अमेरिकाको फिलाडेल्फियाको थोमस जेफर्सन विश्वविद्यालयले गरेको अध्ययनले गम्भीर समस्या भएका कोभिड संक्रमितमा मस्तिष्क सुन्निने, स्ट्रोक र सिजरको जोखिम बढेको देखाएको छ । उनीहरूमा ब्रेन फग, टाउको दुख्ने, रिंगटा लाग्ने, दृष्टि धमिलो हुनेजस्ता लक्षणसमेत देखिएका छन् ।
कोभिड संक्रमणका कारण गम्भीर बिरामी भएका अर्थात् अस्पताल भर्ना भएका प्रत्येक एक सयजनामध्ये एकजनामा मस्तिष्कसम्बन्धी समस्या देखिएको अध्ययनले देखाएको छ ।
अमेरिकास्थित फिलाडेल्फियाको थोमस जेफर्सन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अमेरिकाका सात र पश्चिमी युरोपका चार विश्वविद्यालयअन्तर्गतका अस्पतालमा भर्ना भएका कोभिड पजिटिभ करिब ४० हजार केसको विश्लेषण गरेका थिए । गम्भीर बिरामी भएका केहीमा दिमागमा असर पर्ने तथ्य बाहिरीएपछि थप अनुसन्धान गरिएको थियो । पछिल्लो अध्ययनले कम्तीमा एक प्रतिशत बिरामीमा मस्तिष्कसम्बन्धी कुनै न कुनै समस्या देखिएको जनाएको छ । अनुसन्धानकर्ताहरूले अध्ययनको रिपोर्ट अमेरिकाको ‘रेडियोलोजिकल सोसाइटी’को वार्षिक सम्मेलनमा सार्वजनिक गरेका छन् ।
संक्रमणपश्चात् पोस्टकोभिड समस्या लिएर अस्पताल पुग्नेको संख्या बढ्न थालेपछि चिकित्सकहरूले ११ प्रतिशतसम्ममा मस्तिष्कमा प्रभाव परेको हुन सक्ने आकलन गरेका थिए । यसअघि दक्षिण अमेरिकामा गरिएको क्लिनिकल परीक्षणले केही संख्यामा गम्भीर असर पुर्याएको उल्लेख गरेको थियो ।
सामान्यतया श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउने कोरोना भाइरसले शरीरका विभिन्न अंगमा समेत दीर्घकालीन असर देखाइरहेको अध्ययनहरूले जनाएका छन् । यस्तै, पछिल्लो अध्ययनले गम्भीर समस्या भएका कोभिड संक्रमितमा मस्तिष्क सुन्निने, स्ट्रोक र सिजरको जोखिम बढेको जनाएको छ । संक्रमणले मस्तिष्कमा असर पारेका व्यक्तिमा ब्रेन फग, टाउको दुख्ने, रिंगटा लाग्ने, दृष्टि धमिलो हुनेजस्ता लक्षणसमेत देखिएको अध्ययनमा उल्लेख छ ।
धेरैमा इस्केमिक स्ट्रोक
पछिल्लो सर्वेक्षणले सबैभन्दा धेरैमा इस्केमिक स्ट्रोकको समस्या रहेका जनाएको छ । प्रभावित कुल संख्याको ६.२ प्रतिशतमा इस्केमिक स्ट्रोक पाइएको उल्लेख गरेको छ । यसपछि इन्ट्राक्रैनियल रक्तस्राव (३.७२ प्रतिशत) र इन्सेफलाइटिस (०.४७ प्रतिशत) र मस्तिष्कको सुजन देखिएको छ ।
सर्वेक्षणमा अधिकांशले श्वासप्रश्वासबाहेक अन्य स्वास्थ्य समस्या बताउँदै आएको र कतिपयमा सम्बन्धित लक्षण मस्तिष्कसम्बन्धी रहेको जानकारीसमेत नभएको वैज्ञानिक डा. स्टक एच फारोले बताएका छन् । जेफरसन विश्वविद्यालयका न्युरोलोजी तथा रेडियोलोजीका प्रमुख डा. फारोले भनेका छन्, ‘आममानिसमा बढ्दै गएको केन्द्रीय स्नायु प्रणालीका जटिलताहरू यस विनाशकारी महामारीले प्रतिनिधित्व गरिरहेको छ ।’
अध्ययनमा सहभागीहरूको औसत उमेर ६६ वर्ष रहेको थियो, भने सर्वेक्षणमा महिलाको तुलनामा दुई गुणा बढी पुरुषलाई सहभागी गराइएको थियो । अध्ययनमा अधिकांशमा भ्रम, मानसिक अवस्थामा आएको परिवर्तन र ज्वरोका आधारमा अनुसन्धान गरिएको थियो । मस्तिष्कमा असर परेको देखिएका अधिकांश व्यक्ति उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी बिरामी रहेको सर्वेक्षणले उल्लेख गरेको छ । जसमध्ये चार सय ४२ बिरामीमा गम्भीर न्युरोलोजिकल समस्या पाइएको थियो ।
यसबाहेक एमआरआई वा मस्तिष्कको सिटिस्क्यानजस्ता इमेजिङ गरेका बिरामीहरूमध्ये करिब १० प्रतिशतमा कुनै न कुनै असर देखिने गरेको डा. फारोले बताएका छन् । उनले भनेका छन्, ‘१.२ प्रतिशतमा समस्या देखिनुको अर्थ संक्रमणका कारण अस्पतालमा भर्ना भएका सयजनामध्ये एकभन्दा बढीलाई कुनै न कुनै प्रकारको मस्तिष्कमा समस्या हुने गरेको छ ।’
यसबाहेक अध्ययनले कोभिड संक्रमण भइसकेका व्यक्तिहरूमा तीव्र प्रसारित एन्सेफ्लोमाइलाइटिस, मस्तिष्कमा अन्य गम्भीर समस्या, मेरुदण्ड सुन्निने र पोस्टरियर रिभर्सिबल एन्सेफ्यालोप्याथी सिन्ड्रोमजस्ता जटिलतासमेत पाइएको बताएको छ । तर, यस्ता समस्या एकदमै न्यून संख्यामा रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । अध्ययनमा सहभागी विज्ञहरूको प्यानलले भने कोभिड संक्रमणले अन्य धेरै समस्या निम्त्याउने पुष्टि भइसकेका कारण महामारी नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने सुझाब दिएका छन् । एजेन्सीको सहयोगमा