१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
मुना कुँवर काठमाडौं
२o८१ बैशाख १९ बुधबार o८:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विदेशबाट आउनेले तत्काल क्वारेन्टिनमा बस्नुनपर्ने 

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:o५:oo

कोरोना भाइरस ओमिक्रोन भेरियन्ट प्रभावित मुलुकहरूबाट नेपाल भित्रिने यात्रुले तत्काल सात दिन क्वारेन्टिन बस्नुनपर्ने भएको छ । अध्यागमन विभागले शुक्रबार सूचना जारी गर्दै ६७ मुलुकबाट आउने यात्रुलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था गरेको थियो । तर, शनिबार फेरि अर्को सूचना जारी गर्दै तत्कालका लागि यस्तो व्यवस्था स्थगित गरेको जनाएको हो ।

विभागले शुक्रबार सूचना जारी गर्दै यात्रुले आरटी–पिसिआर विधिबाट परीक्षण गर्नुपर्ने व्यवस्था गरेको थियो । नतिजा नेगेटिभ आएका होम क्वारेन्टिनमा र पोजेटिभ आएकाले तोकिएको आइसोलेसन केन्द्र वा हस्पिटलमा बस्नुपर्ने व्यवस्था गरेको थियो । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को आग्रहमा तत्कालका लागि सो निर्देशन रोकिएको अध्यागमन विभागका महाप्रबन्धक नारायणप्रसाद भट्टराईले बताए । १३ मंसिरको मन्त्रिपरिषद् निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले प्रत्येक १५–१५ दिनमा भाइरससम्बन्धी विश्लेषण गर्ने र आवश्यकताअनुसार विभागलाई निर्देशन दिने जनाइएको छ ।

सोहीबमोजिम मन्त्रालयले ओमिक्रोन प्रभावित मुलुक पहिचान गरी शुक्रबार क्वारेन्टिनको नियम लागू गर्न विभागलाई निर्देशन दिएको विभागका महाप्रबन्धक भट्टराईले बताए । तर, सिसिएमसीले सबै निकायसँगको छलफलपछि मात्रै यस्तो नियम लागू गर्ने भनेपछि तत्कालका लागि रोकिएको उनले जानकारी दिए । ‘सिसिएमसीको सोमबार बैठक बस्दै छ । त्यसपछिको निर्णयअनुसार नियम लागू हुनेछ,’ उनले भने ।  

जापान, चीन, अस्ट्रेलिया र भारतमा कडाइ
ओमिक्रोन भेरियन्टका कारण विश्वका केही मुलुकहरूले कडाइ गर्न थालेका छन् । जापानले विदेशी नागरिक प्रवेशमा रोक लगाएको छ । तर, जापानमा स्थायी बसोवासको अनुमति पाएका नेपाली नागरिकले जापान फर्कन चाहेमा जापानले रोक लगाएको छैन । तर, नयाँ नागरिक प्रवेशमा भने रोक लगाएको विभागले जनाएको छ । 

त्यस्तै, अस्ट्रेलियाले पनि विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोभिड–१९ का कारण लामो समय विदेशीलाई प्रवेश निषेध गरेको अस्ट्रेलियाले भर्खरै मात्रै केही खुकुलो गरेको थियो । तर, ओमिक्रोन भेरियन्ट देखिन थालेपछि पुनः कडाइ गरेको हो ।

चीनले भने ओमिक्रोन भेरियन्ट देखिनासाथ प्रवेशमा कडाइ गरेको छ । चीनले विदेशी नागरिकलाई मात्रै नभएर विदेशमा रहेका आफ्नै नागरिकलाई समेत प्रवेशमा रोक लगाएको विभागले जनाएको छ । त्यस्तै, भारतले पनि विदेशी नागरिक प्रवेशमा कडाइ गरेको छ । विभागका अनुसार नेपाल–भारत सिमानाकाबाट भारतले नेपाली र भारतीय नागरिकलाई मात्रै प्रवेश खुला गरेको छ । तर, अन्य मुलुकका नागरिकलाई भने निषेध गरेको छ । 

नेपाल प्रवेश गर्ने यात्रुले खोप नलगाएमा क्वारेन्टिन बस्नुपर्ने
 कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार खोप नलगाएका यात्रुले अनिवार्य रूपमा सात दिन होटेल क्वारेन्टिन बस्नुपर्नेछ । डबल डोज खोप लगाएका यात्रुले सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने केन्द्रले जनाएको छ । तर, खोप नलगाएका यात्रुले भने अनिवार्य रूपमा सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ । होटेल क्वारेन्टिनका लागि केन्द्रले दुई सय २६ वटा होटेल तोकेको छ । केन्द्रले ललितपुर, भक्तपुर र काठमाडाैँमा रहेका होटेलहरूलाई क्वारेन्टिनको सूचीमा राखेको छ । यात्रुले क्वारेन्टिनमा बसे–नबसेको जिल्ला प्रशासन कार्यालय र केन्द्रले अनुगमन गर्नेछ । 

सात दिन क्वारेन्टिन बसेपछि पिसिआर परीक्षण गर्नुपर्नेछ । पिसिआर परीक्षण नेगेटिभ आएका यात्रु आफ्नो गन्तव्यमा जान सक्नेछन् । तर, रिपोर्ट पोजेटिभ आएमा उपचारका लागि जानुपर्नेछ । त्यस्तै, एक डोज मात्रै खोप लगाएका यात्रुसमेत सात दिन क्वारेन्टिन बस्नुपर्नेछ । तर, बिरामी भएर आएका, ज्येष्ठ नागरिक र आफन्तको अन्तिम संस्कारका लागि आएका भने स्थानीय निकायको सिफारिसअनुसार होम आइसोलेसनमा बस्ने गरी गन्तव्यमा जान सक्नेछन् ।

ad
ad