१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १९ सोमबार
  • Friday, 09 May, 2025
२o७८ पौष १९ सोमबार o८:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाललाई इयूको कालोसूचीबाट हटाउन  सरकार गम्भीर : पर्यटनमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १९ सोमबार o८:३o:oo

 नेपाललाई युरोपेली युनियन (इयू)को कालोसूचीबाट बाहिर ल्याउन सरकार संवेदनशील रहेको पर्यटनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । युरोपेली युनियनको कालोसूचीबाट बाहिर आउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसद्मा विधेयक पेस भएको र ती विधेयक छिट्टै पारित हुने उनको भनाइ छ ।

‘राष्ट्रिय सभाबाट दुवै विधेयक पारित भइसकेका छन्, अब प्रतिनिधिसभाबाट पनि छिट्टै विधेयक पारित गराएर नेपाललाई इयूको कालोसूचीबाट बाहिर ल्याउँछौँ,’ नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले भने, ‘यी विषयमा सरकार संवेदनशील छ ।’ उनले नेपालबाट बेलायतसम्मको सीधा हवाई उडानको प्रस्ताव पनि आफूले राखेको जानकारी गराए । 

मन्त्री आलेले सरकारी कर्मचारीलाई भ्रमण काज बिदा दिने कार्यविधि जारी गर्ने तयारी अन्तिम चरणमा रहेको बताए । ‘कार्यविधिको मस्यौदा अर्थ मन्त्रालयमा पठाइएको छ, त्यसलाई पनि छिट्टै जारी गर्छौँ,’ उनले भने, ‘हामीले कोभिड प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि उच्चस्तरीय समिति नै गठन गरेर काम अघि बढाउन लागेका छौँ, समितिमा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गराउनेछौँ ।’ 

भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिडबाट अतिप्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरुत्थानका लागि आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनको काममा जोड दिनुपर्ने सुझाब दिए । उनले कोभिडविरुद्धको भ्याक्सिनको पूर्ण मात्रा सबै नेपालीलाई शीघ्र उपलब्ध गराई बुस्टर डोजसमेत छिटो लगाउने प्रबन्ध मिलाउन पनि आग्रह गरे । अध्यक्ष अग्रवालले कोभिडका कारण शिथिल भएका व्यवसायको पुनरुत्थानका लागि सरकारले दिने घोषणा गरेको राहतका कार्यक्रम अझै कतिपय व्यवसायीले नपाएको गुनासो रहेकाले त्यसको सम्बोधनका लागि पनि आग्रह गर्नुभयो । उनले बंगलादेशका लाखौँ पर्यटक नेपाल भित्र्याउने गरी दुईपक्षीय सम्झौता गरेर अघि बढ्न पनि सरकारसँग आग्रह गरेका छन् ।