Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ पौष २२ बिहीबार ११:२५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बरभञ्ज्याङ आगलागी नियन्त्रणमा, एक करोड ९० लाखबराबरको क्षति

Read Time : > 1 मिनेट
२०७८ पौष २२ बिहीबार ११:२५:००

पाँचथरको फालेलुङ गाउँपालिका– ६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ। उक्त आगलागीमा तीन घर र ६ वटा पसल जलेर नष्ट हुँदा एक करोड ९० लाख रुपैयाँबराबरको क्षति भएको छ। गएराति १०ः४० बजे बरभञ्ज्याङका जितबहादुर मेयोङ्बा लिम्बूका घरमा ‘विद्युत् चुहावट’ भई आगलागी सुरु भएको थियो। आगलागीमा उनको दुईतले घर, दुग्ध डेरी, किराना पसल र नगद सात लाख रुपैयाँ तथा सोही घरमा रहेको नेपाली कांग्रेस फालेलुङ– ६ को वडा कार्यालय जल्दा ५७ लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै उक्त आगलागी छिमेकी रामजित राई र मनबहादुर राईको घरमा समेत सल्केको थियो। आगलागीमा रामजित राईको दुईतले घर र घरमा रहेका करिब ३५ लाख रुपैयाँका सम्पूर्ण सामग्री तथा उक्त घरमा डेरा गरी पसल गर्ने धर्म केरुङको किराना पसल र टेलर्स आगलागीमा जल्दा करिब पाँच लाख मूल्यको क्षति भएको छ।

यस्तै, मनबहादुर राईको दुईतले घर, उक्त घरमा स्थानीयवासी महेन्द्र राईले सञ्चालन गर्दै आएको आइएमई मनी ट्रान्सफर शाखा कार्यालय, महेन्द्रकै जुत्ता पसल तथा नगद र गरगहना जलेका छन्। सोही घरमा स्थानीयवासी धनप्रसाद राईले सञ्चालन गरेको किराना पसल र कम्प्युटर सेन्टर, सुरेन्द्र राईले सञ्चालन गरेको फेन्सी पसल र अलैँची गोदाम तथा रञ्जना राईको टेलर्समा आगलागी हुँदा ९३ लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

आगलागी नियन्त्रणका लागि प्रहरीको सिदिन, प्राङबुङ र नाङगिन प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालित हुनुका साथै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक डम्बर विश्वकर्माको कमान्डमा २५ जना तथा सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वार्टर हिमशिगर गुल्म फिदिमबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र साउदको कमान्डमा १४ जनाको टोली आगलागी नियन्त्रणका लागि घटनास्थल पुगेको थियो।

फिदिमबाट गएका दुईवटा दमकलको सहायताले स्थानीयवासी र सुरक्षाकर्मीले मध्यरात १ बजे आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। आगलागीमा घरबार गुमाएका छिमेकीको शरणमा बसेका छन्। रासस