प्रदेशहरूले ससाना मेला–महोत्सवलाई सघाउनुभन्दा प्रदेशस्तरीय ठूला ट्राभल मार्टहरूको आयोजनामा सहयोग र सहकार्य गर्नुपर्छ
नेपाल भ्रमण वर्ष १९९८ को सफल आयोजना र स्थानीय रूपमा भएका क्रियाकलापले स्थानीय वस्तुको व्यापार र नयाँ–नयाँ गन्तव्यको प्रचारप्रसारमा मद्दत पुर्यायो । एउटा कुनै गन्तव्यले महोत्सव गरेपछि अरूले त्यसको अनुसरण गर्दा देशभरि नै पर्यटन, कृषि र उद्योगका मेला, महोत्सव हुन थाले । नेपाल पर्यटन बोर्डले पनि यस्तो प्रचारप्रसारमा व्यापक सहयोग गर्ने नीति बनाई सन् २००० देखि लगातार सन् २०१९ सम्म देशका प्रमुख गन्तव्य भएका जिल्लामा हुने स्थानीय मेला महोत्सवलाई प्रवद्र्धनात्मक सहयोग गर्दा त्यसको परिणाम निकै सकारात्मक पनि देखियो ।
मेला महोत्सवको यस यात्रामा नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, स्थानीय उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, नेपाल हस्तकला संघ, साना तथा घरेलु व्यवसायी संघ आदिले पनि महत्वपूर्ण योगदान दिँदै आएका छन् । उद्योग वाणिज्य संघको अगुवाइमा भएका चितवन महोत्सव, बुटवल महोत्सव, विराट् महोत्सव, सुदूरपश्चिम महोत्सव आदिको सुरुवाती दिनदेखि नै बोर्डले पनि सहयोग र सहकार्य गर्दै आएको छ । पर्यटन क्षेत्रमा विशेष महोत्सवका रूपमा पोखराको सडक खाना महोत्सव, चितवन, सौराहा तथा रत्ननगर महोत्सव, जोमसोम महोत्सव, मनाङ महोत्सव २००४, रारा महोत्सव २०५८–६०, बुटवल महोत्सव, विराट् महोत्सव, पाथीभरा महोत्सव, सुदूरपश्चिम पर्यटन तथा उद्योग महोत्सव आदि उल्लेख्य छन् ।
नेपालको पहिलो होमस्टे स्याङ्जाको सिरुबारीमा सन् २००१ को मे महिनामा ‘पाटा गोल्ड अवार्ड’ स्थानीय बासिन्दालाई हस्तान्तरण गर्ने र घलेगाउँका स्थानीयलाई होमस्टेसम्बन्धी परिचयात्मक भ्रमण गराउने कार्यक्रमले पनि सो क्षेत्रको पर्यटन विकासमा थप टेवा पुर्याएको देखिन्छ । परिचयात्मक भ्रमण कार्यक्रमपछिको डेढ वर्षमा ‘घलेगाउँ महोत्सव २०६०’ मा सहकार्य गरी विधिवत् तवरले नेपालको दोस्रो होमस्टे घलेगाउँको व्यापक प्रचारप्रसार तथा तालिमका साथै होमस्टे पर्यटन सुरु भएको थियो । कालान्तरमा सार्क मोडेल होमस्टेको उपाधि पनि पाएको घलेगाउँ उत्कृष्ट घरवास गन्तव्यसमेत बन्न पुगेको छ ।
त्यस्तै, जोमसोम महोत्सव, मनाङ महोत्सवजस्ता कार्यक्रममा पनि बोर्डले आन्तरिक एवं विश्वव्यापी प्रचारप्रसारमा सहयात्रा गरेको प्रसंग स्मरणीय छ । यस्ता महोत्सवले मुस्ताङ र मनाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित गराउन विशेष भूमिका खेलेको पाइन्छ । प्रथम रारा महोत्सवको पनि विशेष कथा छ । सन् २००१ को जुन ६ मा महोत्सव आयोजना गर्ने तयारी भइसकेको थियो । तर, महोत्सवका मुख्य अतिथि तत्कालीन राजा वीरेन्द्रको १ जुनमा भएको हत्याका कारण महोत्सव रोकियो । पछि २०६० सालमा रारा महोत्सव भव्य रूपमा सम्पन्न भयो । आजको रारा पर्यटकीय गन्तव्यका रूपमा स्थापित भई त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्नुमा रारा महोत्सवको विशेष योगदान रहेको तथ्य भुल्न सकिन्न ।
पर्यटन बोर्ड तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको प्रारम्भदेखिकै सहयात्री रहेको छ । बोर्डले नै केही वर्षपछि नाम्चे बजार महोत्सवको सुरुवात गरेको हो । प्रत्येक २९ मेमा नाम्चे बजारमा यो महोत्सवले निरन्तरता पाउँदै आएको छ । एभरेस्ट म्याराथनका कारण अन्तर्राष्ट्रिय बजारमा नेपालको उच्च पर्वतीय क्षेत्रको प्रचारप्रसार तथा नेपालको एडभेन्चर टुरिजमलाई स्थापित गर्न सहज भएको छ ।
त्यस्ता अनेकौँ स्थानीय मेला महोत्सवको आयोजनाले देशका नयाँ तथा पुराना गन्तव्यबारे थप प्रचारप्रसार हुने र आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बढ्ने गरेको देखिन्छ । देशका प्रमुख आर्थिक कारोबार गर्ने सहर, पर्यटकीय गन्तव्य, होमस्टे सञ्चालित गाउँहरू, सांस्कृतिक तथा पुरातात्विक धरोहर र जैविक तथा प्राकृतिक गन्तव्यमा विभिन्न पर्यटकीय क्रियाकलापसँगै अनेकौँ स्थानीय मेला महोत्सव समय–समयमा आयोजना गर्दा स्थानीय संस्कृति, परम्परा तथा उत्पादनको प्रवद्र्धनमा समेत ठूलो सघाउ पुग्दै आएको छ ।
यसैबीच सन् २०२० का लागि नयाँ अभियान नेपाल भ्रमण वर्ष २०२० को भव्य पूर्वतयारी गरियो । १ जनवरी २०२० मा अभियानको औपचारिक उद्घाटन पनि गरियो । तर, विश्वव्यापी महामारी कोभिड–१९ का कारण थप कार्यक्रम सञ्चालन गर्न सकिएन । आन्तरिक तथा बाह्य पर्यटक आगमन लगभग ठप्प भयो । भ्रमण वर्षको अभियान बीचैमा अवरुद्ध हुन पुग्यो ।
पर्यटकीय प्रवद्र्धन अभियानलाई थप राष्ट्रव्यापी स्तरमा समेट्न र राष्ट्रिय सम्पदाहरूको पहिचानसहितको प्रस्तुतीकरणका लागि नेपाल पर्यटन बोर्ड, नाटालगायत विभिन्न निजी क्षेत्रका संगठनले सन् २००४ र २००६ मा दुईवटा महत्वपूर्ण अन्तर्राष्ट्रियस्तरका हिमालयन ट्राभल मार्ट र बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रिय पर्यटन मेला आयोजना गरेका थिए । त्यसैगरी सन् २००८ मा भृकुटीमण्डपको प्रदर्शनी स्थलमा पनि सोही मार्टको आयोजना गरिएको थियो । यसरी सम्पन्न मार्टहरूको आयोजनामा विदेशी टुर ओपरेटर र मिडियालाई सम्मिलित गराई दक्षिण एसियामै नेपालले ठूला अन्तर्राष्ट्रियस्तरको मेला गर्न सक्ने क्षमता भएको गन्तव्यका रूपमा आफूलाई उभ्याएको थियो ।
बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा व्यवस्थापिका संसद् बस्न थालेपछि भने देशमा ठूला स्तरका मेला, मार्ट गर्ने स्थानको समेत अभाव हुन गएको देखिँदै छ । २००७ पछिका दिनमा पनि हिमालयन ट्राभल मार्टजस्ता अन्तर्राष्ट्रियस्तरका मेला भए तर स्थानचाहिँ भृकुटीमण्डपस्थित प्रदर्शनी स्थल र सोल्टी होटलको हल र गार्डेनमा गर्नुपर्ने बाध्यता आइलाग्यो ।
‘हिमालयन वा लुम्बिनी ट्राभल मार्ट’ एवं राष्ट्रिय पर्यटन मेलाजस्ता ठूला मेला तथा मार्टको आयोजनाले हाम्रा पर्यटकीय सम्पदा तथा पर्यटकीय सेवा–सुविधाका प्याकेज विश्वमाझ पस्किन सहज हुन्छ
विश्वभरि आजको दिनमा सहरहरूको पहिचान त्यहाँ हुने ठूला मेला महोत्सव, मार्टहरूबाटै हुने गरेको छ । जस्तै, फ्रान्सको कान्स सहर अन्तर्राष्ट्रिय फिल्म समारोहहरूका लागि, बोदरेक्स सहर वाइन मेलाका लागि, जर्मनीको बर्लिन सहर आइटिबी पर्यटन मेलाका लागि र लन्डन सहर विश्व पर्यटन मेलाका लागि परिचित छन् ।
हामीसँग जेजस्ता पूर्वाधार छन्, काम त्यहीँबाट सुरु गर्नुपर्छ । वर्तमान परिस्थितिमा कोभिड–१९ ले सबै क्षेत्रलाई प्रभावित गरेको छ । अझै पर्यटन क्षेत्र त नराम्ररी थलै परेको छ भन्दा हुन्छ । कोभिडका कारण सुस्ताएको हाम्रो अर्थतन्त्र र त्यसमा पनि अति प्रभावित पर्यटन क्षेत्रको पुनर्ताजगी र भावी दिनमा आयोजना गर्न सकिने ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मार्टहरूको आयोजनाका लागि केही भौतिक पूर्वाधार तयार पार्नुपर्ने देखिन्छ । त्यसका लागि राजधानीका तीन स्थानमा पूर्वाधार निर्माणको सम्भावना देखिन्छ । पहिलो हो, नारायणहिटी दरबार संग्रहालयको मुख्य भवनको पूर्वपट्टि रहेको खाली जमिन । यहाँ अहिले गणतन्त्र स्मारक पार्क बनेको छ । यससँगै रहेको मैदान, नेपाली सेनाको ब्यारेक रहेको क्षेत्रलगायतलाई समेटेर प्रि–फ्याबका केही सानाठूला संरचनामा सभाहल बनाउन सकिन्छ । साथै, प्रदर्शनीका लागि चाहिने अलग्गै ठूलो हलसमेत बनाई नारायणहिटी दरबारको ऐतिहासिक पृष्ठभूमि र संग्रहालयको थप आकर्षणसमेतलाई एकसाथ जोड्न सकिन्छ । काठमाडौंको मुटुमा तयार हुन सक्ने यस्तो संरचना एक नौलो पहिचानसहितको अन्तर्राष्ट्रिय सभा सम्मेलन, मेला तथा प्रदर्शनीको केन्द्र बन्न सक्छ । यस स्थानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मार्टहरूको आयोजना गरी पर्यटन क्षेत्रको विकासबाट लाभ लिन सकिन्छ ।
दोस्रो हो, काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा रहेको प्रदर्शनी हल । टुकुचा खोलादेखि नेपाल पर्यटन बोर्डको सेवाकेन्द्र भवनसम्मका सम्पूर्ण संरचनालाई एकीकृत रूपमा लिई ठूलो प्रदर्शनी हल, सभा सम्मेलन केन्द्र आदि बनाउन सकिन्छ । यस क्रममा राष्ट्रिय सभागृह, प्रहरी क्लब, रत्नराज्य कलेज, विश्वभाषा क्याम्पस, वाल्मीकि विद्यापीठ आदि संस्था पनि स्थानान्तरण गरी ठूलो संरचनाको अन्तर्राष्ट्रिय सभा सम्मेलन केन्द्र बनाउन सकिने सम्भावना देखिन्छ ।
तेस्रो, कीर्तिपुरको मञ्जुश्री पार्कवरपरको स्थानमा ठूलो प्रदर्शनी मैदान र सभाकेन्द्र बनाई अन्तर्राष्ट्रियस्तरको सभा–सम्मेलन आयोजना स्थल तयार गर्न सकिन्छ । यस्ता ठूला स्थानहरूको निर्माण गरी अन्तर्राष्ट्रियस्तरका मेला तथा प्रदर्शनी आयोजना गर्न सकियो भने यसले पर्यटन क्षेत्रको दिगो विकासमा ठूलो मद्दत पुर्याउने देखिन्छ ।
यी तीन प्रस्तावमध्ये कुनै पनि एक स्थानको विस्तृत योजना, जग्गा अधिग्रहण आदि सम्पूर्ण कार्य यसै वर्ष सम्पन्न गरी अर्को वर्षदेखि कार्यान्वयनतर्फ जान सकियो भने कोभिड–१९ ले शिथिल पारेको पर्यटन क्षेत्रमा छाएको नैराश्य हटाउन र नयाँ आशा जगाउन सहज हुनेछ । कोभिडपछिको सामान्य अवस्थामा नेपालले आफ्नो पर्यटकीय गन्तव्यबारे व्यापक प्रचारप्रसार गर्नुपर्छ नै । ‘हिमालयन वा लुम्बिनी ट्राभल मार्ट’ एवं राष्ट्रिय पर्यटन मेलाजस्ता ठूला मेला तथा मार्टको आयोजनाले हाम्रा पर्यटकीय सम्पदा तथा पर्यटकीय सेवा–सुविधाका प्याकेज विश्वमाझ पस्कन सहज हुन्छ ।
देश संघीयतामा गइसकेको छ, प्रत्येक प्रदेशले आफ्नो मौलिक पहिचान र सम्पदाको आकर्षण पर्यटकीय गतिविधिका रूपमा देशभित्र र बाहिर प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । तसर्थ, अबका दिनमा प्रत्येक प्रदेशले ससाना मेला महोत्सवको आयोजनामा भन्दा प्रदेशस्तरीय ठूला ट्राभल मार्टहरूको आयोजनामा सहयोग र सहकार्य गर्नुपर्ने देखिन्छ । साथै, काठमाडौंमा चाहिँ ठूला राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका मार्ट आयोजना गर्नुपर्ने देखिन्छ । त्यसको राम्रो अभ्यासका रूपमा पूर्वका पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्डसितको सहकार्यमा ‘इस्ट टुरिजम मार्ट’मार्फत सफल उदाहरण प्रस्तुत गरिसकेका छन् । यस्ता ठूला मेला महोत्सव आयोजन गर्न आवश्यक पर्ने संरचना काठमाडौँसँगै प्रत्येक प्रदेशमा पनि तयार गर्नुपर्ने देखिन्छ । माथि प्रस्तावित काठमाडौँका पूर्वाधार संरचना केही वर्षअघि नै परिकल्पना गरिएको भए सायद ती स्थानमा सरल तरिकाले नै संरचना बन्न सक्थ्यो । इच्छाशक्ति छ भने अभैm सम्भव छ । तर, थप केही वर्षपछि भने यसै भन्न सकिन्न ।
(ऐर नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हुन्)