१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेशमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:o६:oo
  •  सर्लाहीको मलंगवा वितरण केन्द्रको विद्युत् चुहावट ४३ दशमलव ८२ प्रतिशत 
  •  औद्योगिक ग्राहक धेरै रहेको बाराको सिमरा वितरण केन्द्रको चुहावट शून्य दशमलव ४८ प्रतिशत मात्र


नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०७८÷७९ को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर ९ दशमलव १० प्रतिशतमा झारेको छ । चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको मंसिरसम्मको तुलनामा यस वर्ष २ दशमलव ८२ प्रतिशत बिन्दुले घटाएको हो । गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत् चुहावट ११ दशमलव ९२ प्रतिशत थियो । प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालू आवमा समग्र प्रणालीको विद्युत् चुहावट १५ दशमलव ५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । 

चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालनमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट बिलिङ भएकोलगायतका कारणबाट चुहावट घटेको उनको भनाइ छ । सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो ।  

सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेशमा
प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालयमातहतका वितरण केन्द्रहरूमध्ये सबैभन्दा बढी चुहावट मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको रहेको छ । प्रादेशिक कार्यालय जनकपुरमातहतका २३ वटा वितरण केन्द्रहरूको समग्र विद्युत् चुहावट १२ दशमलव ९९ प्रतिशत छ । अघिल्लो वर्ष १७ दशमलव ३६ प्रतिशत थियो । सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४३ दशमलव ८२ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत् चुहावट १० दशमलव १७ प्रतिशत थियो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत् चुहावट ३९ दशमलव ८० प्रतिशत रहेको थियो । गत वर्ष त्यस केन्द्रको चुहावट ५३ दशमलव ०७ प्रतिशत थियो । महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ४२ दशमलव २७ प्रतिशत रहेकोमा यस वर्ष ३७ दशमलव ६१ प्रतिशत रहेको छ । औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट शून्य दशमलव ४८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष केन्द्रको चुहावट १ दशमलव ६७ प्रतिशत थियो । 

प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगरमातहतका २४ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट सुनसरीको इनरुवा वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत् चुहावट २४ दशमलव ८१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २७ दशमलव २२ प्रतिशत थियो । बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौँडामातहतका ६ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको ३० दशमलव ११ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत वर्ष त्यस केन्द्रको २६ दशमलव ५८ प्रतिशत चुहावट थियो । 

बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौंमातहतका २० वटा वितरण केन्द्रमध्ये सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी ३१ दशमलव ९३ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको २५ दशमलव १२ प्रतिशत चुहावट थियो । त्यसपछि सिन्धुपाल्चोककै हेलम्बु वितरण केन्द्रको विद्युत् चुहावट ३० दशमलव ७८ प्रतिशत छ । गत वर्ष केन्द्रको चुहावट ९ दशमलव २८ प्रतिशत थियो ।

गण्डकी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय पोखरामातहतका १३ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट म्याग्दी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष १८ दशमलव ९२ प्रतिशत रहेकोमा यस वर्ष १५ दशमलव ५५ प्रतिशतमा झरेको छ । लुम्बिनी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय बुटवलमातहतका ११ वटा वितरण केन्द्रहरूमध्ये सबैभन्दा बढी चुहावट कपिलवस्तुको तौलिहवा वितरण केन्द्रको २५ दशमलव ५६ प्रतिशत रहेको छ । गत वर्ष केन्द्रको चुहावट १४ दशमलव ८४ प्रतिशत थियो । 

लुम्बिनी प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगन्जमातहतका १४ वटा वितरण केन्द्रहरूमध्ये सबैभन्दा बढी विद्युत् चुहावट प्युठान वितरण केन्द्रको १९ दशमलव ४२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको चुहावट १९ दशमलव ९० प्रतिशत थियो । कर्णाली प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय सुर्खेतमातहतका ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ । केन्द्रको चुहावट गत वर्ष ३१ दशमलव २५ प्रतिशत रहेकोमा यस वर्ष २७ दशमलव १३ प्रतिशतमा झरेको छ ।   सुदूरपश्चिम प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय अत्तरियामातहत ११ वटा वितरण केन्द्रहरूमध्ये सबैभन्दा बढी चुहावट अछाम वितरण केन्द्रको रहेको छ । गत वर्ष १८ प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष बढेर २० दशमलव ४४ प्रतिशत पुगेको छ । 

ad
ad