मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ पौष ४ आइतबार ०९:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीमा एक युवाको घाँटी रेटेर हत्या

Read Time : < 1 मिनेट
२०७८ पौष ४ आइतबार ०९:३५:००

कैलालीको जानकी गाउँपालिकामा एक युवाको घाँटी रेटेर बीभत्स हत्या भएको छ । जानकी– ९ का २५ वर्षीय अरुण दासको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको छ ।  घाँटी रेटेर शरीरबाट टाउकाे अलग गरिएको अवस्थामा उनको शव स्थानीय अमरावती सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

रूखको फेदमा बाँधेर नग्न बनाउँदै धारिलो हतियारले घाँटी छिनालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जंगलमा घाँस काट्न गएका महिलाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनास्थल जंगलभित्र बाटोबाट करिब पाँच सय मिटर भित्र रहेको छ ।

अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रदेश अनुसन्धान समूहको टिम र जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ ।

‘बीभत्स तरिकाले हत्या भएको देखिन्छ । हामीले घटनासम्बन्धी केही ‘क्लु’ भेट्टाएका छौँ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘अहिले अनुसन्धानकै क्रममा छौँ ।’ भारतमा मजदुरी गर्ने उनी करिब दुई महिनाअघि मात्र घर आएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार उनका एक श्रीमती र छोरी छन् । 

टीकापुरमा लम्किका भूपेन्द्र बडुवालको बीभत्स हत्या भएको घटना सेलाउन नपाउँदै अर्को घटना भएको हो । केही दिनअघि टीकापुर नगरपालिका– १ स्थित सिद्धार्थ होटेलनजिकै अपरिचित व्यक्तिहरूको धारिलो हतियार प्रहार गरी भूपेन्द्रको हत्या भएको थियो ।

भूपेन्द्रलाई करिब दुई किलोमिटरसम्म लखेटी धारिलो हतियार प्रयोग गरी  हत्या गरेको प्रहरीको  अनुसन्धानबाट खुलेको थियो । यस ठाउँमा जघन्य अपराधका घटना बढेपछि स्थानीय त्रसित बनेका छन् ।