१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २३ शुक्रबार
  • Saturday, 28 September, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o७८ पौष २३ शुक्रबार o९:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सात वर्षपछि एकैदिन एमालेको ७७ जिल्ला अधिवेशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २३ शुक्रबार o९:५o:oo

एमालेले लामो समयको अन्तरालमा शुक्रबार एकैदिन ७७ जिल्ला कमिटीको अधिवेशन गर्दै छ । दशौँ महाधिवेशन सकिएको एक महिनाकै बीचमा एमालेले एकैदिन सबै जिल्लाको अधिवेशन गर्न लागेको हो ।

जिल्ला अधिवेशनलगत्तै ८ माघमा एकैदिन सबै प्रदेशको अधिवेशन गर्ने एमालेको तयारी छ । सात वर्षपछि हुन लागेको अधिवेशनको उद्घाटन अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट गर्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

०७१ असारमा भएको एमालेले नवौँ महाधिवेशनअघि जिल्लाहरूको अधिवेशन भएका थिए । त्यसयता एमालेले जिल्ला तहमा अधिवेशन गरेको छैन । सामान्यतया जिल्ला अधिवेशन तीन वर्षमा हुने गरे पनि माओवादी केन्द्रसँग एकता भएपछि दुवै पार्टीका कमिटीको एकीकरण भएका थिए । तर, तत्कालीन नेकपाका कमिटी चलायमान नहुँदै २३ फागुनमा सर्वोच्च अदालतको फैसलाले नेकपा एकता भंग भएको थियो । लगत्तै एमाले र माओवादी केन्द्रका पुरानै सांगठनिक संरचना ब्युँतिएका थिए । 

सातदेखि आठ वर्षसम्म एउटै व्यक्ति एउटै तहको पदमा रहँदा वडादेखि केन्द्रसम्म नेतृत्व विकास अवरुद्ध भएको छ । यही कारण शुक्रबारको जिल्ला अधिवेशनमा एमालेको विशेषतः युवा समूहका धेरै कार्यकर्ता जिल्लामा पदाधिकारीका लागि आकांक्षी देखिएका छन् ।

आकांक्षी धेरै देखिएपछि नेतृत्व चयन गर्न सहज बनाउन केन्द्रीय कार्यालयका तर्फबाट संगठन विभागले बिहीबार निर्देशन जारी गरेको छ । विभागका प्रमुख खगराज अधिकारीले जारी गरेको निर्देशनमा जिल्लामा पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालय सदस्य भई काम गरेको हुनुपर्ने उल्लेख छ । त्यस्तै, सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तहमुनिको कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने उल्लेख छ । एकताबाट पार्टीमा संगठित भएकाहरूको हकमा भने पूर्वपार्टी अर्थात् तत्कालीन नेकपा वा पूर्वमाओवादी समूहमा जो जुन तहको जिम्मेवारीमा छ, उसलाई त्यही तहको जिम्मेवारी दिने गरी एमालेले निर्देशन जारी गरेको छ । 

स्थायी समिति सदस्यसमेत रहेका संगठन विभाग प्रमुख अधिकारीले पार्टी विधानमा जिल्ला नेतृत्व चयनका लागि थप मापदण्ड तोक्न सक्ने व्यवस्था रहेकाले निर्देशन जारी गरिएको बताए । एमालेको २५ र २६ मंसिरमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले २३ पुसमा सबै जिल्ला र ८ माघमा सबै प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको थियो । बैठकपछि अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र त्यसो हुन नसकेको निर्वाचनको विधि अवलम्बन गर्न निर्देशन दिएको थियो ।

निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशनअनुसार गर्न एमालेले निर्देशन गरेको छ । एमालेले दशौँ महाधिवेशनअघि स्थानीय तहका अधिवेशन र महाधिवेशनको प्रतिनिधि चयन अधिकांश स्थानमा सर्वसम्मत सम्पन्न गरेको थियो । सोही कारण जिल्ला र प्रदेश अधिवेशन पनि सर्वसम्मत विधिबाटै चयन गर्न एमालेले जोड दिएको छ । 

महाधिवेशन र अधिवेशनहरूलगत्तै देशमा केन्द्र, प्रदेश र स्थानीय तहका निर्वाचन सम्पन्न हुन लागेको भन्दै एमालेले सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकता दिँदै आएको छ । तर, लामो समयको अन्तरालमा अधिवेशन हुन लागेकाले सबै जिल्लामा आकांक्षी धेरै भएकाले केन्द्रीय नीतिअनुसार सर्वसम्मत नेतृत्व चयन एमालेका लागि सहज भने छैन ।