१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको धनगढी डिपो ।
२०७८ पौष १२ सोमबार १७:३८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुणस्तर नपुगेको भन्दै खाद्यले लिएन भिजेको धान, निकै सस्तोमा बेच्न बाध्य किसान

Read Time : > 1 मिनेट
२०७८ पौष १२ सोमबार १७:३८:००

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा निर्धारित गुणस्तरको धान पाएको छैन। किसानको ३५ हजार क्विन्टल धान खरिदको अनुमति पाएको खाद्य कम्पनी धनगढीले हालसम्म १४ क्विन्टल मात्र खरिद गरेको छ। किसान भिजेका धान लिएर डिपोमा पुगेपछि खाद्यले धान नकिनेर फिर्ता पठाएको थियो।

खाद्यले गत २२ मंसिरदेखि धनगढी र टीकापुरको शक्ति डिपोबाट धान खरिद सुरु गरेको थियो। पहिलो दिनमै खाद्यको डिपोमा धान बेच्ने किसानको घुँइचो लाग्यो। खाद्यले भने भिजेको धान भएकाले तोकिएको गुणस्तर नपुग्ने भन्दै धान बिक्री गर्न आउने किसानलाई फिर्ता पठाउने गरेको छ। ‘किसानबाट तोकिएको गुणस्तरको धान पाइएन,’ कार्यालय प्रमुख एन्जिला बस्नेतले भनिन्, ‘बिक्रीका लागि आउने सबै धान भिजेका छन्, भिजेको धान केन्द्रले तोकेको गुणस्तरमा पर्दैन।’

केन्द्रले गुणस्तर तोकिदिएकाले भिजेको धान किन्न नसक्ने बस्नेतले बताइन्। प्रतिक्विन्टल ६४.०५ प्रतिशत निस्कनुपर्ने गुणस्तर तोकिएको उनले जानकारी दिइन्। कैलालीमा किसानबाट ३५ हजार क्विन्टल धान खरिदको कोटा पाए पनि हालसम्म १४ क्विन्टल धान मात्र पाएको उनले बताइन्। ‘किसानले डिपोमा ल्याउने सबैजसो धान भिजेकै हुन्छ। भिजेको धानको गुणस्तर पुग्दैन,’ उनले भनिन्, ‘भिजेको धान किन्ने केन्द्रको निर्देशन छैन।’

सरकारले धान नकिनेपछि किसान भने मारमा परेका छन्। बाढी र डुबानबाट मुस्किलले जोगाएको धान खाद्यलाई बिक्री गर्ने आशाले बसेका किसान बिक्री नहुँदा निराश छन्। ‘सरकारबाट बढी मूल्य पाइएला भन्ने आशले पहिले व्यापारीलाई बेचिएन। डिपोले अहिले धानको गुणस्तर पुगेन भनेर फिर्ता गरिदियो,’ धनगढीका किसान रामदिन चौधरीले भने, ‘सरकारले किनेन। अब व्यापारीले तोकेको मूल्यमा बेच्नुपर्ने भयो।’ करिब २२ क्विन्टल धान लिएर उनी धनगढी राजपुरस्थित खाद्यको डिपोमा पुगेका थिए। धान बिक्रीका लागि खाद्यको डिपोमा पुग्ने अधिकांश किसान गुणस्तर नपुगेको भन्दै खाद्यले धान नकिनेपछि निराश भएर फिर्ता हुने गरेका छन्। सरकारले नकिन्दा व्यापारीलाई सस्तोमा धान बिक्री गर्नुपरेको उनीहरूको गुनासो छ।

गत कात्तिक पहिलो साता भएको वर्षासँगैको डुबान र बाढीले कैलालीमा धानबालीमा ठूलो क्षति पुर्याएको थियो। काटेर खेतमा राखेको धान लामो समय डुबानमा पर्दा खेतमै उम्रिएको थियो। करिब ५० प्रतिशतभन्दा बढी धानबालीमा वर्षाले क्षति गरेकाले अधिकांश किसानसँग यसवर्ष तोकिएको गुणस्तरको धान छैन। दुःखले जोगाएको धान पनि उचित मूल्यमा बिक्री नभएपछि किसान मारमा परेका छन्। धान भिजेको भन्दै व्यापारीले पनि मनोमानी मूल्य तोक्ने गरेका छन्। सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल दुई हजार ७५२ रुपैयाँ तोकेको छ। तर, व्यापारीलाई प्रतिक्विन्टल एक हजार रुपैयाँसम्ममा बिक्री गर्न बाध्य छन् किसान।

व्यापारीले भनेको मूल्यमा बेच्नुको विकल्प नरहेको अर्का किसान प्रकाश डगौराले बताए। लगानीसमेत उठ्ने अवस्था नरहेको भन्दै उनले समर्थन मूल्य घटाएर भए पनि भिजेको धान किन्न सरकारसँग आग्रह गरे। ‘खाद्यले भिजेको धानको गुणस्तर भएन भन्छ, यसवर्ष सबैको धान डुबानमा पर्यो, गुणस्तरीय धान कहाँबाट ल्याउनु ?’ उनले भने, ‘सरकार किन्दैन, व्यापारीले लागत मूल्य दिँदैनन्, हामी सबैतिरबाट मारमा पर्यौँ।’