![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/corona2021-03-15-09-52-01.jpeg)
भारत सरकारले यहाँका १५ देखि १८ वर्ष उमेरका युवायुवतीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका संक्रमित बढ्दै गएपछि सरकारले यहाँ यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीहरूले जनाएका छन् । भारतका स्वास्थ्यमन्त्रीले सो खोप लगाएको तस्बिर सार्वजनिक गरेका थिए ।
यहाँको सरकारले यो उमेर समूहका बालबालिकालाई खोप लगाउनका लागि अनलाइन दर्ता गर्न माग गरेको थियो । सोहीबमोजिम यहाँका करिब १२ लाख युवायुवतीले खोपका लागि सरकारको अनलाइनमा दर्ता गराएको बताइएको छ । उता भारतको मध्यप्रदेशमा कोरोना भाइरस पछिल्ला दिनहरूमा निकै अनियन्त्रित रूपमा बढिरहेको बताइएको छ । नयाँ संक्रमितहरूको वृद्धि हेर्दा यहाँ कोरोना भाइरसले तेस्रो लहरको संकेत दिएको यहाँका अधिकारीहरूले जनाएका छन् ।
भारतको मध्यप्रदेश राज्यमा मात्र सोमबार मात्र दुई सय २१ जना ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएका छन् । तर एक हप्ता अघिसम्म यहाँ ४२ जना मात्र ओमिक्रोन संक्रमित थिए । यहाँ गएको सात दिनभित्र मात्र नयाँ संक्रमितको संख्यामा पाँच सय प्रतिशतले वृद्धि भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
यहाँका स्वास्थ्यसम्बन्धी अधिकरीहरूले आगामी १० जनवरीदेखि हरेक दिन यस प्रदेशमा एक हजारभन्दा बढी ओमिक्रोनकै संक्रमितहरू आउने अनुमान गरिएको बताएका छन् ।अहिलेसम्म यहाँको सरकारले केही थप प्रतिबन्ध लगाउनेबारे केही नयाँ निर्णय गरेको छैन । तैपनि यस विषयमा सरकारले विचार गर्न सक्ने पनि उनीहरूले जनाएका छन् ।