Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ७ शुक्रबार ०८:५४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालबाट अमेरिका,  युरोपमा अनलाइन जुवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ७ शुक्रबार ०८:५४:००

नेपालमा बसेर चीनमा जुवा खेलाउने एक सय २२ चिनियाँलाई गत वर्ष नेपाल प्रहरीले पक्राउ गरी निष्कासन गरेको थियो । चीनमा मात्र होइन, नेपालमार्फत युरोपियन तथा अमेरिकालगायत देशमा पनि यसरी अनलाइन जुवा खेलाउने गरिएको प्रहरीले पत्ता लगाएको छ । 

एसएसपी वसन्तबहादुर कुँवर प्रमुख, महानगरीय अपराध महाशाखा

दुई सिफ्टमा कर्मचारी राखेर २४सै घन्टा अनलाइन जुवा खेलाउने गरेको देखियो । जुवामा भएको हार–जितअनुसार उनीहरूले निश्चित कमिसन पाउने रहेछन् ।

बुधबार प्रहरीले अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर यस्तो धन्दामा संलग्न १२ जना नेपालीलाई पक्राउ गरेको छ । उनीहरूले तीनवटा घर भाडामा लिएर २४सै घन्टा अनलाइन जुवा खेलाउने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले बताए । ‘दुई सिफ्टमा कर्मचारी राखेर २४सै घन्टा अनलाइन जुवा खेलाउने गरेको देखियो,’ एसएसपी कुँवरले भने, ‘जुवामा भएको हार–जितअनुसार उनीहरूले निश्चित कमिसन पाउने रहेछन् ।’ चोभारका सुजेन्द्र थापा, प्रदीपमानसिंह बस्नेत र बुद्ध महर्जनले यसरी जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्य नौजनालाई उनीहरूले कर्मचारीका रूपमा राखेका थिए । 

विगत १० महिनादेखि उनीहरूले यो धन्दा चलाएको प्रहरी दाबी छ । उनीहरूले जुवा, फायर किरिङ, रिभर स्विप्स, रिभर मोनस्टर, भेगास–एस जस्ता एपमार्फत जुवा खेलाउने गर्दथे । जुवा भने विदेशीलाई नै खेलाउँदै आएका थिए । उनीहरूले जुवा खेलाउन सातवटा एप प्रयोग गरेको र एउटाबाट मासिक दुईदेखि तीन हजार डलरसम्म लिने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाले महिनामै एक लाखभन्दा धेरै डलरको हारजित हुने गरी आफूहरूले जुवा खेलाउँदै आएको बताएका छन् । सो गिरोहको मुख्य नाइके भने पत्ता लागिनसकेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका अन्यमा मनीष थापा, समीर थापा, कविता थापा, रविन खड्का, रोजा महर्जन, साहिल महर्जन, हनिशा महर्जन, विनोद ठगुन्ना, रमादेवी श्रेष्ठ छन् । उनीहरूलाई जुवा ऐनअनुसार प्रहरीले कारबाही अघि बढाएको छ । उनीहरूबाट १४ वटा ल्यापटप र १७ वटा मोबाइल पनि प्रहरीले बरामद गरेको छ । 

प्रहरीलाई प्राप्त सूचनाअनुसार यसरी नेपालमार्फत अनलाइन जुवा खेलाउने दर्जनौँ समूह यहाँ सक्रिय छन् । अनलाइन जुवा खेलाउँदा नियमित रूपमा कर्मचारी चाहिने र नेपालमार्फत गर्दा सस्तो पर्ने भएकाले धेरैवटा अन्तर्राष्ट्रिय समूहले नेपाललाई सेल्टर बनाएका छन् । महाशाखाका एसएसपी कुँवर भन्छन्, ‘अरू धेरैवटा समूह सक्रिय छन् भन्ने सूचना छन्, हामी अनुसन्धान गरिरहेका छौँ ।’ 

केशर पुस्तकालयमा चोरी गर्ने दुई पक्राउ 
केशरमहलस्थित केशर पुस्तकालयमा चोरी गर्ने दुई युवक पक्राउ परेका छन् । दाङका सुमन शर्मा र रुकुम पश्चिमका वीरबहादुर सुनारलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । उनीहरूले पुस्तकालयबाट दुईवटा तरबार तथा बाघको टाउको आकृतिको पुरातात्विक वस्तु चोरी गरेका थिए । चोरी गरेको सामान पुस्तकालयकै कम्पाउन्डमा बोरामा राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । केशरमहलमा पुनर्निर्माणमा संलग्न कामदारकै मिलेमतोमा चोरी भएको हो ।