मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ १५ शनिबार
  • Sunday, 13 July, 2025
२o७८ माघ १५ शनिबार o८:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

उपाधिका लागि एपिएफ र मनाङ भिड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १५ शनिबार o८:३३:oo

२०औँ आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार पोखरा रंगशालामा एपिएफ र मनाङ मस्याङ्दी क्लबबीच खेल हुँदै छ । एपिएफले हालसम्म पोखरामा उपाधि जित्न सकेको छैन । मनाङले भने सातौँपटक ट्रफी उचाल्ने दाउमा छ । १४ वर्षपछि फाइनलमा पुगेको एपिएफको मुख्य लक्ष्य नै मनाङलाई रोक्दै पहिलोपटक इतिहास रच्ने हो । आहा ! रारा गोल्डकपमा यी दुवै टोली तीन वर्षपछि एक–आपसमा भिड्न लागेको हो।

शुक्रबार फाइनलअघिको प्रिपोस्ट म्याचमा दुवै टोलीका प्रशिक्षक तथा कप्तानले आ–आफूले उपाधि जित्ने दाबी गरेका छन् । एपिएफका प्रशिक्षक कुमार थापाले १४ वर्षपछि फाइनल पुग्दा उपाधिका साथ नै फर्किने बताएका छन् । ‘१४ वर्षपछि फाइनलमा स्थान बनाएका छौँ, यसपटक इतिहास रच्दै उपाधि हात पार्ने योजनामा छौँ,’ एपिएफका प्रशिक्षक थापाले भने, ‘फाइनलमा समेत जितलाई निरन्तरता दिने योजनासहित मैदानमा प्रस्तुत हुन्छौँ ।’ विपक्षी बलियो टोली रहेकाले जितका लागि सहज नहुने उनले बताए । ‘मनाङको खेलअनुसार रणनीति बनाएर मैदानमा प्रस्तुत हुन्छौँ,’ थापाले भने । 

एपिएफका कप्तान नवीन लामाले उपाधि जित्नका लागि आएको बताए । ‘फाइनलसम्मको यात्रामा हामीले धेरै मिहिनेत गरेका छौँ, फाइनल खेल टफ हुनेछ,’ उनले भने, ‘योपटक टोलीलाई उपाधि दिलाउने सपना पूरा गर्ने प्रयास हुनेछ ।’ यता मनाङका प्रशिक्षक फुजा टोपेले एपिएफ बलियो टोली रहेकाले जितका लागि धेरै मिहिनेत आवश्यक रहेको बताए ।

‘फाइनल पुग्नु खुसीको कुरा हो, तर उपाधिका लागि सहज छैन,’ प्रशिक्षक टोपेले भने, ‘केही समयदेखि एपिएफले आफ्नो खेलमा धेरै सुधार ल्याएको छ, फाइनलमा उनीहरूको खेलअनुसार रणनीतिअनुसार खेल्छौँ ।’ मनाङका कप्तान विमल रानाले टोलीका चार खेलाडी राष्ट्रिय टोलीमा रहेकाले फाइनल खेलमा उनीहरूको अभाव खड्कने बताए ।