Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ पौष १९ सोमबार ०६:२४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मलामी बोकेको बस दुर्घटना : बुबाको अन्त्येष्टि गर्न गएका छोरासहित सात मलामीको मृत्यु

Read Time : > 1 मिनेट
२०७८ पौष १९ सोमबार ०६:२४:००

मलामी बोकेको लु.१ख ७२७९ नम्बरको बस आइतबार बिहान पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ, १६ जना घाइते भएका छन् । मृत्युपश्चात् कालीगण्डकी नदीको रिडीघाटमा दाहसंस्कार गर्ने चाहनाअनुसार बुटवल उपमहानगरपालिका– १७ का वीरबहादुर विकको शव रिडी लगिँदै थियो । केही मलामी सानो गाडीमा छुट्टै गएका थिए भने शवसहित धेरै मलामी बसमा थिए । लघुवा क्षेत्रमा शीतले भिजेको चिप्लो र साँघुरो सडक, घुम्ती अनि तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट ८० मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोषकुमार भट्टराईका अनुसार दुर्घटनामा अर्घाखाँचीको मालारानी गाउँपालिका– २ का २५ वर्षीय शंकर विक, ३६ वर्षीय मोहन कुँवर, २८ वर्षीय भोजेन्द्र विक र ३३ वर्षीय अर्जुन विक, रुपन्देहीको बुटवल उपमहानगरपालिका– ११ का ३२ वर्षीय विजय थापा क्षेत्री, वडा नम्बर १७ का ३० वर्षीय पशुपति रसाइली र ४० वर्षीय खुमबहादुर रानाको घटनास्थलमै मृत्यु भएको छ । पशुपति वीरबहादुरका छोरा हुन् । 

घाइते १६ जनामध्ये सातजनाको तानसेनस्थित युनाइटेड मिसन अस्पताल र नौजनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।पुख्र्यौली घर अर्घाखाँची भएका वीरबहादुरको परिवार पछिल्लो समय बुटवल बस्दै आएको थियो । मृत्युपछि रिडीघाटमा अन्त्येष्टि गर्नुपर्ने उनको चाहनाअनुसार नै शव त्यसतर्फ लगिएको थियो । उनका ६ भाइ छोरामध्ये पाँच अन्त्येष्टिमा सहभागी थिए । एकजना भने कामको सिलसिलामा भारतमा थिए । 

साना सवारीमा रिडीघाटमा पुगेका आफन्तले बसमा सवार मलामीलाई ‘कति ढिला गरेको’ भन्दै फोन गरिरहेका थिए । ‘रिडीबाट तारन्तार फोन आइरहेको थियो, म बसमै थिएँ, चालक पनि अनुभवी रहेनछ, तानसेनको उकालोमा पनि तीन नम्बर गियरमा गाडी चलाएको थियो । उकालोमा नतानेर ब्याक भयो,’ बसमा सवार कृष्ण नेपालीले भने, ‘कहाँनिर डुबाउँछ झैँ लागेको थियो ।’

१९ दिनमै उजाडियो सिउँदो
दुर्घटनामा मृत्यु भएका ३० वर्षीय पशुपति वीरबहादुर विकका राइँला छोरा हुन् । उनले गत २९ मंसिरमा मात्रै अन्तर्जातीय विवाह गरेका थिए । अन्तर्जातीय विवाहपछि माइती र आफन्तबाट मानसिक यातना खेपेकी उनकी पत्नीले नयाँ जीवनको सहयात्री १९ दिनमै गुमाएकी छिन् ।