विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा कास्कीको रूपा गाउँपालिका– ७ बस्ने ३१ वर्षीय मुक्ति खनाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ।
उनले म्यासेन्जरमा कुराकानी गरी ललाइफकाई, धाकधम्की र प्रलोभनमा पारी महिलाको नग्न तस्बिर र भिडियो प्राप्त गरी निज महिलाका आफन्तलाई सार्वजनिक गरिदिने धम्की दिएको ब्युरोले जनाएको छ।
वैदेशिक रोजगारीबाट फर्कने क्रममा आज विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा ब्युरोले उनलाई पक्राउ गरेको हो। खनालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए। रासस