नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैँभरि कप्तान बन्छु भनेर नआएको बताएका छन्। पूर्वकप्तानसमेत रहेका मल्लले विनाजानकारी कप्तानबाट हटाउँदा दुःख लागे पनि सधैँ कप्तान बन्नुपर्छ भन्ने अडानमा नरहेको स्पष्ट पारे।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा २८ खेलाडीसँगै अभ्यासका क्रममा सञ्चारकर्मीसँग बोल्दै मल्लले सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रित गर्ने बताए। आत्मसम्मानका हिसाबले अलि अप्ठ्यारो महसुस भएको भन्दै उनले देश, आफ्नो र परिवारका लागि खेल्ने बताए।
मल्लले क्यानसँग खेलाडीहरूको प्रोत्साहन भत्ता बढाउने र चार खेलाडीलाई गरिएको कारबाही फिर्ताको विषयमा पनि सहमति भएको जानकारी दिए।
सेन्ट्रल कन्ट्रयाक्टमा वर्गीकरणको विषयमा सञ्चारमाध्यममा बोलेका कारण चार खेलाडी ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरिएको थियो। त्यसपछि क्रिकेट संघ र खेलाडीबीचको विवाद उत्कर्षमा पुगेको थियो। क्यानले मल्ल र ऐरीको कप्तान र उपकप्तान पदबाट हटाउँदै युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको थियो।