मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष १७ शनिबार १९:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाँचदलीय गठबन्धन चुनावसम्म जान्छ, कसैले शंका नगरे हुन्छ : माधव नेपाल

Read Time : < 1 मिनेट
२०७८ पौष १७ शनिबार १९:३४:००

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन् । लमजुङको सदरमुकाम बेँसीसहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । 

नेपालले भने, ‘पाँचदलीय गठबन्धन राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौँ । स्थानीय, प्रदेश र केन्द्रीय तहसम्मको निर्वाचनमा पनि यो गठबन्धन सँगै हुनेछ । कसैले शंका नगरे हुन्छ ।’

कुनै पनि एक दलको एकल बहुमत आउने सम्भावना कम रहेको भन्दै गठबन्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो । उनले अबको केही समयमा स–साना वामपन्थी पार्टीबीच एकता हुनेसमेत बताए । 

अध्यक्ष नेपालले नेकपा (एमाले) पार्टीको रूपमा नरहेको टिप्पणीसमेत गरे । नेपालले एकीकृत समाजवादी पार्टी सेवाभावले ओतप्रोत भएका नेता–कार्यकर्ताहरूको पार्टी भएको दाबी गरे । उनले लुटेरा, भ्रष्टाचारी, अनैतिक क्रियाकलापमा रमाउनेहरू आफ्नो पार्टीमा नअटाउने भन्दै इमान्दार व्यक्तिहरूलाई मात्रै पार्टीमा स्वागत गर्ने बताए । 

एमाले अध्यक्ष केपी ओलीलाई इंगित गर्दै नेता नेपालले लोकतन्त्र प्राप्त भइसकेको अवस्थामा अब तानाशाही र निरंकुशवालाहरूको दिन गएको उल्लेख गरे । अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढेको बताए । 

उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए । यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले आफू जनताको पक्षमा काम गर्न प्रतिबद्ध रहेको भन्दै जनताको भरोसा टुट्न नदिने बताए ।