नेपाल भ्रष्टाचारव्याप्त मुलुककै श्रेणीमा, ३३ अंकसहित ११७औँ स्थानमा

विश्वमा डेनमार्क, फिनल्याण्ड र न्युजिल्याण्ड तथा सार्क मुलुकमा भुटानमा सबैभन्दा कम भ्रष्टाचार

मंगलबार, ११ माघ, २०७८
डिजिटल संस्करण

भ्रष्टाचारसम्बन्धी सूचकांक निकाल्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले गत वर्ष (सन् २०२१) मा संसारभरका देशहरूको भ्रष्टाचारको स्थितिको सूचकांक सार्वजनिक गरेको छ । जसअनुसार नेपाल बढी भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको सूचकांकअनुसार गत वर्ष भ्रष्टाचारमा नेपालले ३३ अंक पाएको छ । कम भ्रष्टाचार हुने मुलुकको क्रमशः तथ्यांक जारी गर्दा ट्रान्सपरेन्सीले नेपाललाई ११७औँ स्थानमा दर्ज गरेको छ । गत वर्ष पनि नेपालको स्थान यति नै थियो । यसको अर्थ नेपालको भ्रष्टाचार अवस्था नसुध्रिएको ट्रान्सपरेन्सीले जनाएको छ । 

‘गत वर्ष पनि यस सूचीमा नेपालको अंक ३३ (११७औँ स्थान) नै रहेको थियो,’ ट्रान्सपरेन्सीले भनेको छ, ‘यसअनुसार नेपाल भ्रष्टाचारव्याप्त मुलुकहरूको श्रेणीमै रहेको छ ।’ अघिलो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिने संस्थाले जनाएको छ । ट्रान्सपरेन्सीले एक सय ८० देशको भ्रष्टाचारको अवस्था अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

५० भन्दा कम अंक पाउनेलाई ट्रान्सपरेन्सीले बढी भ्रष्टाचार हुने मुलुक मान्छ । २०२१ मा दुईतिहाइ मुलुकले ५० भन्दा कम अंक पाई बढी भ्रष्टाचार हुने मुलुकका रूपमा रहेका जनाइएको छ । यस वर्षको औसत स्कोर ४३ छ । त्यसभन्दा कम अंक पाउनेलाई अति भ्रष्टाचार हुने मुलुकका रूपमा लिइन्छ । यही अंकका आधारमा ‘ र्‍यांक’ निकालिन्छ । 

डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्डमा सबैभन्दा कम भ्रष्टाचार, दक्षिण सुडान सबैभन्दा बढी भ्रष्ट
सूचकांकअनुसार गत वर्ष डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएका छन् । ती मुलुकले सयमा ८८ अंक पाएका छन् । त्यस्तै सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दक्षिण सुडान रहेको छ । ११ अंकसहित उक्त देश १८०औँ स्थानमा छ । 

सार्क मुलुकमा भुटानमा सबैभन्दा कम भ्रष्टाचार 
सिपिआई २०२१ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छ । भुटानले ६८ अंक प्राप्त गरी २५औँ स्थानमा छ । त्यस्तै, माल्दिभ्स ४० अंकसहित ८५औँ, भारत ४० अंकसहित ८५औँ, श्रीलंक ३७ अंकसहित १०२औँ स्थानमा छ ।  पाकिस्तान २८ अंकसहित १४०औँ र बंगलादेश २६ अंकसहित १४७औँ स्थानमा छ । सार्कमा सबैभन्दा बढी भ्रष्टाचार भुटानमा रहेको ट्रान्सपरेन्सीले औँल्याएको छ । अफगानिस्तान १६ अंक प्राप्त गरी १७४औँ स्थानमा छ । 
 

सुझावित समाचार