१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मच्छिन्द्र एएफसी कपको छनोटमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४६:oo

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको साबिक विजेता मच्छिन्द्र क्लबले एएफसी कप छनोटमा स्थान सुरक्षित गरेको छ । लिगको आइतबार सातौँ चरणमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै मच्छिन्द्र एएफसी कपको छनोट खेलमा छनोट भएको हो । सातौँ चरणसम्मै अपराजित रहेको मच्छिन्द्रले सर्वाधिक १७ अंक जोड्यो । शीर्ष स्थानमा उक्लेको मच्छिन्द्रले पाँच जित र दुई बराबरीको नतिजा निकालेको छ । एएफसी कप छनोट स्थान पक्का गर्न मच्छिन्द्रले पुलिसविरुद्ध जित्नैपर्ने दबाब थियो । 

दशरथ रंगशालामा सुनील बलको एक मात्र निर्णायक गोलको सहयोगमा मच्छिन्द्रले पुलिसलाई १–० ले हराउँदै एएफसी कप छनोटको यात्रा पक्का गरेको हो । एसियन फुटबल महासंघको नियमअनुसार घरेलु लिग च्याम्पियनले मात्र एएफसी कप खेल्नु अवसर पाउनेछ । समय अभावका कारण सातौँ चरणमै एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने क्लबमध्ये शीर्ष स्थानमा रहने क्लबले सहभागिता जनाउने सहमति एएफसी र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच भएको थियो । मच्छिन्द्रको जितसँगै सर्वाधिक आठपटकको विजेता मनाङ मस्र्याङ्दीको एएफसी कप छनोट खेल्ने सम्भावना समाप्त भएको छ । 

मनाङ शनिबार पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउँदै शीर्ष स्थानमाथि कब्जा जमाएको थियो । त्यसपछि लिग विजेता मच्छिन्द्रले पुलिसलाई हराउनैपर्ने दबाब सामना गरेको हो । छैटौँ चरणमा कठिन प्रतिद्वन्द्वी मनाङलाई १–० ले स्तब्ध पारेपछि मच्छिन्द्रको एसियाली फुटबल महासंघ (एएफसी)को आधिकारिक प्रतियोगिता पहिलोपटक खेल्ने सपना जीवितै पारेको थियो । मच्छिन्द्र २०७६ को लिग च्याम्पियन भए पनि एएफसी क्लब लाइसेन्स प्राप्त नभएका कारण एएफसी कप छनोट खेल्न वञ्चित भएको थियो । 

उपविजेता क्लब लाइसेन्स प्राप्त गरेको तथा गत वर्षको लिगको उपविजेता त्रिभुवन आर्मी क्लबले एएफसी कप छनोट खेल्ने मौका पाएको थियो । नेपालको फुटबल इतिहासमा आर्मी एएफसी लाइसेन्स पाउने पहिलो क्लब हो । 

सुनीलको गोल
दशरथ रंगशालामा मच्छिन्द्रले पहिलो तथा दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । पुलिसले मच्छिन्द्रविरुद्ध बराबरी नतिजा निकाल्न पाँचजना रक्षापंक्ति खेलाएको थियो । खेलको २१औँ मिनेटमा सुनीलले पुलिसको बलियो डिफेन्स रणनीति तोड्दै मच्छिन्द्रलाई १–० को अग्रता दिलाए । उनको यही गोल नै मच्छिन्द्रले एएफसी कप छनोटको स्थान पक्का गर्‍यो । पोस्टभन्दा ३० यार्ड टाढाबाट विशाल राईको फ्रिकिकमा डिबक्सभित्र अनमार्क रहेका सुनीलले हेडिङ गोल गरेका हुन् । चालू लिगमा उनको यो व्यक्तिगत पाँचौँ गोल हो । हारपछि पुलिस सात खेलबाट ६ अंकका साथ ११औंँ स्थानमा झरेको छ । पुलिसले एक जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको छ ।

ad
ad