बरहथवा इलाका प्रहरीका डिएसपी उमाशंकर यादवको प्रतिबद्धता–पीडितलाई न्याय दिलाउन प्रहरीले कुनै कसर बाँकी राख्दैन
उधारो खाएको ५० रुपैयाँ माग्दा छिमेककै पाँच पुरुषबाट निर्घात कुटिएकी सर्लाही धनकौल गाउँपालिका– ३ हरकठवाकी ६५ वर्षीया वकिला खातुनको किटानी जाहेरी १३ दिनपछि आइतबार प्रहरीले दर्ता गरेको छ । ‘उधारो खाएको ५० रुपैयाँ माग्दा ६५ वर्षीया वृद्धालाई बोक्सी आरोपमा मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट’ शीर्षकमा नयाँ पत्रिकाले शनिबार पहिलो पृष्ठमा मुख्य समाचार प्रकाशित गरेको थियो ।
इलाका प्रहरी कार्यालय बरहथवाले मुद्दा दर्तालगत्तै दुई मुख्य आरोपी धन्कौल– ३ पुरानो बजारका ४० वर्षीय मगनी साह र उनका सहोदर भाइ ३० वर्षीय होरिल साहलाई पक्राउ गरेको छ । आइतबार नै जिल्ला अदालतबाट तीन दिन म्याद थपेर उनीहरूमाथि अनुसन्धान सुरु गरेको बरहथवा इलाका प्रहरी प्रमुख डिएसपी उमाशंकर यादवले बताए । वकिलाको पसलबाट उधारो खाएर नतिरेका मगनीले भाइ होरिलसहित ४५ वर्षका नुनु साह, उनका छोरा २५ वर्षीय जितकुमार साह र २१ वर्षीय सुनील साहको समूह लगेर २८ पुसको राति र ३ माघको बिहान दुईपटकसम्म आक्रमण गरेका थिए । पीडतका अनुसार उनीहरूले ‘बोक्सी’ भन्दै कपाल लुछेर घिसारेका थिए । त्यतिखेर आमालाई जोगाउन गएका २८ वर्षीय महबुब मियाँ र ४० वर्षीय जोहर अन्सारीलाई पनि कुटपिट गरेका थिए । फरार तीन आरोपीको पनि खोजी भइरहेको डिएसपी यादवले बताए ।
‘३ माघमा पीडित पक्षले ल्याएको निवेदनमा ‘बोक्सी’ लेखिएको देखियो । त्यसैले मुद्दा फाँटले ‘बोक्सी’ उल्लेख गर्न मिल्दैन, ‘बोक्सीको आरोप’ हो भने जाहेरी लिएर आउनु भनेको हुन सक्छ । ‘कम्युनिकेसन ग्याप’का कारण मुद्दा दर्तामा ढिलाइ भएको हो, पीडितलाई अन्याय गर्ने प्रहरीको कुनै मनसाय होइन,’ उनले भने, ‘समाचार आएपछि म आफैँ फिल्डमा गएँ । पीडित र छरछिमेकसँग घटनाबारे बुझेँ । ढिलै भए पनि उहाँहरूको मुद्दा दर्ता भएको छ । बोक्सीको आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । दुई आरोपी पक्राउ परिसकेका छन् । कानुनी व्यवस्थाअनुसार म्याद थप गरेर अनुसन्धान अघि बढाइसकेका छौँ । अन्य तीन आरोपीको पनि खोजी भइरहेको छ । पीडितलाई न्याय दिलाउन प्रहरीले कुनै कसर बाँकी राख्दैन ।’
पीडित वकिलाले ढिलै भए पनि मुद्दा दर्ता भएकोमा न्याय पाउने आस पलाएको बताएकी छिन् । ‘यो उमेरमा सारा गाउँलेको अगाडि बोक्सीको बात लगाएर मनमर्दन गर्दै कुटपिट गर्दा शरीर जति दुख्यो, त्योभन्दा धेरै मन पोलेको छ । प्रहरीले पनि मुद्दा दर्ता नगरेपछि त झन् विचलित भएकी थिएँ । तर, ढिलै भए पनि मुद्दा दर्ता भएपछि न्याय पाउने आस पलाएको छ,’ उनले भनिन्, ‘मुद्दा–मामलामा नलाग् भनेर गाउँमा फकाउने र धम्क्याउने गरिरहेका छन् । तर, मैले कति सहने ? यो उमेरमा मलाई बोक्सीको बात लगाएका छन् । छोराहरूलाई पनि कुटेका छन् । त्यसैले मलाई अरू केही चाहिँदैन, निसाफ चाहियो । उनीहरूले कानुनअनुसार सजाय पाउनुपर्छ ।’
मगनीले २८ पुसको मध्यराति वकिलालाई ओछ्यानबाटै थुतेर आफ्नो घरसम्म घिसार्दै पु¥याएका थिए । उनलाई स्थानीय महिलाले छुटाएर जोगाएका थिए । घरखर्च चलाउन पान, सुपारीलगायतको खुद्रा व्यापार गर्ने वकिला त्यस दिन दिउँसो आफ्नो पसलबाट खाएको ५० रुपैयाँ माग्न मगनीको घरमा पुगेकी थिइन् । तर, पैसा दिनुको साटो झपारेर पठाएका मगनीले राति घरमै गएर आक्रमण गरेका थिए ।
‘छिमेकी मर्दा–पर्दा चाहिन्छ’ भनेर एकपटकलाई अन्याय सहेकी वकिला २ माघको बेलुका पुनः पैसा माग्न मगनीको घर पुगेकी थिइन् । अघिल्लोपटक जस्तै गाली गरेर घरबाट धपाएका मगनीले भोलिपल्ट बिहान अन्य चारजना लिएर लाठीमुंग्रीसहित वकिलाको घरमा पुगेर कपाल लुछ्दै निर्घात आक्रमण गरेका थिए । उनको आँखामा चोट लागेर रगत जमेको छ ।
३ माघको घटनालगत्तै वकिलाका दुई छोरा र गाउँका एक सहयोगीसहित किटानी जाहेरी लिएर बरहथवा इलाका प्रहरी कार्यालय पुगे पनि ‘बोक्सी’ शब्द हटाएपछि मात्रै निवेदन दर्ता हुने भन्दै प्रहरीले फर्काइदिएको थियो । जब कि त्यसको भोलिपल्ट ४ माघमा उल्टै वकिला र उनका छोराहरूविरुद्ध मगनी साह पक्षले इलाका प्रहरी कार्यालयमै दिएको निवेदन तत्काल दर्ता भएको थियो । त्यति मात्रै होइन, वकिला र उनका छोराहरूलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको थियो । छिमेकीले पीडितलाई प्रहरीले झन् पीडित बनाउन खोजेको भन्दै विरोध गरेपछि प्रहरी त्यसै फर्किएका थियो । त्यसपछि पीडितहरू ७, ९ र १० माघमा जिल्ला प्रहरी कार्यालय धाउँदा मुद्दा इलाका प्रहरीले नै दर्ता गर्ने भन्दै जिल्लाबाट फर्काइदिएको थियो ।
बोक्सी आरोपमा शारीरिक र मानसिक यातना भोगेकी वकिलाको माग–अरू केही चाहिँदैन, निसाफ चाहियो
यो उमेरमा सारा गाउँलेको अगाडि बोक्सीको बात लगाएर मनमर्दन गर्दै कुटपिट गर्दा शरीर जति दुख्यो, त्योभन्दा धेरै मन पोलेको छ । प्रहरीले पनि मुद्दा दर्ता नगरेपछि त झन् विचलित भएकी थिएँ । तर, ढिलै भए पनि मुद्दा दर्ता भएपछि न्याय पाउने आस पलाएको छ । मुद्दा–मामलामा नलाग् भनेर गाउँमा फकाउने र धम्क्याउने गरिरहेका छन् । तर, मैले कति सहने ? यो उमेरमा मलाई बोक्सीको बात लगाएका छन् । छोराहरूलाई पनि कुटेका छन् । त्यसैले मलाई अरू केही चाहिँदैन, निसाफ चाहियो । उनीहरूले कानुनअनुसार सजाय पाउनुपर्छ ।