लामो समयपछि आज मंगलबार पुनः सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले नाराबाजी गरेका छन्। सर्वोच्च प्रशासनले अदालत परिसरभित्र हुलहुज्जत नगर्न चेतावनी दिएपछि आक्रोशित कानुन व्यवसायीले चेतावनीविरुद्ध नाराबाजी गरेका हुन्।
आज बिहान सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यलाई सर्वोच्च परिसरमा माइकिङ, नाराबाजी र धर्नाका कार्यक्रम नराख्न चेतावनी दिएका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका कानुन व्यवसायीले पछिल्लो समय शान्तिपूर्ण रूपमा धर्नाका कार्यक्रम गर्दै आएका थिए।