मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ११ मंगलबार
  • Wednesday, 18 December, 2024
२o७८ माघ ११ मंगलबार o७:o५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अफ्रिदी वर्षकै उत्कृष्ट खेलाडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ११ मंगलबार o७:o५:oo

 पाकिस्तानका तीव्र गतिका बलर साहिन साह अफ्रिदी सन् २०२१ का उत्कृष्ट वर्ष खेलाडी बनेका छन् । आइसिसीले गत वर्ष सबै किसिमको फम्र्याटमा गरेको प्रदर्शन आधारमा अफ्रिदीलाई उत्कृष्ट खेलाडी घोषित गरेको हो ।अफ्रिदीले प्लेयर अफ दी इयर हुँदै दि सर गरफिल्ड सोबर्स ट्रफी हात पारेका छन् । वर्षको उत्कृष्ट क्रिकेटर चुनिँदा अफ्रिदीले इंग्ल्यान्डका कप्तान जोए रुट, न्युजिल्यान्डका कप्तान केन विलियम्सन र पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई पछि पारे । 

आइतबार मात्रै पाकिस्तानका रिजवान अन्तर्राष्ट्रिय टी–२० का उत्कृष्ट खेलाडी बनेका थिए । गत वर्ष अफ्रिदीले ३६ अन्तर्राष्ट्रिय खेलमा ७८ विकेट लिएका थिए । अफ्रिदीले विशेष गरी टेस्ट र टी–२० मा उत्कृष्ट प्रदर्शन गरेका थिए । अक्टोबर–नोभेम्बरमा युएईमा सम्पन्न आइसिसी टी–२० विश्वकपमा उनले पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्‍याउन उत्कृष्ट योगदान दिएका थिए ।

पाकिस्तानले सुपर–१२ को बीको पहिलो खेलमै चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई १० विकेटले हराउन अफ्रिदीले उत्कृष्ट बलिङ गरेका थिए । भारतविरुद्धको खेलमा अफ्रिदीले रोहित शर्मा, लोकेश राहुल र विराट कोहलीजस्ता दिग्गज खेलाडीको विकेट लिँदै पाकिस्तानको जित आधार तय गरेका थिए । अफ्रिदीकै प्रदर्शनमा पाकिस्तानले विश्वकप इतिहासमा पहिलोपटक भारतलाई हराउन सफल भएको थियो । टी–२० विश्वकपमा अफ्रिदीले सात खेलमा ६ विकेट हात पारे । गत वर्ष पाकिस्तानले न्युजिल्यान्ड, दक्षिण अफ्रिका, जिम्बाबे, वेस्ट इन्डिज तथा बंगलादेशविरुद्ध टेस्ट सिरिजमा सहभागिता जनाएको थियो । समग्रमा नौ टेस्टमा अफ्रिदीले ४७ विकेट लिए । 

 टेस्टमा रुट उत्कृष्ट
टी–२० र एकदिवसीय फम्र्याटमा उपाधि विमुख भएका इंग्ल्यान्डका रुट गत वर्ष टेस्टतर्फ उत्कृष्ट खेलाडी बनेका छन् । गत वर्ष उनले इंग्ल्यान्डको प्रतिनिधित्व गर्दै १५ टेस्ट खेल्दा एक हजार सात सय आठ रन बटुले । उनले ६ शतकीय इनिङ्स पनि खेले । टेस्ट क्यालेन्डर वर्षमा १७ सय रन पूरा गर्ने उनी तेस्रो ब्याट्सम्यान हुन् । उनीअघि पाकिस्तानका मोहमद युसुफ तथा वेस्ट इन्डिजका भिभियन रिचार्डले यस्तो सफलता चुमेका थिए । 

 बाबर एकदिवसीयकै उत्कृष्ट
पाकिस्तानका ओपनर बाबर आजाम एकदिवसीय खेलकै उत्कृष्ट खेलाडी बनेका छन् । बाबरले गत वर्ष ६ एकदिवसीय खेलमा दुई शतकको मद्दतमा चार सय पाँच रन बनाए । पाकिस्तानले गत वर्ष दुई महत्वपूर्ण एकदिवसीय सिरिज हात पार्दा उनको योगदान मुख्य मानिएको थियो । दक्षिण अफ्रिकाविरुद्धको घरेलु सिरिजमा पाकिस्तान २–१ ले विजयी हुँदा बाबरले प्रेरणादायी प्रदर्शन गरेका थिए । उनले पहिलो खेलमा शतक तथा तेस्रो खेलमा ९४ रन बनाएका थिए । 

 इमर्जिङ पुरुषमा मालान
दक्षिण अफ्रिकाका जानेम्यान मालान आइसिसी पुरुष इमर्जिङ खेलाडी घोषित भएका छन् । गत वर्ष मालानले १७ अन्तर्राष्ट्रिय खेलमा सात सय १५ रन बनाएका थिए । २५ वर्षीया मालानले गत वर्ष एक सय एक स्ट्राइकमा ब्याटिङ गर्दै आयरल्यान्डविरुद्ध एक सय ७७ रन तथा श्रीलंकाविरुद्ध एक सय २१ रनको शतकीय इनिङ्स खेलेका थिए ।