मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सन् २०२१ मा गोरखाको मनास्लु हिमाल आरोहण गर्दै विदेशी पर्यटक । तस्बिर : सेभेन समिट ट्रेक ।
२०७८ पौष २३ शुक्रबार १३:४४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मनास्लुमा बढे विदेशी पर्यटक 

Read Time : > 1 मिनेट
२०७८ पौष २३ शुक्रबार १३:४४:००

प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लु संरक्षण क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या विगतमा भन्दा वृद्धि भएको छ । कोरोना महामारीसँगै सुरु भएको लकडाउनका कारण घटेको विदेशी पर्यटकको संख्या अहिले बढ्न थालेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ । 

एमक्यापका अनुसार सन् २०२० को तुलनामा सन् २०२१ मा मनास्लु क्षेत्र पुग्ने विदेशी पर्यटकको संख्या एक सय ५० प्रतिशतले बढेको छ । ‘मनास्लु क्षेत्रमा भूकम्प, डेंगु र कोभिडका कारण पर्यटकको संख्या घटेको भए पनि पछिल्लो समयमा पर्यटकहरू मनास्लु आउने क्रम बढेको छ । ‘आगामी दिनमा अन्य कुनै प्राकृतिक विपत् तथा महामारी नफैलिए अझ बढ्ने अनुमान गरेका छौँ,’ एमक्यापका संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले भने । 

तुम्बाहाम्फेका अनुसार सन् २०२१ मा नौ सय २४ जना विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । सार्क राष्ट्रबाट २० जना र अन्य राष्ट्रबाट नौसय चारजना गरी कुल  नौ सय २४ जना विदेशी पर्यटक मनास्लु पुगेको उनले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै गत अक्टोबरमा दुई सय ५६, सेप्टेम्बरमा दुई सय २९ र नोभेम्बरमा दुई सय तीनजनाले मनास्लु क्षेत्र भ्रमण गरेका छन् । कोभड जोखिमकैबीच गत अप्रिलमा ९८, मार्चमा ४९,  डिसेम्बरमा ३९, अगस्टमा २७ र जनवरीमा २३ जना विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेको उनले जानकारी दिए । सन् २०२० मा तीन सय ७१ जना पर्यटक मनास्लु क्षेत्र पुगेका थिए ।

‘विदेशी पर्यटक आउने मुख्य सिजन भनेको ‘अप्रिल, सेप्टेम्बर र अक्टोम्बर महिनामा हो । अक्टोबरमा हिमाल चढ्ने बढी आउछँन्,’ उनले भने । यो वर्ष कोरोना महामारी कम हुँदै गएकाले पर्यटक आगमनको संख्या बढेको उनको भनाइ छ । 

तुम्बाहाम्फेका अनुसार भूकम्प जानुअगाडि मनास्लु पुग्ने विदेशी पर्यटकको संख्या सात हजारजनासम्म पुगेको थियो । भूकम्प गएपछि तीन हजारमा झरेको पर्यटकको संख्या  कोभिड महामारीपछि निकै कम भएको पनि उनले बताए । ‘भूकम्प जानुअगाडि झैँ पर्यटक आइरहेको भए अहिले मनास्लु पुग्ने पर्यटकको संख्या वार्षिक १० हजारभन्दा बढी हुन्थ्योे,’ उनले भने,  ‘तर, प्राकृतिक विपत् र महामारीका कारण पर्यटन क्षेत्रमा धक्का लाग्न पुग्यो ।’ 

विदेशी पर्यटकको चहलपहलले गुल्जार रहने मनास्लु क्षेत्र भूकम्प र कोरोनाका कारण नराम्ररी थलिएको थियो । तर, पछिल्लो समयमा भने पर्यटक आगमन बढेसँगै सो क्षेत्र बिस्तारै तंग्रिन थालेको छ ।