मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७८ माघ १३ बिहीबार ०९:३१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

संक्रमित बढ्दा स्वास्थ्य संस्थाका सेवा प्रभावित

Read Time : > 1 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७८ माघ १३ बिहीबार ०९:३१:००

कोरोनाको तेस्रो लहरको क्रममा संक्रमित बढ्दै जाँदा जिल्ला–जिल्लाका स्वास्थ्य संस्थाहरूका सेवा पनि प्रभावित भइरहेका छन् । नयाँ पत्रिकाकर्मीहरूले विभिन्न जिल्लाबाट पठाएको रिपोर्टमा आकस्मिकबाहेकका सेवा प्रभावित भएको उल्लेख छ । 

झापाको दमक सरकारी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि सेवा प्रभावित भएको छ । बुधबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द भएको अस्पतालकी सूचना अधिकारी देवी दंगालले जानकारी दिइन् । अस्पतालमा झापाको माईपश्चिम क्षेत्रका दैनिक एक हजार बिरामी उपचारका लागि आउने गरेका थिए । अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि शुक्रबारसम्मलाई सेवा अवरुद्ध भएको उनले बताइन् । आइतबारदेखि नियमित जाँच हुने उनको भनाइ छ । 

म्याग्दीमा पनि स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण भएपछि म्याग्दीको बेनी अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ । सेवा लिन आउने सर्वसाधारणमा अस्पतालबाटै कोरोना संक्रमण फैलन सक्ने भएपछि आगामी आइतबारसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।

तनहुँको भीमाद प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द भएको छ । केन्द्रमा कार्यरत २१ मध्ये १७ जना स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएपछि सेवा बन्द भएको केन्द्रका प्रमुख डा. प्रकाश नेपालीले जानकारी दिए । ‘अधिकांशलाई कोरोना संक्रमण भएपछि अस्पतालको सेवा प्रभावित बनेको छ,’ नेपालीले बताए । 

दार्चुला/ कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएपछि जिल्ला अस्पताल दार्चुलाले आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरेको छ । जिल्ला अस्पताल दार्चुलामा कार्यरत तीन स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको हो । जिल्ला अस्पताल दार्चुलाका डा. आदर्श लिम्बुले कोरोना संक्रमित बढ्दै गएपछि आइसोलेसनमा राख्नुपर्ने बिरामीलाई मध्यनजर गर्दै इमर्जेन्सीबाहेकको स्वास्थ्य सेवा बन्द गरिएको जानकारी दिए । दिनहुँ कोरोना संक्रमित बढ्दै गए पनि कार्यालय नै बन्द भने नभएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । उनले भने, ‘अधिकांश स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी पनि सक्रमित छन् । बैंकका कर्मचारी संक्रमित देखिएका छन्, तर कार्यालय नै बन्द भएकोबारे जानकारी आएको छैन ।’

खोप सेवा प्रभावित 
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि दाङको तुलसीपुरस्थित मेट्रो अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम स्थगित गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बिहीबारसम्म खोप कार्यक्रम स्थगित गरिएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए । उनका अनुसार हाल तुलसीपुरमा सात स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । 

कैलालीका सरकारी कार्यालय धमाधम बन्द 
कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि कैलालीका सरकारी कार्यालयहरू धमाधम बन्द हुन थालेका छन् । कैलालीमा जिल्ला प्रशासनसहित आधा दर्जनभन्दा बढी सरकारी कार्यालयले अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । कार्यरत १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । केही कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको उनले बताए । सुरक्षाको मापदण्ड अपनाएर मुद्दा र शान्ति–सुरक्षासम्बन्धी सेवा भने सुचारु रहेको प्रशासनले जनाएको छ । अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न र खोपकार्ड लिएर आउन पनि प्रशासनले आग्रह गरेको छ । 

गोदावरी नगरपालिकाको कार्यालय पनि गत आइतबारबाट एक साताका लागि बन्द गरिएको छ । नगरपालिकाले सूचना जारी गरेर १५ माघसम्म सेवा बन्द गरेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले यो अवधिमा सरसफाइ, स्वास्थ्य र दमकललगायतका अत्यावश्यकीय सेवा भने सुचारु रहने बताएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि सेवा बन्द गरेको छ । धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका र जोशीपुर गाउँपालिकाले पनि कर्मचारी संक्रमित भएकाले मंगलबारसम्म सेवा स्थगन गरेका थिए । ती कार्यालयमा बुधबारबाट सेवा सुरु भएको छ ।