ ।