नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सहमति भएमा निर्वाचन सर्न सक्ने बताएका छन्। प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राठौरले दलीय सहमति भएमा निर्वाचन वैशाखभन्दा पछि सर्न सक्ने बताएका हुन्। तर, सहमति नभएको खण्डमा भने संविधानअनुसार नै निर्वाचन हुने उनले बताए।
राठौरले तीनै तहको निर्वाचन एकैपटक हुँदा राज्यलाई फाइदा हुने उल्लेख गरे। ‘तीनै तहको निर्वाचन एकैपटक गर्दा सस्तो पनि हुन्छ,’ उनले भने, ‘राज्यलाई पनि सुविधा हुन्छ।’
उनले गठबन्धनका सन्दर्भमा भने पार्टीको केन्द्रीय समितिमा छलफलपछि मात्रै आधिकारिक धारणा आउने बताए। ‘अहिले गठबन्धनमै रहेर चुनावमा जाने कि एक्ला–एक्लै जाने भन्ने कुरा पार्टीभित्र पनि फरकफरक धारणा आएका छन्। त्यसैले यो विषयमा हामीले पार्टीभित्र बृहत् छलफल गर्छौँ अनि मात्रै के गर्ने भन्ने कुरा निर्क्याेल गर्छौँ,’ उनले भने।