१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ माघ ७ शुक्रबार १७:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हत्या गरेको नौ वर्षपछि हत्यारा पक्राउ

Read Time : < 1 मिनेट
२०७८ माघ ७ शुक्रबार १७:२०:००

एक युवकको हत्या गरी फरार रहेका दुई हत्यारा नौ वर्षपछि पक्राउ परेका छन् । काभ्रेको साबिक च्यासिंखर्क गाउँविकास समिति गाविस वडा नम्बर ९ का १८ वर्षीय एन्जल तामाङको हत्या गरेको नौ वर्षपछि हत्याराहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार तामाङको हत्यामा संलग्न बेथानचोक गाउँपालिका वडा नं. ४ का ३३ वर्षीय निलबहादुर तामाङ र २५ वर्षीय फौदे भन्ने पोते तामाङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार निलबहादुरलाई भक्तपुरस्थित दूधपाटीमा लुकीछिपी बसेको अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरको समन्वयमा पक्राउ गरिएको हो। त्यस्तै, पोतेलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार २०६९ कात्तिक ८ गते चलालगणेशस्थान गा.वि.स वडा नं २ स्थित श्री गणेश नि.मा. विको सांस्कृतिक कार्यक्रममा च्यासिंखर्क गा.वि.स वडा नं ९ र चलालगणेशस्थान गा.वि.स वडा नं. ३ का मानिसहरूबीच झडप भएको थियो । सोही क्रममा च्यासिंखर्क गा.वि.स वडा नं ९ का १८ वर्षीय एन्जल तामाङलाई पोते तामाङ र निलबहादुर तामाङको समूहले छुरा प्रहार गरी हत्या गरेका थिए । हत्या गरिएको अभियोगमा इलाका प्रहरी कार्यालय बनेपामा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धानपश्चात उनीहरूलाई जिल्ला अदालत काभ्रेले २०७४ असार १४ गते २० वर्ष कैदको फैसला सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी खतिवडाका अनुसार अदालतको फैसलापश्चात फरार रहेका उनीहरूलाई खोजतलास गरी एकजनालाई माघ ४ गते र अर्कालाई माघ ७ गते पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेमा पेस गरिएको उनले जनाएका छन्।