अलैंँची उत्पादनमा भारी गिरावट : यस वर्ष ३५ मेट्रिकटन मात्रै अलैँची उत्पादन
लमजुङमा अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले अलैंँची उत्पादन घटेको छ । अलैँची उत्पादनमा भारी गिरावट हुँदा लमजुङका अलैँची किसान चिन्तित बनेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब ८५ प्रतिशतले अलैँची उत्पादन घटेको अलैँची जोन लमजुङले जनाएको छ ।
गत वर्ष ४ सय मेट्रिकटन अलैँची उत्पादन भएकोमा यस वर्ष ३५ मेट्रिकटन अलैँची उत्पादन भएको अलैंँची व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष अजय तामाङले बताए । उनका अनुसार गत वर्ष लमजुङका अलैँची किसानले चार सय मेट्रिकटन अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका थिए । तर, यस वर्ष उत्पादन घटेर ३५ मेट्रिकटन अलैँची बिक्रीबाट तीन करोड ५० लाख आम्दानी गरेका छन् ।
अध्यक्ष तामाङका अनुसार जलवायु परिवर्तन, सिँचाइको कमी र रोग प्रकोपका कारण यस वर्ष अलैँची उत्पादनमा भारी गिरावट आएको हो । लमजुङमा एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैँची खेती विस्तार गरिए पनि खडेरी र रोग प्रकोपका कारण ६ सय ५० हेक्टर क्षेत्रफलमा मात्र अलैँची उत्पादन भएको छ । दशकअघि प्रतिकेजी दुई हजार दुई सयसम्म रहेको अलैँचीको मूल्य घटेर हाल एक हजार एक सय ५० मा बिक्री भएको छ ।
जिल्लामा १५ हजारभन्दा बढी कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् । अलैँचीका लागि उर्वर क्षेत्र मानिएको जिल्लाका उच्च पहाडी क्षेत्रमा उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् । जिल्लाको भुलभुले, बाँझाखेत, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायत गाउँका पाखामा व्यावसायिक रूपमा अलैँचीखेती गरिँदै आएको छ ।
जिल्लाका अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र बनाएर विशेष कार्यक्रम सुरु गरिएको छ । जिल्लामा साउने, डम्बरसाई, जिर्मले, रामशाई, गोलसाई जातका अलैँची खेती गरिँदै आएको छ । अलैँची व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएकाले गाउँगाउँबाट सहरमा पसेकासमेत आफ्नै गाउँ फर्किएर अलैँची व्यवसाय सुरु गर्न थालेका छन् । पछिल्लो समय लमजुङ अलैँचीको हब जिल्लाको रूपमा समेत परिचित हुँदै गएको छ ।