मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ १६ आइतबार १५:१२:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

तुलसीपुरमा कहिले बन्छ ताइवानको जस्तो बसपार्क ?

Read Time : > 2 मिनेट
२०७८ माघ १६ आइतबार १५:१२:००

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको एउटा चर्चित नारा हो– तुलसीपुर स्मार्ट सिटी। पाण्डेले स्मार्ट सिटी बनाउन विभिन्न देशको उदाहरण दिन्थे। उनी उपमहानगरपालिकाको एउटा टोली लिएर ०७४ चैतमा ताइवान नै गएका थिए। त्यतिवेलै उनले स्मार्ट सिटीका लागि पूर्वाधार  बनिरहेको बताएका थिए। उनी भन्थे, ‘मैले ताइवानको ताइपेई सहर हेरेँ।  त्यस्तै बनाउँछु।’

मेयर पाण्डेले त्यसो भन्नुको एउटा आधार थियो– तुलसीपुर बसपार्क। किनकि उनी आउनुभन्दा पहिलेदेखि नै बसपार्क निर्माण सुरु भइसकेको थियो। त्यसलाई आधुनिक बनाएर आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धिका रूपमा लिने उनको योजना  थियो। तर, उनको त्यो योजना भने अधुरै रह्यो। उनको कार्यकालमा आधुनिक बसपार्क निर्माणले गति लिने देखिएन। किनकि अहिले उपमहानगरपालिका ऋणमा डुबेको छ। आधुनिक बसपार्क निर्माण  सुरु गर्न पर्याप्त आन्तरिक स्रोत उपमहानगरपालिकासँग छैन।

सन् २०१३ मै तुलसीपुर गुरुयोजना बनिसकेको र त्यहीअनुसार अहिले पहिलो चरणको काम पूरा भइसकेको छ। तर, दोस्रो चरणको काम भने अझै सुरु हुन सकेको छैन। पहिलो चरणको काम पूरा भएको दुई वर्ष बितिसक्दा पनि काम सुरु नगरिएको भन्दै यातायात व्यवसायीहरूले आपत्ति जनाउने गरेका छन्। ३४ करोड लागतमा आधुनिक बसपार्क निर्माण कार्य गर्ने भनी गुरुयोजना तयार भएको थियो। तर, उपमहानगरपालिकासँग पर्याप्त बजेट नभएपछि विभिन्न चरणमा काम गर्ने गरी तयारी भयो।

पहिलो चरणमा नगर विकास समितिबाट ऋण लिएर साढे  १० करोड लागतमा  बसपार्क निर्माण सुरु गरियो। नगर विकास कोषले ९० प्रतिशत ऋण  र १० प्रतिशत अनुदानमा उक्त बजेट दिएपछि पहिलो चरणको काम भएको थियो। ०७४ सालमा तत्कालीन नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बसपार्कको शिलान्यास गरेका  थिए। पहिलो चरणमा एक तलाको टर्मिनल भवन, ५२ वटा व्यापारिक सटर, सार्वजनिक शौचालय, सडक र सडकबत्ती निर्माण  गरिएको थियो। सो कार्य ०७६ सालमै सकिएको हो। अब दोस्रो चरणको काम अघि बढाउनुपर्नेमा त्यसो हुन सकेको छैन।

सन् २०१३ मा डिपिआर तयार भएकाले अब त्यही  डिपिआरअनुसार काम गर्दा पनि बाँकी काम २४ करोडले नभ्याउने उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले बताए। उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट काम गर्ने वा ऋण खोज्ने भन्ने विषयमा छलफल भइरहेकाले त्यो टुंगिएमा काम अघि बढ्ने उपमहानगरपालिकाका प्रवक्ता  सूर्यबहादुर डाँगीले बताए। ‘पहिलो चरणको काम पूरा भयो, अब हामीले दोस्रो चरणको काम सुरु गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि हामीले उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट काम गर्ने वा ऋण लिएर काम गर्ने भन्ने विषयमा  छलफल गरिरहेका छौँ। त्यो टुंगिएपछि काम  सुरु हुन्छ ।’

अझै पनि टर्मिनल भवनलाई तीन तला बनाउनुपर्ने, सडकबत्तीहरू जडान, क्लब टावर, गार्डेन, कम्प्लेक्स निर्माण, ढल निकास, पम्प व्यवस्थापन, पार्किङ व्यवस्थापनलगायतका काम बाँकी रहेको प्रवक्ता डाँगीले बताए। उक्त बसपार्क पाँच बिघा क्षेत्रफलमा निर्माण भएको हो।

काम नसकिँदै चर्को कर तिर्न बाध्य व्यवसायी
डिपिआरअनुसार बसपार्क निर्माण सम्पन्न नभए पनि चर्को कर तिर्न बाध्य भएको व्यवसायीहरूको गुनासो छ। ‘गर्नुपर्ने काम धेरै छ। पहिलो चरणमा केही कामहरू मात्र भएका छन्,’ त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले भने, ‘तर, कर  भने ३४ करोडको संरचना निर्माण भएबराबर लिने गरिएको छ। यसले यातायात व्यवसायीहरूलाई निकै मारमा पारेको छ।’

अहिले  पार्किङ शुल्कसमेत सुविधासम्पन्न बसपार्कले लिनेबराबरको तिर्नुपरेको उनको गुनासो छ। अझै पनि पेट्रोलपम्प, क्यान्टिन, टर्मिनल भवन, यात्रु प्रतीक्षालय, स्वास्थ्य जाँच गर्ने स्थान, सिसिक्यामेरा, ग्रिन पार्क, बच्चाहरू राख्ने कक्ष, शौचालयलगायतको व्यवस्थापन हुन सकेको छैन। यद्यपि, यस वर्षको वैशाखदेखि अहिलेसम्म निकासी करबाट महानगरले ११ लाख संकलन गरेको छ। व्यापारिक सटरहरूबाट १२ लाख रुपैयाँ आर्थिक  संकलन भएको उपमहानगरको राजस्व प्रशासन शाखा प्रमुख  भेषराज चन्दले बताए।