मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ माघ २ आइतबार १४:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नोबेल मेडिकल कलेजका सञ्चालक शर्मालाई कारबाही नगरे आन्दोलन थप चर्काउने विद्यार्थीको घोषणा 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ माघ २ आइतबार १४:०२:००

एमबिबिएस प्रथम वर्षका विद्यार्थीसँग कानुनविपरीत साढे चार लाख रुपैयाँ अतिरिक्त शुल्क असुल्न खोजेको विरोधमा आन्दोलन गर्दै आएका पीडित विद्यार्थी र समर्थन गर्दै  आएका पाँच विद्यार्थी संगठनसँग विराटनगरस्थित नोबेल मेडिकल कलेजको द्वन्द्व थप चर्किएको छ।   
  
अतिरिक्त शुक्त्त खारेजीको विरोधमा १४ पुसदेखि आन्दोलित विद्यार्थीको माग पूरा गर्नुको साटो उल्टै केही  अभिभावकलाई दबाबमा पारेर सहमतिको बहाना बनाउँदै पीडित विद्यार्थीलाई थप दबाबमा राख्न खोजेपछि  पीडित विद्यार्थी र संगठनहरूसँग  नोबेल मेडिकल कलेजकाको द्वन्द्वथप चर्किएको हो। 
 
शनिबार चारजना अभिभावकलाई दबाबमा पारेर  सबै विद्यार्थीसँग सहमति भएको भन्दै नोबेलले सहमतिपत्र सार्वजनिक गरेपछि असन्तुष्ट विद्यार्थी र उनीहरूलाई समर्थन गर्दै आएका पाँच विद्यार्थी संगठनहरू थप आक्रोशित बनेका छन्। 

पीडित विद्यार्थी र संगठनहरूसँग कुनै छलफल नै नगरी र आमअभिभावकहरूको सहमति नै नलिईकन केही अभिभावकलाई दबाबमा पारेर सहमतिका नाममा नोबेलले थप जालझेल गरेको आरोप विद्यार्थीको छ। 

पीडित विद्यार्थी र संठगनहरूले  आइतबार संयुक्त्त विज्ञप्ति जारी गर्दै एकलौटी सुटुक्क गरेको सहमतिको बहाना मान्य नहुने र नियम–कानुनविपरीत कार्य गर्नेलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन्। साथै उनीहरूले आइतबारदेखि नै नोबेल मेडिकल कलेज र कानुनी कारबाही गर्न निरीहता प्रकट गर्ने सरकारविरुद्ध आन्दोलन सशक्त्त बनाउने घोषणा पनि गरेका छन्। 

अन्यायमा परेका विद्यार्थीले पन्ध्र दिनदेखि निरन्तर संघर्ष गर्दा पनि सरकारले न त दोषीलाई कानुनी कारबाही गर्न सकेको छ न त विद्यार्थीलाई पढ्ने वातावरण बनाइदिन सकेको भन्दै सरकारले पनि नोबेलसँग मिलेमताे गरेर अन्याय गरेको आशंका गरेका छन्।     

आइतबार बिहान अखिल क्रान्तिकारी मोरङ अध्यक्ष नगेन्द्र घिमिरे, चिकित्सा शिक्षा संघर्ष समिति केन्द्रीय संयोजक मनीष भट्टराई, एकीकृत समाजवादी अनेरास्ववियू मोरङ सचिव निर्मल भण्डारी, समाजवादी विद्यार्थी संगठन मोरङका उपाध्यक्ष तरुणविक्रम खवास,  नेविसंघ मोरङका जसवन्त पौडेल र एमाले  अनेरास्ववियु मोरङका जोसेफ घिमिरेसमेतको संयुक्त बैठकले नोबेलविरुद्ध आन्दोलन थप सशक्त बनाउने घोषणा गर्दै संयुक्त विज्ञप्ति जारी गरेको  छ।

११ पुसदेखि एमबिबिएस प्रथम वर्षको पढाइ सुरु गरेको नोबेलले  चार लाख ४२ हजार शुल्क नबुझाएको भन्दै विद्यार्थीलाई १४ पुसदेखि कक्षा प्रवेशमा रोक लगाउँदै आएको छ। 

चिकित्सा  शिक्षा आयोग र सरकारले निर्देशन गरिसक्दा पनि अटेर गरेर विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाइरहेको भन्दै आन्दोलनरत विद्यार्थीले पाँच विद्यार्थी संगठनको सहयोगमा  २१ पुसमा नोबेल मेडिकल कलेजको प्रशासन कार्यालयमा  ताला लगाएर निरन्त प्रदर्शन गर्दै आएका छन्। विद्यार्थीका अनुसार  नोबेलमा अझै अतिरिक्त शुल्क बुझाउन नसक्ने ७२ जना विद्यार्थी पढ्नबाट वञ्चित भइरहेका छन्।  


यता आन्दोलनरत विद्यार्थी र अभिभावकसँग  वार्ता गर्नुको साटो नोबेलले शनिबार चारजना विद्यार्थीका अभिभावकलाई दबाबमा पारेर मासिक दुई हजार होस्टेल शुल्क घटाउँदै आन्दोलनमा सहभागी भए विद्यार्थीलाई कलेजबाट निष्कासन गर्नेसम्मको चेतावनीसहितको सहमतिपत्र सार्वजनिक गराएको थियो। शनिबार नोबेलको दबाबमा भएको  द्विपक्षीय वार्तामा अभिभावकहरू  वीरेन्द्रकुमार यादव, राजेन्द्रबहादुर थापा, प्रकाश फुँयाल र रामकुमार भट्टराईले मात्र हस्ताक्षर गरेका छन्।   

विद्यार्थीले एमबिबिएस कोर्सको कुल ४४ लाख ३६ हजारमध्ये  प्रथम वर्षको १४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबिबिएस प्रथम वर्षमा भर्ना भएका हुन्। नोबेलमा एमबिबिएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसिपबापत दुई लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्कबापत ९८ हजार र होस्टेल शुल्क एक लाख ४४ हजारलगायतका अन्य धेरै शुल्कसहित चार लाख ८२ हजार अतिरिक्त बुझाउन विद्यार्थीलाई दबाब दिँदै आएको छ।