मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १७ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १७ सोमबार o७:४७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हायर पर्चेज कर्जाको ब्याजदर बढ्यो, धितोको ८०प्रतिशतसम्म कर्जा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १७ सोमबार o७:४७:oo

अब हायर पर्चेज कर्जा दिने कम्पनीबाट कर्जा लिँदा थप १ प्रतिशत ब्याजदर बढ्ने भएको छ । कम्पनीहरूले ऋण तथा सापटी लिएर गरेको लगानीमा बेस रेटबाट ४ प्रतिशत ब्याज थप गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । यसअघि कम्पनीहरूले यसरी गरेको लगानीमा ३ प्रतिशतसम्म थपेर ब्याज लिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले आइतबार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्थामा संशोधन गरेको हो । 

यस्ता कम्पनीहरूले दिने कर्जामा पनि धितोका आधारमा सीमा तोकिएको छ । अब यस्ता कम्पनीहरूले धितो मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा दिन पाउने भएका छन् । यसअघि यस्तो व्यवस्था थिएन । त्यस्तै, यस्ता कम्पनीले दिने कर्जामा समेत एकल ग्राहक कर्जा सीमा कायम गरिएको छ । कम्पनीले अघिल्लो त्रैमासको खुद सम्पत्तिको अधिकतम ३० प्रतिशतसम्म मात्र एकल कर्जा दिन पाउने भएका छन् । एकल ग्राहक कर्जा सीमा लागू हुने एकल समूह बैंकहरूलाई तोकिएजस्तै कुनै एउटा कम्पनीमा २५ प्रतिशतभन्दा बढी सेयर लिएका कम्पनीदेखि व्यक्तिको हकमा धर्मपुत्रसम्मलाई मानिने व्यवस्था गरिएको छ । 

यस्ता कम्पनीहरूले पनि कर्जा खराब भएमा नोक्सानी व्यवस्था गर्नुपर्ने भएको छ । ६ महिनाभन्दा बढी अवधिले भाका नाघेको बक्यौदा किस्ता रकमलाई यस्ता कम्पनीले शंकास्पद कर्जामा वर्गीकरण गरेर ५० प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने भएको हो । त्यस्तै, कम्पनीले एक वर्षभन्दा बढी रकमले भाका नाघेको कर्जामा शतप्रतिशत कर्जा नोक्सानी गर्नुपर्नेछ ।  कम्पनीले सञ्चित कोषमा रहेको रकम राष्ट्र बैंकको स्वीकृति नलिई रकमान्तर गर्न नपाउने भएको छ । हाल यस्तो कोषमा कम्पनीको चुक्ता पुँजीको दोब्बर बराबर रकम नभएसम्म खुद मुनाफाको २० प्रतिशत रकम राख्नुपर्छ । त्यसपछिको वर्षबाट भने यस्तो नाफाको १० प्रतिशत रकम राखे पुग्छ । 

एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता 
आइतबार नै परिपत्र जारी गरेर राष्ट्र बैंकले जलविद्युत् लगानी तथा पूर्वाधार कम्पनी (एचआइडिसिएल)लाई पनि बैंक तथा वित्तीय संस्थाहरूसरह नै सहवित्तीयकरणमा कर्जा दिन पाउने व्यवस्था गरिदिएको छ । यो व्यवस्थासँगै एचआइडिसिएलले पनि वित्तीय संस्थासरह मान्यता पाएको हो । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले सहवित्तीयकरणमा लगानी गर्नुपर्दा एचआइडिसिएल वा बैंक तथा वित्तीय संस्थालाई अगुवा संस्था हुने गरी गर्न सक्ने भएका छन् ।