१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
आन्दोलनरत स्थानीय
श्रवण थापा सर्लाही
२०७८ पौष १३ मंगलबार १६:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्लाहीको बयलवासमा स्थिति तनावग्रस्त, बुधबार साँझ ७ बजेसम्म कर्फ्यु आदेश

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ पौष १३ मंगलबार १६:३४:००

प्रहरी भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको घटनालाई लिएर सर्लाहीको ईश्वरपुर क्षेत्र बिहानैदेखि तनावग्रस्त बनेको छ। स्थिति तनावग्रस्त बनेपछि नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सेल अश्रुग्यास चलाएको छ भने दर्जनौँ राउन्ड हवाईफायर गरिएको छ। बिहानै स्थानीय सडकमा निस्किएर प्रहरीमाथि ढुंगामुढा गरेका छन्। प्रहरी र प्रदर्शनकारीबीच दर्जनौँपटक झडप भएको छ। झडपमा परेर दर्जनौँ सुरक्षाकर्मी र आन्दोलकारी घाइते भएको प्रहरीले प्रारम्भिक विवरणमा दिएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरी भिड नियन्त्रण गर्ने क्रममा प्रदर्शनकारीको ढुंगा लागेर गम्भीर घाइते भएका छन्। अन्य सुरक्षाकर्मीसमेत प्रदर्शनकारीको ढुंगा लागेर घाइते भएका छन्। यस्तै, प्रहरीको प्रारम्भिक जानकारीअनुसार प्रदर्शनकारीतर्फ एकजनालाई खुट्टामा गहिरो चोट लागेको छ। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। 

इलाका प्रहरी कार्यलय केशरगन्जलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले चारैतिरबाट घेरामा सुरक्षा दिइरहेको छ। प्रदर्शनकारी अत्यधिक उग्र भएका कारण घटनास्थल नियन्त्रणमा लिन समस्या भइरहेको प्रहरीले जनाएको छ। स्थिति थप जटिल बन्दै गएपछि जिल्लामा तीनै तहका सुरक्षा अधिकारीहरू बिहानैदेखि बयलवासमा छन्। 

बयलवासमा निषेधाज्ञा जारी
यसैबीच सुरक्षा निकायको आपतकालीन बैठक बसेर बयलवास क्षेत्रमा  मंगलबार दिउँसो ३ बजेबाट बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा घोषणा गरिएको छ। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय मलंगवाले पूर्व ईश्वरपुर नगरपालिका  ४, पश्चिममा वडा नम्बर ८, उत्तरमा ईश्वरपुर ५ र दक्षिणमा वडा नम्बर ९ खोरिया टोलासम्म हुलहुज्जत गर्न, भिड गर्न, कुनै पनि सभा–सम्मेलन गर्न निषेध गरिएको छ। 

आइतबार राति ईश्वरपुर नगरपालिका– ७ मा इलाका प्रहरी कार्यालय केशरगन्जको गस्तीमा हिँडेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालक ईश्वरपुर नगरपालिका– ५ निवासी ३० वर्षीय व्यवसायी रामकुमार महतोको मृत्यु भएको थियो। घटना प्रहरीले लुकाउन खोजेको र शंकास्पद देखिएको भन्दै ईश्वरपुरका व्यापारीले सोमबार दिनभर बयलवास बजारमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए। 

आक्रोशित समूहले इलाका प्रहरी कार्यालय केशरगन्जमा ढुंगामुढा गर्नुका साथै इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगोसमेत लगाइदिएका छन्। प्रहरीले भने रामकुमारले चलाएको मोटरसाइकल प्रहरी भ्यानमा आफैँ आएर ठोक्किएको दाबी गरेको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका महतोलाई उपचारका लागि तत्काल सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा पुर्‍याइए पनि उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महतोको शव पोस्टमार्टमपश्चात् जिल्ला अस्पताल मलंगवामै राखिएको छ। माग पूरा नभएसम्म शव नबुझ्ने पीडित परिवारले बताएका छन्।