प्र्यांक भिडियो बनाए जेल पर्न सक्ने

शुक्रबार, १४ माघ, २०७८
डिजिटल संस्करण

कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय

कसैलाई प्र्यांक अर्थात् सताउने भिडियो बनाउनेले अब नराम्रो मूल्य चुकाउनुपर्नेछ । यस्ता भिडियो बनाएर युट्युबलगायत सामाजिक सञ्जालमा सार्वजनिक गर्नेलाई प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा कारबाही गर्ने भएको हो । 

यो कसुरअनुसार त्यस्ता व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीका नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिनेलाई प्रचलित कानुनअनुसार कारबाही गर्न गृह मन्त्रालयले बिहीबार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो । निर्देशनपछि गृहले बिहीबारै विज्ञप्तिसमेत जारी गरेको छ । 

गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘ख्यालठट्टाका नाममा युट्युबर मानिसको व्यक्तिगत जीवनभित्र छिर्ने गरेको भेटियो । मानिसको गोप्य भिडियो बनाई युट्युबमार्फत सार्वजनिक गर्ने गरेको भेटियो । यस्ता गतिविधि कानुनविपरीतका हुन् । पीडितबाट उजुरी तथा गुनासो बढ्न थालेपछि त्यस्ता गतिविधि गर्नेलाई कानुनअनुसार कारबाही गर्न गृहले भनेको छ । अब त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही हुनेछ ।’

गृहका अनुसार अब अनुमतिविना तस्बिर तथा भिडियो खिच्ने र त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नेविरुद्ध पनि कारबाही हुनेछ । अनुमतिविना खिचिएका भिडियो तथा तस्बिरले मानसिक तनाव तथा विवाद निम्त्याउने, सामाजिक द्वन्द्व भड्काउने र शान्ति सुव्यवस्थामा समेत खलल पर्ने भएकाले संलग्नलाई कारबाही गर्न लागिएको गृहको भनाइ छ ।

‘सार्वजनिक स्थलमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, हुन सक्ने विवाद, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव एवं व्यक्तिको गोपनीयता, प्रतिष्ठामा पर्न सक्ने असरसमेतलाई दृष्टिगत गरी व्यक्तिगत अनुमतिविना कुनै पनि तस्बिर लिन र सामाजिक सञ्जालमाा प्रकाशन गर्न पाइनेछैन । अनुमतिविना कुनै भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैविरुद्ध प्रचलित कानुनअनुसार कारबाही हुनेछ,’ गृहको विज्ञप्तिमा भनिएको छ ।

ख्यालठट्टाका नाममा बनाइएका त्यस्ता भिडियो अश्लीलता फैलाउने मात्र नभई महिला हिंसालाई समेत प्रोत्साहन दिने खालका देखिएपछि कानुनी कारबाही गर्न लागिएको गृहको भनाइ छ । गृहप्रवक्ता पोखरेलले भने, ‘ख्यालठट्टाका नाममा बनाइएका यस्ता भिडियोले गोपनीयताको हक उल्लंघन त ग¥यो नै, अश्लीलतासमेत फैलाएको पाइयो । साथै, महिला हिंसालाई पनि प्रोत्साहन गरेकाले कानुनअनुसार कारबाही गर्न लागिएको हो ।’

अभद्र व्यवहार कसुरअन्तर्गत कारबाही
नेपाल प्रहरीले ख्यालठट्टाका नाममा भिडियो बनाएर सर्वसाधारणलाई मानसिक तथा शारीरिक रूपमा हैरानी दिनेलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार कारबाही हुने बताए । ‘ख्यालठट्टा वा मजाकका लागि भिडियो बनाएर सर्वसाधारणलाई हैरानी दिने गरेको उजुरी प्रहरीमा धेरै आउन थाले । गृहले त्यस्ता व्यक्तिलाई कानुनअनुसार कारबाही गर्न निर्देशन पनि दियो । अब त्यस्ता व्यक्तिलाई प्रहरीले कारबाही गर्नेछ,’ केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले भने ।

संहिताको दफा ११८ मा भनिएको छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । कसैले कसुर गरे कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

नेपाल प्रहरीको साइबर ब्युरोले यसअघि प्र्यांक भिडियो बनाउने दुईजनालाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गरिसकेको छ । ब्युरोका अनुसार युट्युब च्यानल ‘टेन्सन ब्रो’का सञ्चालक भरतबहादुर तिरुवा र साथीभाइ अनलाइनका सञ्चालक रामबहादुर मल्ललाई कारबाही गरेको हो । उनीहरूले बनाएका भिडियो अश्लील किसिमका थिए । 
 

सुझावित समाचार