१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २१ बुधबार o९:२२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

११औँ नेपाल एमेच्योर ओपन गल्फ : नेपालका सदभावलाई दुई स्ट्रोक अग्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार o९:२२:oo
  • नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले दोस्रो स्थानमा रहेका वाङचेन ढोन्डुपमाथि चार स्ट्रोकको अग्रता लिए

११औँ नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको मंगलबार पहिलो दिन नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य ६ अन्डर ६६ को उत्कृष्ट स्कोरका साथ शीर्षस्थानमा रहेका छन् ।

आचार्यले नेपालका वाङचेन ढोन्डुपलाई दुई स्ट्रोकले पछि पारेका छन् । वाङचेनले चार अन्डर ६८ को स्कोर गरेका छन् । नेपालका राहुल विश्वकर्मा, भारतका सुमित कोटवाल र बंगलादेशका मोहम्मद साहाब दुई अन्डर ७० को स्कोरसहित संयुक्त रूपमा तेस्रो स्थानमा छन् । इभन पार ७२ को स्कोरमा नेपालका प्रकृत तामाङ र श्रीलंकाका रेशन अलगामाले छैटौँ स्थान बाँडे । नेपालका टासी छिरिङ, भुटानका डेचेन लेन्डुप र निम दोर्जी तामाङ तथा भारतका भिभान उभयाकरले दुई ओभर ७४ को स्कोरमा संयुक्त रूपमा आठौँ स्थानमा पहिलो दिनको खेल सकाएका छन् ।

सदभावले बोगीरहित फ्रन्ट नाइन खेल्दा तीन अन्डर ३३ स्कोर गरेका थिए । उनले पहिलो, सातौँ र आठौँ होलमा बर्डी प्रहार गरे । ब्याक नाइनमा सदभावले ११औँ, १२औँ, १४औँ र १८औँ होलमा बर्डी निकाली तीन अन्डर ३३ स्कोर गर्न सफल भए । वाङचेनले पहिलो, छैटौँ र नवौँ होलमा बर्डी हात पारी फ्रन्ट नाइन तीन अन्डर ३३ को स्कोर गरे । १५औँ होलमा बोगीको सामना गरेसँगै ब्याक नाइनमा उनी एक अन्डर ३५ स्कोरमा रोकिए । 

महिलामा अनन्थी अगाडि 
महिलातर्फ भारतकी अनन्थी विवेक एक अन्डर ७१ सहित शीर्षस्थानमा रहेकी छिन् । उनले नेपालकी तारा कार्की चित्रकारलाई नौ स्ट्रोकको फराकिलो अन्तरले पछि पारिन् । ताराले आठ ओभरमा ८० खेलिन् । अभान्थीले फ्रन्ट नाइनमा तीन अन्डर ३३ र ब्याक नाइनमा दुई ओभर ३८ को स्कोर गरेकी थिइन् । उनले तेस्रो, पाँचौँ, सातौँ, आठौँ र नवौँ होलमा बर्डी प्रहार गरिन् । नेपालकी ताराले पाँचौँ होलको बर्डीले फ्रन्ट नाइन एक अन्डर ३५ मा सकाइन् ।

ब्याक नाइनमा उनले ६ होलमा बोगीको सामना गरिन् । यू–१६ मा रूबेन थापा ८० स्कोरसहित शीर्षस्थानमा छन् । पुरुषको टिम स्पर्धामा नेपाल ’ए’ टिमका सदभाव आचार्य र राहुल विश्वकर्मा एक सय ३६ स्कोरका साथ पहिलो स्थानमा रहेका छन् । नेपाल ’बी’ टिमका टासी छिरिङ र वाङचेन ढोन्डुप एक सय ४२ स्कोरसहित दोस्रो स्थानमा रहेको छ । 

तीनदिने ५४ होलको प्रतिस्पर्धामा नेपालसहित दक्षिण एसियाका बंगलादेश, भुटान, श्रीलंका र भारतका गरी कुल पाँच राष्ट्रका ५७ खेलाडीको सहभागिता रहेको छ ।