मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ७ शुक्रबार
  • Thursday, 19 December, 2024
गुप्सीपाखा खानेपानी आयोजनाको फुटेको पाइप ।
२o७८ माघ ७ शुक्रबार o९:o९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ करोड लागतको खानेपानी योजना  सम्पन्न भएको तीन वर्षमै प्रयोगविहीन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ७ शुक्रबार o९:o९:oo

६ करोड रुपैयाँको लागतमा तीन वर्षअघि निर्माण सम्पन्न गरिएको गुप्सीको एकीकृत बस्तीमा सञ्चालित खानेपानी आयोजना प्रयोगविहीन भएको छ । २१ किलोमिटर परबाट ल्याइएको खानेपानीको पाइप धेरै ठाउँमा क्षतिग्रस्त भएपछि आयोजना प्रयोगविहीन भएको हो । 

तीन हजार आठ सय ५० मिटर उचाइमा रहेको भुल्मचेतको मुहानबाट ल्याएको खानेपानी पाइपमा हिउँ जमी जहाँतहीँ फुटेर हैरान पारेको भुल्मचेत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए । ‘हिउँ पर्न थालेपछि पाइपभित्रै पानी जम्न थाल्छ । त्यसपछि फलामको पाइप जहाँतहीँ फुट्छ,’ गुरुङले भने, ‘बनाउनेबित्तिकै यस्तो समस्या देखिएको हो । यसपालि पनि पाइप फुटेर पानी नआएको डेढ महिना भइसक्यो ।’ 

आयोजनाको समथर ठाउँमा कालो पाइप र भिरालोमा फलामे पाइप प्रयोग गरिएको छ । प्राविधिक कारणले फलामका पाइपहरू फुट्नाले स्थानीय पानी उपभोग गर्नबाट वञ्चित भएका छन् । धेरै टाढाबाट कष्टपूर्वक ल्याइएको खानेपानी प्रयोग गर्न नपाउँदा दुःख लागेको उनको भनाइ छ । यसअघि ठाउँठाउँमा टालटुल गरेर काम चलाइएको भए पनि अहिले भने पाइपमा धेरै नै क्षति पुगेकाले बनाउन असम्भव रहेको गुरुङ बताउँछन् । ‘खानेपानी मर्मत गर्न जान एकदिन, फर्कन अर्को एकदिन लाग्छ । सजिलाका लागि बीचतिर एउटा घर निर्माण गरिएको थियो । त्यो पनि नचिनेका मान्छेले भत्काइदिएछन्,’ उनले भने, ‘त्यहाँका जेनेरेटरलगायत सबै सामान पनि फुटाइदिएछन् । त्यो सामान नौजनाले तीनदिन लगाएर ढुवानी गरेका थिए । अब मर्मत गर्न समितिसँग बजेट छैन ।’
 
२१ किलोमिटर दूरीमा १२ वटा ट्यांकी निर्माण 
केयर नेपाल र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोग र स्वाँरा सघन ग्रामीण विकास केन्द्रको साझेदारीमा खानेपानी परियोजना सम्पन्न भएको हो । नेपाल भूकम्प पुनर्लाभ तथा पुनस्र्थापना परियोजनाअन्तर्गत पाँच करोड ८७ लाख २० हजार रुपैयाँ लागतमा खानेपानी परियोजना सम्पन्न भएको स्वाँरा सघनका कार्यक्रम संयोजक द्रोणाचार्य तिमल्सिनाले बताए । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको पाँच सय ७३ घर रहेको एकीकृत बस्तीमा आयोजनाबाट ल्याइएको खानेपानी वितरण गरिएको छ । 

‘खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट पाइप खरिद र फिटिङ गर्न एक करोड ८७ लाख तीन हजार ७६ रुपैयाँ र केयर नेपालको तर्पmबाट अन्य सामग्री खरिद, सामान ढुवानी र कामदारको ज्यालाका लागि तीन करोड ७० लाख २५ हजार रुपैयाँ खर्च भएको थियो,’ तिमल्सिनाले भने । हिमाली क्षेत्रमा खानेपानी पाइप सबै हेलीमार्पmत ढुवानी गर्नुपरेकाले पनि धेरै लागत लागेको उनको भनाइ छ । ग्रामीण भूगोल र हिमाली क्षेत्र भएकाले खानेपानी निर्माणमा खटिने कामदारको ज्यालामा मात्र एक करोड ५९ लाख खर्च भएको उनले जानकारी दिए । १४ चैत ०७३ बाट सुरु भएको आयोजना ०७५ फागुनमा सम्पन्न भएको थियो । वडाध्यक्ष राज गुरुङले विकासको आशा देखाएर उपभोक्तालाई दुःख दिने काम भएको भन्दै आपत्ति प्रकट गरे ।

वैकल्पिक मुहानको खोजी
खानेपानी आयोजनामा पटक–पटक समस्या आएपछि वैकल्पिक मुहानको खोजी भएको छ । ‘धेरै उचाइमा रहेको र लामो दूरी रहेकाले समस्या भएको हो, त्यसैले छोटो दूरी र कम उचाइमा रहेको मान्द्रा खोलाबाट खानेपानी ल्याउने भनेर वैकल्पिक मुहान खोजेका छौँ,’ अध्यक्ष गुरुङले भने । वैकल्पिक नयाँ मुहानको डिपिआर तयार पारेर प्रदेश सरकारलाई पठाइसकेको उनले बताए । नयाँ मुहानबाट पानी ल्याउन सके फलामका पाइपहरू चिसोबाट नफुट्ने उनको भनाइ छ । वैकल्पिक मुहान २८ सय १८ मिटरको उचाइमा रहेको उनले बताए । मुहानबाट ल्याइएको पानी यसअघि निर्माण गरिएको लाम्रमा रहेको खानेपानी ट्यांकीमा आएर जोडिनेसमेत उनले बताए ।